सूचनाको शक्ति - The Power Of Information

        

जनताका सारथी वडाध्यक्ष ‘सुमन’

बाँके । जनप्रतिनिधीले जनताको काममा दत्तचित्त भएर लागेमा जनताबाट पनि सम्मान पाउन सकिन्छ भन्ने उदाहरण बाँकेको खजूरा गाउँपालिका–१ राधापुरका वडाध्यक्ष सुमन मल्ल एक उदाहरण बन्न सफल भएका छन् । वडाबासीको हरेक दुखसुखमा सहभागी हुने गरेका मल्ल वडाबासीको काम गाउँपालिका वा सदरमुकाम नेपालगन्जमा रहेका कार्यालयमा ढिलासुस्ती भएमा सहजीकरणका लागि आफै पुग्ने गरेका छन् । १५ महिनाअघि तत्कालिन नेकपा एमालेले वडाध्यक्षको उम्मेदवार बनाउँदा धेरैले आश्चर्य ब्यक्त गरेका थिए । तर छोटो समयमै वडाध्यक्ष मल्लले वडाबासीमाझ छाप छोड्न सफल भएका छन् ।
गत आर्थिक बर्षमा वडाध्यक्षको तलबबापत प्राप्त गरेको सम्पूर्ण रकम मल्लले गाउँकै स्थानीय युवा क्लबलाई सहयोग हस्तान्तरण गर्ने तयारी गरेका छन् । यसैगरी सडक निर्माण लगायत विकासका अन्य काम र सामाजिक सेवाको क्षेत्रमा मल्लले साँच्चिकै जनताको मन जित्न सफल भएको स्थानीय अगुवा मगनसिंह थापाले बताए । तीन दशकअघि स्थापना भएको मदिरा उद्योग कर्णाली डिष्ट्रिलरीका कारण खजुरा गाउँपालिकाका वडा नम्बर १,२ र ३ सबैभन्दा बढि प्रभावित भएका छन् । डिष्ट्रिलरीबाट निस्कने पासले तीनवटा वडामा खाद्यान्न उत्पादनमा ह्रास आएको स्थानीय बासिन्दाको गुनासो छ ।
सबैभन्दा पहिले वडाध्यक्ष मल्लले बोल्ड निर्णय गर्दै डिष्ट्रिलरीलाई ५ लाख रुपैयाँ जरिवाना गराएका थिए । जरिवाना बापतको रकम वडाध्यक्ष मल्लको ब्यक्तिगत नाममा चेक काटिएको थियो । तर उनले उक्त रकम राधापुरमा सडक निर्माणमा खर्चिए र अहिले नमूनायोग्य सडक भएको छ । किरण नाला लिफ्ट सिँचाईबाट निस्केको कालोपदार्थका कारण उत्पादनमा ह्रास आएको भन्दै डिष्ट्रिलरीबाट क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग गर्दै किरण नाला लिफ्ट सिचाई उपभोक्ता समितिका पदाधिकारी वडा कार्यालयमा पुगे । वडाध्यक्ष मल्लको पहलमा डिष्ट्रिलरीले एक लाख ६८ हजार रुपिया क्षतिपूर्ति वडा अध्यक्ष मल्ललाई बुझायो । सो रकम मल्लले सिचाई उपभोक्ता समितिलाई उपलब्ध गराए ।
जनप्रतिनिधीले टुक्रे योजनाले गर्दा स्तरीय काम गर्न नसकेको जनगुनासो रहँदै आएको छ । राधापुरमा भने वडाकै बजेटबाट स्तरीय सडक निर्माण सम्पन्न भएको छ । गतबर्ष ग्राबेल भएको सडकमा यसबर्ष कालोपत्रेको तयारी भइरहेको वडाध्यक्ष मल्लले बताए । गत आर्थिक बर्ष २०७४÷७५ मा एक करोड १० लाख रुपिया बजेटमा ५ वटा सडकको ग्राबेलमा खर्च भएको छ । यसबर्ष राधापुरमा कालोपत्रेका लागि गाउँपालिकाले समेत बजेत बिनियोजन गरेको छ । धापुर विकास निर्माणमा मात्रै होइन, आर्थिक पारदर्शितामा समेत जिल्लाकै नमूना वडा बन्न सफल भएको वडासचिव चिरञ्जीवी पाण्डेले बताए । वडा कार्यालयले बोर्डमा मासिक आम्दानी र खर्चको हिसाव सार्वजनिक गर्ने गरेको छ । ‘वडा अध्यक्षज्यूले हरेक काममा पारदर्शिता र सुशासनलाई अनिवार्य आधार बनाउनुभएको छ,’ सचिव पाण्डेले भने, ‘जसबाट वडालाई गाउँपालिकाको मात्रै नभएर जिल्लाकै नमूना वडा बनाउन सफल भएका छौं ।’ राधापुरले देखाएको पारदर्शिताको नमूनालाई गाउँपालिकाले समेत अन्यत्र प्रस्तुत गर्ने गरेको छ । वडाध्यक्ष मल्लले आफुलाई नेता भन्दा पनि जनताको प्रतिनिधीको रुपमा चिनाउँदा खुशी लाग्ने बताउँछन् । आफुले बहुसंख्यक वडाबासीको सुझाव अनुसार काम गर्ने गरेको मल्लको भनाई छ । शहर बजार मात्रै होइन, गाउँका मुख्य चौकमा सोलार जडान भइरहँदा मल्लले राधापुरको मुख्य चौक छोडेर किरणनालामा सोलार बत्ती जडान गरेका छन् । सधैं अध्यारो हुने र दुर्घटनाको जोखिम भएको किरण नालामा सोलारको उज्यालो भएपछि आवागमनमा सहज भएको स्थानीय हर्कबहादुर रानाले बताए ।
राधापुरका स्थानीय बासिन्दालाई सदरमुकाम नेपालगन्ज लगायत गाउँको पूर्वी क्षेत्रबाट गाउँमा प्रवेश गर्दा रातीको समयमा किरण नाला नजिकै डर लाग्थ्यो । तर अहिले भने सोलारको उज्यालो भएपछि सहजता भएको स्थानीय बासिन्दाको भनाई छ । ५ बर्षभित्र राधापुरलाई नमूना वडा बनाउने अभियानमा लागेका वडाध्यक्ष मल्लले वडा कार्यालयका कर्मचारी र वडाबासीको सम्पूर्ण साथ पाएको बताएका छन् । राजनीतिक आस्थाका आधारमा भन्दा पनि आम नागरिकबाट सहयोग पाएको उनको भनाई छ । मल्लले राधापुरका लागि गर्नुपर्ने अल्पकालिनदेखि दीर्घकालिन विकास निर्माणका योजना समेत तयार पारेका छन् । आफुले बनाएको योजना कार्यान्वयनका लागि वडाध्यक्ष मल्लले गाउँपालिकादेखि प्रदेश सरकार र संघीय सरकारको समेत ध्यानाकर्षण गराएको बताएका छन् । राधापुरमा रहेका मुख्य सडकलाई कालोपत्रे बनाउने लक्ष्य राखेका मल्लले मानखोलाको कटान नियन्त्रणका लागि बारम्बार राज्यका निकायको ध्यानाकर्षण गराएको बताए । मानखोलाले हाल राधापुरको न्याउलीडाँडा हाल निरन्तर कटान गरिरहेको छ ।
सिमित स्थानका लागि छुट्टाइने टुक्रे योजनाले काम नहुने देखेका वडाध्यक्ष मल्लले मानखोलाको समग्र कटान नियन्त्रणका लागि संघीय र प्रदेश सरकारको ध्यानाकर्षण गराएको बताए । ‘मानखोलाको कटान नियन्त्रणका लागि वडा वा गाउँपालिकाको बजेटले काम हुन सक्दैन,’ स्थानीय श्याम थापाले भने, ‘लामो तटबन्धनका लागि प्रदेश र संघीय सरकारको ध्यान जान आवश्यक छ ।’ आफ्नो कारणले कुनै पनि सेवाग्राहीले दुःख नपाउन भन्नेमा सचेत रहेका वडाध्यक्ष मल्ल कुनै दिन सेवाग्राहीको कामले अन्य सरकारी कार्यालयमा समेत पुग्ने गरेका छन् । युवा संघ नेपालको क्षेत्रीय अध्यक्ष रहेका मल्ल ब्यक्तिगतरुपमा समेत सहयोगी मन भएका ब्यक्ति हुन् । उनले गाउँकी एक किशोरीलाई उच्च शिक्षा अध्ययनका लागि अभिभावकत्व ग्रहण गरेर सहयोग गरेका छन् । यसबाहेक दुखी र विरामीलाई समेत आवश्यकता अनुसारको सहयोग गर्दै आएका छन् ।

प्रकाशित मिति : १५ आश्विन २०७५, सोमबार ०६:५१

सिफारिस