सूचनाको शक्ति - The Power Of Information

        

सार्वजनिक सेवा प्रवाहबारे फोटो प्रदर्शनी


बाँके । राज्यले प्रदान गर्ने सार्वजनिक सेवाहरुको अवस्था झल्काउनका लागि मंगलबार नेपालगन्जमा फोटो प्रदर्शनी गरिएको छ । पारस्परिक जवाफदेहिता परियोजनाको आयोजनामा भएको प्रदर्शनमा नेपालका ३४ वटा जिल्लाहरुको स्वास्थ्य, शिक्षा, कृषि, विपद्सँग सम्बन्धित फोटोहरु समावेश गरिएको थियो ।
फोटो प्रदर्शनीको आरम्भ गर्दै नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तोयानारायण सुवेदीले फोटोको माध्यमबाट सार्वजनिक सेवा प्रवाहको बारेमा स्थानीय सरकारलाई समेत सजग बनाएको बताए । ‘फोटो आफै बोल्छ भने जस्तै प्रत्येक फोटोबाट हामीले हेर्ने बित्तिकै एउटा सन्देश पाउन सक्छौं,’ कार्यकारी अधिकृत सुवेदीले भने । परियोजनाका उपप्रमुख सजना महर्जनले सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउनका लागि फोटोको माध्यमबाट वकालत गर्न प्रदर्शनको आयोजना गरिएको बताइन् । यसैगरी इक्वेल एक्सेसका मिडिया आउटरिच म्यानेजर बिशाल रानामगरले राज्यले जनतालाई दिनुपर्ने सेवाप्रति जिम्मेवार बनाउन फोटो प्रदर्शनले मद्दत गर्ने बताए । फोटो प्रदर्शनी अवलोकन गर्न आएका ब्रिटिस इंगलिस बोर्डिंग स्कुलका छात्राहरु स्नेहा घिमिरे र सुभेक्षा चन्दले किताबमा शिक्षा, स्वास्थ्यसँग सम्बन्धित पढेको भए पनि प्रदर्शनीमा राखिएको फोटोले यसबारे बुझ्न मद्दत गरेको प्रतिक्रिया दिए ।
‘हामीले यहाँ भएका फोटोहरु हेरेर स्वास्थ्य, शिक्षासँग सम्बन्धित कुराहरु बुझ्न पायौं,’ उनीहरुले भने । नेपालका ३४ वटा जिल्लाका सञ्चालित पारस्परिक जवाफदेहिता परियोजनाले सामुदायिक संघसंस्था तथा मिडियाको क्षमता अभिवृद्धिका माध्यमबाट सार्वजनिक सेवा प्रवाहको बारेमा वकालत गरिरहेको छ ।
युएसएडको सहयोग तथा एफएचआईको साझेदारीमा सन्चालन भएको परियोजना अन्र्तगत आयोजना गरिएको प्रर्दशनीको इक्वल एक्सेस, हरप्लेस र सूचना तथा मानव अधिकार केन्द्रले संयोजन गरेका थिए । प्रदर्शनीमा ३४ जिल्लाका सामुदायिक सन्चारकर्मीहरुले खिचेका ४९ वटा फोटो प्रदर्शनमा राखिएको थियो । जसलाई बाँके जिल्लाका विभिन्न सरकारी तथा गैरसकारी निकायका प्रतिनिधी, सञ्चारकर्मी, शिक्षक तथा विद्यार्थीहरु गरी ३ सय बढिले अवलोकन गरेको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : १० आश्विन २०७५, बुधबार ०१:२२