सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्ज विमानस्थलमा ‘पार्किङ वे’ थपिँदै

बाँके । अन्तर्राष्ट्रिय उडान गर्ने उद्देश्यसहित नेपालगन्ज विमानस्थलमा थप भौतिक संरचना निमार्ण सुरु भएको छ । उडानका लागि आवश्यक अन्तर्राष्ट्रिय टर्मिनल भवन, पार्किङ वे, इमिग्रेसन, कस्टम, एक्सरे मेसिन, सिसिटिभी क्यामेरा लगायत पूर्वाधार आवश्यक हुन्छ ।
यी भौतिक संरचनामध्ये पार्किङ वे निर्माण कार्य भने असोज महिनाभित्र सुरु हुने भएको छ । अन्तर्राष्ट्रिय उडानका लागि नेपालगन्ज विमानस्थलमा ६ वटा पार्किङ वे थप गर्न लागिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी तथा उपनिर्देशक त्रिलोचन पौडेलले जानकारी दिए ।
एटिआर ७२–५०० विमान अटाउने ६ वटा पार्किङ वे निमार्णका लागि प्राधिकरणले कान्छाराम कन्स्ट्रक्सन प्रालीलाई दिइएको छ । २८ करोड ५३ लाख ४० हजारमा यो पार्किङ वे निमार्ण गर्ने कार्य उक्त कन्स्ट्रक्सनले पाएको हो । १८ महिनामा पार्किङ निर्माणका काम सक्ने सहमति पनि प्राधिकरण र कन्स्ट्रक्सनका बीच भएको छ ।
अन्तर्राष्ट्रिय उडानका लागि पार्किङ वेका साथै अन्य पूर्वाधारसमेत आवश्यक हुन्छ । विमानस्थल प्रमुख प्रेमनाथ ठाकुरका अनुसार, पार्किङ बाहेक अन्य भौतिक पूर्वाधार निर्माणका लागि डिजाइन तयारी भइसकेको छ । कार्तिकमा डिजाइन तयार भइसक्ने उनले बताए । सरकारले नेपालगन्ज लगायत जनकपुर, विराटनगर र धनगढी विमानस्थलको स्तरोन्नति गरेर क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा परिणत गर्ने योजना बनाएको छ ।
हाल नेपालगन्ज विमानस्थलबाट पश्चिम र सुदुर पश्चिमी नेपालका दुर्गम क्षेत्रमा उडान हुँदै आएको छ । यो विमानस्थलामा एटिआर–७२ विमानका लागि २ वटा पार्किङ वे रहेका छन् । अन्तर्राष्ट्रिय उडान हने बेलासम्म ८ वटा पार्किङस्थल हुने छन् । आन्तरिक उडानका लागि नेपालगन्ज विमानस्थलको धावनमार्ग १ हजार ५ सय ५ मिटर लामो छ । विमानस्थलका प्रमुख ठाकुरले भने, ‘संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसँगको छलफलमा धावनमार्ग ५ सय मिटर बढाएर २ हजार मिटरको बनाउने निर्णय भएको छ ।’
नेपालगन्ज विमानस्थबाट पर्यटकीय मौसममा ९० बढी र अन्य समय ४४ को हाराहारीमा उडान तथा अवतरण हुने गरेका छन् । काठमाडौँ–नेपालगन्ज हवाई रुट अन्तर्गत नेपाल वायुसेवा निगम, श्री एयरलाइन्स, सौर्य एयरलाइन्स, यति एयरलाइन्स, बुद्ध एयरलले उडान गर्दै आएका छन् । नेपालगन्जलाई आधार बनाएर जुम्ला, बाजुरा, सिमिकोट, रारा र डोल्पा लगायतका स्थानमा उडान हुने गरेका छन् । उपरोक्त दुर्गम क्षेत्रमा तारा एयर, सिता एयर र समिट एयरले उडान गर्दै आएका छन् ।

प्रकाशित मिति : १६ आश्विन २०७५, मंगलवार ०२:०४