सूचनाको शक्ति - The Power Of Information

        

नेपालमा १९ प्रतिशतले वृद्धि, १९८ बाट बढेर पाटे बाघको संख्या २३५ पुग्यो

भीष्मराज ओझा । काठमाडौं । वन तथा वातावरण मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार नेपालमा पाइने पाटे बाघको संख्यामा १९ प्रतिशतले वृद्धि भएको छ । राष्ट्रिय संरक्षण दिवसका अवसरमा आज यहाँ आयोजित समारोहमा मन्त्रालयले राष्ट्रिय बाघ गणना २०१८ को नतिजा सार्वजनिक गरेको हो । बाघ गणनाको नतिजा सम्बन्धी प्रतिवेदनका बारेमा जानकारी गराउँदै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक गोपालप्रकाश भट्टराईले बाघको संख्या २३५ देखिएको बताए ।
सन् २०१३ को गणनाअनुसार नेपालमा बाघको संख्या १९८ थियो । पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्ज ९३, बर्दिया राष्ट्रिय निकुञ्ज ८७, बाँके राष्ट्रिय निकुञ्ज २१, पर्सा राष्ट्रिय निकुञ्ज १८ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज एवं मध्यवर्ती र आसपासका वन क्षेत्रमा १६ बाघ भेटिएका हुन् । विभागले पर्सादेखि कञ्चनपुरसम्मको तराई क्षेत्रमा आधुनिक क्यामेराको प्रयोगले सन् २०१७ डिसेम्बर १ देखि सन् २०१८ अप्रिल ३ सम्म बाघगणना गरेको उपमहानिर्देशक भट्टराईले बताए ।
विभागले गणना कार्य पश्चात् क्यामेरा ट्र्याप डाटालाई कम्प्युटर प्रवेश, ग्रीडअनुसार तथ्याङ्क व्यवस्थापन, पुनः नामाकरण, प्रजातिअनुसार तथ्याङ्क उल्लेख, प्रत्येक बाघको फोटो छुट्याउने, क्यामेरा ट्र्याप तथा लाइनट्रान्सेक्ट विवरण, प्रजाति अवलोकन तथ्याङ्क, जिपिएस, दुरी, वियरिङ, बासस्थान उपयोग सर्भेलगायत कार्य गरी बाघको पछिल्लो संख्या सार्वजनिक गरिएको उनले बताए ।
चितवन राष्ट्रिय निकुञ्जमा अपेक्षाभन्दा बाघको संख्या कम देखिएको सम्बन्धमा विभागका महानिर्देशक मनबहादुर खड्काले गत वर्षको बाढीले बाघ बगाएर भारत पुर्याएको, सो क्षेत्रमा प्रकृतिले धान्ने क्षमता सीमित भएको र पर्सा निकुञ्जमा बाघ सरेको हुनसक्ने अनुमान गरे । सो क्षेत्रमा गत चार वर्षमा प्राकृतिक रुपले, आपसमा लडेर र विभिन्न रोग लागेर १८ बाघ मरेको उनले जानकारी गराए । चितवन राष्ट्रिय निकुञ्जमा अघिल्लो गणनामा बाघको संख्या १२० देखिएको थियो ।

सन् २०१३ को गणनाअनुसार नेपालमा बाघको संख्या १९८ थियो । पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्ज ९३, बर्दिया राष्ट्रिय निकुञ्ज ८७, बाँके राष्ट्रिय निकुञ्ज २१, पर्सा राष्ट्रिय निकुञ्ज १८ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज एवं मध्यवर्ती र आसपासका वन क्षेत्रमा १६ बाघ भेटिएका हुन् ।

