सूचनाको शक्ति - The Power Of Information

        

‘विजुली र सडक चाहियो माननीय ज्यू’

बाँके । ‘हामीलाई विजुली र सडक चाहियो माननीय ज्यू, निर्वाचनका बेला गरेका प्रतिवद्धता तपाईले पुरा गर्नैपर्छ,’ नरैनापुर गाउँपालिका–५ का सालिकराम यादवले भने, ‘हामीलाई नेपाली भएर बाँच्नु छ, तर राज्यले त्यो अधिकार खोसेको छ ।’
जनतासँग सांसद नारा दिएर गाउँ पुगेका संघीय सांसद महेश्वरजंग गहतराज ‘अथक’ र प्रदेश सांसद कृष्ण केसी ‘नमूना’सँग आक्रोश व्यक्त गर्दै यादवले तत्काल हुलाकी सडकको निर्माण सम्पन्न र नरैनापुरमा विजुली बाल्न आग्रह गरे ।
‘यहाँ विजुली र सडकले जसरी भए पनि नरैनापुरलाई तपाईहरुले जोड्नुपर्छ,’ यादवले भने, ‘तपाईले निर्वाचनमा पनि बाचा गर्नुभएको छ । आफ्नो बाचा पुरा गर्नुस् ।’ गाउँ पुगेका सांसदलाई निर्वाचनका बेला गरिएका प्रतिवद्धता पुरा गर्न नरैनापुरबासीहरुको माग छ ।
नरैनापुर–४ का चिर्का पालले पनि उस्तै आक्रोश व्यक्त गरे । उनले भने, ‘अहिलेसम्म ज–जसले यहाँबाट जितेर जानुभयो, कसैले पनि यहाँको विकासमा ध्यान दिनुभएन । तपाईहरु त्यसो नगर्नुहोला ।’ हुलाकी सडक नबन्दा सुगम जिल्लाको दुर्गम पालिकाका रुपमा चिनिने नरैनापुर अहिले पनि सदरमुकाम नेपालगन्जको सिधा सम्पर्कमा छैन । ‘यहाँ विजुली र सडक मात्रै पुरा गरिदिनुस्, हाम्रो समृद्धि त्योसँगै आउनेछ,’ पालको आग्रह थियो ।
‘नयाँ मान्छे गाउँमा पुग्दा केही विकास ल्याएर आएको होला भन्ने आशा गर्छौ,’ ६९ बर्षिय पालले भने, ‘आशैआशमा मेरो त उमेर नै ढल्किन लागिसक्यो ।’ बाँकेको ‘कर्णाली’का रुपमा चिनिने नरैनापुर विकास निर्माणमा ज्यादै पछाडी परेको छ ।
नागरिकका गुनासा सुनेर भावुक बनेका संघीय सांसद अथकले यहाँको विकासमा कसैसँग सम्झौता नगरिने बताए । उनले आफ्नो निर्वाचन क्षेत्रका बारेमा गरेका कामहरुका बारेमा जानकारी दिँदै भने, ‘अब यहाँको विकासमा कसैले रोक्न सक्दैन ।’
उहाँले अबको ६ महिनाभित्र राप्तीसोनारीमा बत्ती बल्ने दावी गर्दै भने, ‘प्रशारण लाइन विस्तार भइरहेको छ । हामी सरोकारवाला निकायसँग समन्वय गरेर काम गरिरहेका छौं । ६ महिनाभित्र सबै गाउँमा नसके पनि मुख्य प्रशारण लाइनमा बत्ती बालेरै देखाउँछौं ।’
राप्तीपारिका गाउँलाई सदरमुकाम नेपालगन्जसँग जोड्ने हुलाकी सडक पनि निर्माण भइरहेको बताउँदै सांसद अथकले भने, ‘हामीले हुलाकी सडक आयोजना, ठेकेदार कम्पनी सबैसँग समनवय गरेर छिटो निर्माण सम्पन्न गर्न दवाव दिइरहेका छौं । तपाईहरु पनि आफ्नो ठाउँमा दवाव बढाउँदै जानुस् ।’ प्रदेश सांसद नमूनाले सडक, विजुली र तटबन्ध प्रदेशको प्राथमितामा परेको बताइन् । उनले भनिन्, ‘विकास हुँदैन कि भन्नेमा आशंका नगर्नुस्, हामीले राज्यको स्रोतबाट विकासका काम गर्ने हो । त्यसमा हामीलाई कुनै कन्जुस्याइँ छैन । तपाईले तिरेको कर नै विकासमा लगाउने हो ।’
उनले नरैनापुरमा बर्षेनि हुने आगलागीप्रति आफू सजग रहेको बताइन् । ‘यहाँ खरले छाएका घरहरु धेरै भएकै कारण बर्षेनि आगलागीका घटनाहरु होदोरिरहन्छन्, यसमा हामी सचेत भएका छौं । अब खरका छाना भएका घरहरु विस्थापित गर्न प्रदेशले कार्ययोजना तयार गरिसकेको छ ।’
सांसदद्धयले आफूहरुले निर्वाचनमा गरेका प्रतिवद्धताहरु पुरा गरेरै छाड्ने प्रतिबद्धता जनाएका थिए । विकासको पहुँच नभएकै कारण स्थानीय बासिन्दा नेपालसँग भन्दा भारतीय बजारमै बढी आश्रित रहन्छन् । नेपालतिर सडकको राम्रो पहुँच नहुँदा नरैनापुरबासीको सम्बन्ध भारतीय सीमा बजारतिरै जोडिएको हो ।

प्रकाशित मिति : १० आश्विन २०७५, बुधबार ११:२८