सूचनाको शक्ति - The Power Of Information

        

बन्धनमा बामदेव, आफ्नैले रुचाएनन्

श्यामसुन्दर पुडासैनी । काठमाडौं । उपनिर्वाचन गरी संसदमा पुग्ने नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता बामदेव गौतमको योजनामा आफ्नै पार्टीका नेता–कार्यकर्ता तगारो बनेका छन् । मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा बर्दिया १ बाट पराजित भएपछि पनि संसदमा पुग्न अनेक तानाबाना बुनिरहेका गौतमले पार्टीभित्रैबाट धक्का खाएका हुन् ।
निर्वाचनमा पराजय भोगेयता गौतमले पुनः सांसद बन्नका लागि १०–१२ जना सांसदसँग राजीनामा दिन आग्रह गरिसकेका छन् । दुई वर्षपछि राष्ट्रिय सभामार्फत सांसद बनाएर मन्त्रीसम्म बनाइदिने आश्वासन देखाउँदै गौतमले संसदबाट राजीनामा दिएर उपनिर्वाचनको बाटो खोलिदिन सांसदहरुसँग सर्त राखेका हुन् ।
नेता गौतमको सर्तमा केही सांसदहरु सहमतिनजिक देखिए पनि स्थानीय नेता कार्यकर्ताले ठाडै अस्वीकार गरिदिएका छन् । मतदाताले निर्वाचनमार्फत पाँच वर्षका लागि अयोग्य ठहर गरिसकेपछि पनि सांसद बन्न गरिरहेको प्रयासलाई जिल्ला तहका नेता–कार्यकर्ताले अस्वाभाविक मानेका छन् ।
चुनावबाट अस्वीकृत भएपछि पनि गौतमले लोभमोह लिएर अनैतिक र अराजनीतिक चरित्र देखाएको उनीहरुको बुझाइ छ । उपनिर्वाचन भएमा सहयोग नगर्ने चेतावनी जिल्ला तहका नेता–कार्यकर्ताले दिएका छन् । गौतमले बर्दिया, दैलेख, पूर्वी रुकुम, नवलपरासी पूर्व, डोल्पा, प्युठान, ललितपुरलगायत दर्जन जिल्लाका निर्वाचन क्षेत्रमा प्रयास गरेका छन् ।

कुन–कुन क्षेत्रमा पुगे बामदेव
एमाले र माओवादी केन्द्र एकतापछि बनेको नेकपामा पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नजिक रहेका गौतमले सुरुमा बर्दिया २ का माओवादी केन्द्रका सांसद सन्तकुमार थारूलाई राजीनामा गराउन प्रयास गरेका थिए । नेकपा अध्यक्ष दाहालले नै राजीनामा गर्न आग्रह गरेपछि थारु राजीनामा दिने मुडमा पुगेका थिए तर नेता–कार्यकर्ताले उपनिर्वाचन गराए सहयोग नगर्ने चेतावनी दिएपछि गौतम हच्किए ।
त्यसपछि पूर्वी रुकुममा माओबादी केन्द्रको तर्फबाट निक्कै ठूलो मतअन्तरले विजयी कमला रोकालाई राजीनामा गराउने प्रयास भयो । प्रचण्ड र गौतमले दुई वर्षपछि राष्ट्रिय सभा सदस्य र मन्त्री बनाउने आश्वासनसमेत दिएपछि रोका राजीनामा दिन तयार देखिइन् । तर, जिल्लाका सबै नेता–कार्यकर्ता सांसद रोकालाई कुनै हालतमा राजीनामा गर्न नदिने पक्षमा देखिएपछि गौतम अर्कोपटक ‘ब्याक’ सर्न बाध्य भए ।
गौतम थाकेनन् । उनले दैलेखका सांसद रवीन्द्रराज शर्मासँग राजीनामाका लागि आग्रह गरे । शर्माले पनि नमानेपछि डोल्पाका सांसद तथा हाल राज्यमन्त्रीसमेत रहेका धनबहादुर बुढालाई राजीनामा गराउन गौतमले दबाब दिए । बुढा सांसद पद छाड्न तयार देखिए पनि जिल्लाका नेता–कार्यकर्ता उपनिर्वाचनका लागि तयार नदेखिएपछि गौतम नवलपरासी पूर्वतर्फ लागे ।
नवलपरासी पूर्व २ का सांसद तिलक महतलाई प्रस्ताव राखे । महतले जिल्ला कमिटीमा छलफल गर्ने बताएपछि गौतमले त्यहाँ पनि आफ्नो योजना असफल हुने अनुमान गरे । यसबीचमा गौतमले ललितपुर १ का सांसद नवराज सिलवाल र बाँके ३ का सांसद नन्दलाल रोकायलाई पनि राजीनामा दिन दबाब दिएका थिए । तर, दुवै जनाले उनको प्रस्ताव स्विकारेनन् ।
सांसद बन्न अनेक प्रपञ्च गरिरहेका गौतम आफ्नै जन्मथलो प्युठान गए । बाम गठबन्धनबाट उम्मेदवार बनेर चुनाव जितेकी राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेललाई राजीनामा गराउन अनेक आश्वासन दिए । गौतमको प्रस्तावलाई राष्ट्रिय जनमोर्चाले लिखित रूपमै अस्वीकृत गरिदिएपछि उनी निराश छन् । ‘सांसद छाड्न प्रस्ताव आएको थियो तर जनताले मलाई पाँच वर्षका लागि म्यान्डेट दिएकाले मैले जनतालाई धोका दिन मिल्दैन, त्यसैले मैले राजीनामा दिइन,’ जनमोर्चाकी सांसद पौडेलले भनिन् ।

