सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जको चर्चित हेमकार हत्याकाण्डको रहस्य खुल्यो, मुख्य योजनाकार पक्राउ

बाँके । नेपालकै चर्चित हेमकार हत्याकाण्डका मुख्य योजनाकार १३ बर्षपछि पक्राउ गरेका छन् । हत्याका मुख्य योजनाकार भारत उत्तर प्रदेश सीतापुर जिल्ला विसंवा बजारका ६५ बर्षीय किशोरीलाल सोनीलाई शनिवार बिहान ८ बजे जमुनाहा नाकाबाट प्रहरीले पक्राउ गरेको हो ।
नेपालगन्जका सुन व्यवसायी हेमकार हत्याकाण्डका आरोपी सोनीविरुद्ध २०६२ फागुन २४ गते मृतक जगदेवका छोरा मनोज हेमकारले प्रहरीमा जाहेरी दिएका थिए । सोही आधारमा प्रहरीले सोनीलाई पक्राउ गरेको हो । १३ बर्षपछि किशोरीलाल पक्राउ परेसँगै दिपक हेमकार हत्या प्रकरणको रहस्य खुल्ने भएको छ ।
२०६२ फागुन २३ गते राति हेमकार परिवारको त्रिभुवन चोक नजिकै घरको मथिल्लो तलामा दीपक, बुबा जगदेव, आमा सीतादेवि, हजुरआमा गुलावदेवी र घरेलु कामदारको एकैसाथ हत्या गरिएको थियो । घर पछाडि डोरीको माध्यमले माथिल्लो तला पुगेर अज्ञात व्यक्तिले हेमकार परिवारको हत्या गरेको थियो ।
प्रहरीले उक्त घटनाको फाइल खोलेको दाबी गरे पनि अपराधमा संलग्नको हालसम्म पहिचान गर्न सकेको थिएन । केन्द्रीय अनुसन्धान ब्यूरो पनि उक्त हत्याकाण्डको अनुसन्धान गरेको थियो । तर वास्तविकता खुल्न सकेको थिएन । हत्याको वास्तविकता नखुल्दै करोडौं सम्पत्तिको विवाद भने टुंगिएको थियो ।
हेमकार परिवारको सम्पत्तिमा विवाद उत्पन्न भएपछि अदालतमा मुद्दा परेको थियो । मुद्दापछि दीपककी बहिनी प्रीति हेमकारले सम्पत्तिको अंशियार दाबी गर्दै मुद्दा दिएपछि मुद्दाको किनारा लागेको थियो । तर हत्याको रहस्य भने गर्भमै रहेको थियो । तत्कालिन पुनरावेदन अदालत नेपालगन्जले सम्पत्तिमा प्रीतिको अंश नलाग्ने ठहर गर्दै दीपालाई एकाघर संगोलकी श्रीमती भन्दै अंश लाग्ने फैसला गरेको थियो ।
सोही मुद्दाको फैसालमा दिपककी बहिनी प्रीतिलाई विवाह खर्च ९ हजार रुपैयाँ मात्र पाउने ठहर अदालतले गरेको थियो । हत्याकाण्डको केही महिनापछि दीपक पत्नी दीपाले त्रिभुवनचोक लाइनमा रहेको पक्की घर श्याम लखेरलाई ८० लाख रुपैयाँमा बिक्री गरेर भारत लखनउस्थित माइतीमा बस्दै आएकी थिइन् ।
बहिनी प्रीतिले दाजुबाट नभई बुबा जगदेवबाट अंश पाउने भए पनि उनको नाममा कुनै सम्पत्ति नदेखिएकाले विवाह खर्चमात्र पाउने ठहर गर्दै प्रीतिको मुद्दामा पुनरावेदन अदालतले जिल्ला अदालतको फैसला सदर गरेको थियो । फैसलापछि दीपाले हेमकारको नाममा रहेको २ करोड मूल्यको घरजग्गा पाएकी थिइन् ।
मुद्दामा पुनरावेदन अदालतले गरेको फैसलासँगै दिपकको हत्यापछि अन्य परिवारसँग मनमुटावले माइती गएको दीपाको दावी थियो । १३ बर्षअघि भएको हत्याकाण्डको सुराक नछोड्ने उद्देश्यले हेमकारको घरमा पालिएको एउटा सुगाको समेत हत्या गरिएको थियो ।
उक्त हत्यामा सञ्चालक दिपक हेमकारसहित परिवारका ४ जना र पसलमा काम गर्ने एक कामदारसहित ५ जनाको राती सुतेको अवस्थामा घाँटी रेटर विभित्स हत्या भएको थियो । १३ बर्षअघिको उक्त हत्याकाण्डमा जगदेवकी ८२ बर्षीया आमा गुलाव देवी हेमकार, ६२ बर्षीय जगदेव हेमकार, ४५ बर्षीया श्रीमती सीतादेवी हेमकार, ३२ बर्षीय छोरा दिपक हेमकार हत्या भएको थियो ।
क्रुर तथा पाशविक हत्याकाण्डका क्रममा सोही ज्वेलर्समा काम गर्ने साविकको खासकुश्मा गाविस–१, कुसुमका १५ बर्षीय रामशनिच्चर चौधरीको धारिलो हतियार प्रहार गरी घाँटीको रुद्रघण्टी काटिएको थियो । उक्त हत्याकाण्डपछि दिपककी श्रीमती दिपा भने अहिलेसम्म पनि फरार रहेकी छन् ।
हेमकार हत्याकाण्डपछि बाँकेको विभिन्न स्थानमा रहेको जग्गा मृतकको हकदार दिपा हेमकारको नाममा २०६३ जेठ १४ गते नामसारी भएको थियो । मृतक दिपककी पत्नी दिपाको नाममा आएको जग्गा विभिन्न मितिमा नेपालगन्जकै विभिन्न व्यक्तिको नाममा पास भएको खुल्न आएको छ ।
घटना भएको भोलीपल्ट २०६२ फागुन २४ गते मृतक जगदेवका छोरा मनोज हेमकारले प्रहरीमा जाहेरी दिए पनि घटना हालसम्म रहस्यमै रहेको थियो । किशोरीलालको पक्राउपछि घटनामा अझैं धेरैको संलग्नता रहेको आशंकामा थप अनुसन्धान अघि बढाइएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले बताएका छन् ।

 

प्रकाशित मिति : १४ आश्विन २०७५, आइतवार १५:२२