बाँके । ‘बाजेले तरकारी खेती गर्दै आउनुभएको थियो, बुवाले पनि तरकारी खेती नै गर्नुभयो,’ ३० बर्षिय सिराज राईले भने, ‘बुवा र बाजेले गरेको त्यही पेशा हामी पनि गरिरहेको छु ।’ विगत १० बर्षदेखि तरकारी खेती गर्दै आएको उनको परिवार यसको आम्दानीले आत्मनिर्भर बनेको छ ।
‘मैले तालिम पनि लिएको छैन । मेरो बाजेले सुरु गर्नुभएको खेती हामीले पनि सिक्दै गयौं,’ उनले भने । उनले खुर्सानी, भान्टा, टमाटर, बन्दा, काँक्रा, भाजीलगायतका मौसमी तथा बेमौसमी तरकारी फलाउँदै आएका छन् । तरकारीबाटै बार्षिक ८ लाखसम्म आम्दानी हुने गरेको उनको भनाइ छ ।
‘बारीको तरकारीले मेरो गरिबी हट्यो,’ उनले भने, ‘तरकारीबाटै वार्षिक ८ लाखजति कमाई हुन्छ ।’ उनीमात्रै होइन उनका २८ बर्षिय भाई आजाद राईको दैनिकी पनि उसैगरी वित्ने गरेको छ । तरकारी खेती थालेपछि अहिले बिहानदेखि बेलुका अबेरसम्म उनका दाजुभाई तरकारी बारीमै व्यस्त हुने गरेको उनको भनाई छ ।
आजाद भन्छन्, ‘बाजेकै प्रेरणा पाएर तरकारी गर्न सुरु गरेका हौं, यसैमा हाम्रो परिवार चलेको छ ।’ तरकारी खेतीमा किटनासक औषधिबाहेक मलका रुपमा रासायनीक मल प्रयोग नगरेरै उत्पादन गरेको उनीहरु बताउँछन् । आजादले भने, ‘हामीले घोडाको मललाई एक बर्षसम्म कुहाएर प्रयोग गरिरहेका छौं ।’
अहिलेसम्म कहीँकतैबाट सहयोग नलिएको सिराजले बताए । उनले भने, ‘हामीले आफ्नै बलबुतामा खेती गरिरहेका छौं । कृषिमा गयो भने सहयोग गर्छ भन्ने सुने पनि आफ्नो पहुँच नभएकाले गएका छैनौं । त्यहाँ गएर पाइने आश नभएकाले किन समय खेर फाल्ने भनेर हामी अहिलेसम्म सहयोग माग्न कतै गएका छैनौं ।’
उनीहरुले उत्पादन गरेको तरकारी स्थानीय बजारमै खपत हुने गरेको छ । तरकारी मण्डीका थोक विक्रेताहरुले उत्पादन भएको तरकारी टिप्ने बेलामा ठेक्कामा लिने गरेका छन् । ‘तरकारी मण्डीहरुले थोकमा लैजान्छन्,’ आजादले भने, ‘विक्री गर्ने समयमा तरकारी किन्नेहरु आफै बारीमै पुग्नुहुन्छ, ठेक्कामा लैजानुहुन्छ ।’
त्यसो माटोमा धेरै परिश्रम गर्न नचाहने अहिलेका युवा पुस्ताले आर्थिक उपार्जनका नयाँ माध्यम खोजिरहेका बेला कृषिबाट जीविकोपार्जन गर्न नसकेपछि विकल्प खोज्दै खाडी जाने युवाको लर्को दिन प्रतिदिन बढिरहेका बेला नेपालगन्ज उपमहानरपालिका–६ का यी दुई युवा दाजुभाईले आफ्नो सोंचलाई बदलेका छन् ।
।