अराजनीतिक र अनैतिक चरित्र देखाएको आरोप
०७० सालको निर्वाचनमा जन्मथलो प्युठानबाट विजयी भएका गौतम गत मंसिरमा भएको निर्वाचनमा बर्दियाबाट चुनाव लडेका थिए । तर, तत्कालीन माओवादी र एमालेको संयुक्त उम्मेदवार हुँदासमेत गौतमले चुनाव जित्न सकेनन् । यसअघि उनी ०५६ र ०६४ को पनि निर्वाचनमा पनि भारी मतअन्तरले पराजित भएका थिए । नेता गौतम सत्ता र शक्तिभन्दा बाहिर बस्नै नसक्ने स्वाभावका भएकाले अनेक प्रयास गरिरहेको नेकपाकै नेता बताउँछन् ।

अवसरवादी चरित्र
नेता गौतमले उपमहासचिव पद नपाएकै कारण महाकाली सन्धीपछि पार्टी फुटाएका थिए । तत्कालीन एमालेका नेता माधव नेपाल, केपी शर्मा ओलीलगायतका नेतालाई राष्ट्रघाती भन्दै सार्वजनिक रूपमै गालीगलौजमा उत्रिएका उनले नेताहरुविरुद्ध पर्चासमेत बाँडेका थिए ।
तर, ०५६ को आमनिर्वाचनमा गौतमले खोलेको पार्टीको शून्य सिट आयो । गौतम पार्टी विभाजनका सहयात्री सीपी मैनालीलाई धोका दिएर २०५८ सालमा पुनः एमालेमा फर्किए । निर्वाचनमार्फत शक्तिहीन भएपछि शक्ति र सत्ता प्राप्तिका लागि नैतिकता बन्धनमा राख्दै गौतमले अवसरवादी चरित्र देखाएको आरोप पार्टीभित्र र बाहिर पनि लागिरहेको छ ।

वामदेवको उद्देश्य गलत : विश्लेषक
व्यक्तिगत महत्वकांक्षा पूरा गर्नका लागि पार्टी नै विभाजन गर्न पछि नपरेको दर्दनाक इतिहास बोकेका नेकपा गौतम गलत आशयका साथ सांसद बन्ने प्रयत्नमा लागेको विश्लेषकहरुको आरोप छ । राजनीतिमा ‘पावर र पैसा’ राम्ररी बुझेका उनले त्यो हत्याउने मार्ग उपनिर्वाचनलाई रोजेको राजनीतिक विश्लेषक सुरेन्द्र केसी बताउँछन् ।
‘धेरैलाई लागेको थियो, निर्वाचनमा हार व्यहोरेपछि उनी संगठन निर्माणमा लागेर जनतामाझ राम्रो सन्देश दिन थाल्नेछन्,’ उनले भने, ‘तर त्यसविपरीत वामदेव जसरी पनि संघीय संसदमा छिर्ने योजनामा छन् । र मन्त्री बन्दै सत्ता र शक्तिको दुरुपयोग गर्दै भ्रष्टाचार गर्ने दाउमा छन् ।’ उपनिर्वाचन भए पनि वामदेवले चुनाव नजित्ने तर्क केसीको छ । ‘अहिलेको माहौल नेकपाको पक्षमा छैन, देशका जुनसुकै क्षेत्रमा उनी उम्मेदवार बनेपछि हार्ने निश्चित छ,’ उनले ठोकुवा गरे ।

चुनाव भए जित्लान् !
विगतदेखि विकास निर्माणका कामभन्दा सत्ता र शक्ति सञ्चय गर्ने स्वभावका कारण वामदेव नेतादेखि कार्यकर्तासम्म अलोकप्रिय बनेको धेरैको टिप्पणी छ । विकासका काममा ध्यान नदिने, कार्यकर्तासँग घुलमिल नगर्ने, आमनागरिकको पहुँचबाट टाढा रहने बानीका कारण उनको जनाधार कमजोर छ ।
केही टाठाबाठा कार्यकर्ता र व्यापारीसँग मात्र राम्रो सम्बन्ध बनाउने तथा सान र विलासी जीवनप्रतिको मोहका कारण गौतमलाई मतदाताले नरुचाउने उनकै पार्टीका नेताको बुझाइ छ । नेकपा बर्दियाका एक जिल्ला नेताले भने, ‘वामदेवले चुनाव जित्ने भए जिल्लाका नेता–कार्यकर्ता सबैले सांसदको राजीनामा स्वीकार्थे तर उनको विगत राम्रो नभएकै कारण राजीनामा गराएर उनलाई उम्मेदवार बनाउन मानेका छैनन् ।’

 

स्रोत : न्युज कारोबार

प्रकाशित मिति : १६ आश्विन २०७५, मंगलवार ०२:४७