नेपालले विसं २०६७ देखि बाघ दिवस मनाउँदै राष्ट्रियस्तरमा बाघ गणनासमेत गर्दै आएको छ । नेपालमा बाघको सङ्ख्या सन् १९९५ मा ९८, सन् २००० मा १०९, सन् २००५ मा १२६, सन् २००९ मा १२१, सन् २०१३ मा १९८ रहेको र हाल त्यसको संख्या वृद्धि भएको विभागले जनाएको छ । पाटे बाघ विश्वका १३ देशमा पाइन्छ । विश्वमा बाघ पाइने १३ मुलुकका सरकार तथा राष्ट्र प्रमुखको सन् २०१० मा रसियाको सेन्टपिटर्समा भएको सम्मेलनले बाघको संख्यालाई सन् २०२२ सम्ममा दोब्बर बनाउने प्रतिबद्धता गरेको थियो । सन् २०१६ को तथ्याङ्कअनुसार सबैभन्दा बढी भारतमा दुई हजार २२६, सबैभन्दा कम लाओसमा दुई बाघको संख्या छ ।
इण्डोनेसिया, कम्बोडिया, चीन, थाइल्याण्ड, नेपाल, बङ्गलादेश, भारत, भूटान, भियतनाम, मलेसिया, म्यानमा, रसिया र लाओसमा बाघ पाइन्छ । विश्वभर बाघको संख्या भने तीन हजार ८९० रहेको छ । नेपालको तराई–भूपरिधिक्षेत्रमा सर्वेक्षण गरिएको १६ हजार १६१ वर्ग्किमी क्षेत्रमध्ये ११ हजार ५७ वर्ग किमी (६८ प्रतिशत) मा बाघको उपस्थिति रहेको देखिएको छ । बाघ पाइने संरक्षित क्षेत्रमध्ये ९८ प्रतिशत क्षेत्रमा बाघको उपस्थिति रहेको देखिएको छ । संरक्षित क्षेत्रभन्दा बाहिरको बाघ पाइने क्षेत्रमध्ये ६० प्रतिशत क्षेत्रमा मात्र सो प्रजातिको उपस्थिति रहेको तथ्याङ्कमा उल्लेख छ ।

जैविक विविधता संरक्षण अनिवार्य : मन्त्री बस्नेत
समारोहमा वनमन्त्री शक्तिबहादुर बस्नेतले जैविक विविधता संरक्षणका कार्यक्रममा जनताको सक्रिय सहभागिता हुनसके मात्र संरक्षणका कार्यक्रम प्रभावकारी र दिगो हुने बताए । मुलुकले जैविक विविधता संरक्षणका क्षेत्रमा आशलाग्दो उपलब्धि हासिल गरेको उल्लेख गर्दै उहाँले बाघ गणनाको पछिल्लो नतिजाले सन् २०२२ मा बाघको संख्या दोब्बर (२५० वयस्क बाघ) पु¥या्उने मुलुकको प्रतिबद्धता पूरा हुने दिशामा नजिक रहेको भन्दै खुशी व्यक्त गरे ।
वातावरण संरक्षण र विकासका कार्यलाई एकअर्काका पूरकका रुपमा अघि बढाउने विषयमा मन्त्रालय स्पष्ट रहेको धारणा व्यक्त गर्दै मन्त्री बस्नेतले न्यून वातावरणीय क्षतिमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने विषयमा सरकार दृढ रहेको स्पष्ट पारे । विसं २०६३ असोज ७ गते वातावरण सम्बन्धी एक कार्यक्रममा गएको तत्कालीन वनमन्त्री गोपाल राईलगायत २४ जना वातावरण संरक्षणकर्मी टोलीका सबै सदस्यको ताप्लेजुङको घुन्सामा हेलिकप्टर दुर्घटनामा परी निधन भएको थियो । सोही दिनलाई मन्त्रालयले राष्ट्रिय संरक्षण दिवसका रुपमा मनाउँदै आएको छ ।
समारोहमा राष्ट्रिय योजना आयोगका सदस्य डा कृष्णप्रसाद ओलीले सरकार र सरोकारवाला निकाय तथा व्यक्तिको प्रयासमा वन क्षेत्र बढेर झण्डै ४५ प्रतिशत पुगेको उल्लेख गर्दै आगामी दिनमा माटो र पानी संरक्षणमा लाग्न सबैलाई आह्वान गरे । मुलुकको विकासका लागि ठूलो लगानी र योजना आवश्यक रहेकोमा जोड दिँदै उनले विकासका पूर्वाधार र वातावरण संरक्षणमा सन्तुलन कायम गर्नु अहिलेको मुख्य चुनौती हो भने । वन सचिव डा विश्वनाथ ओलीले बाघ गणनाको पछिल्लो नतिजाले सन् २०२२ मा बाघको संख्या दोब्बर पुर्याउन नेपालले अन्तर्राष्ट्रिय समुदायसमक्ष गरेको प्रतिबद्धता लक्ष्य नजिक पुगेको बताउँदै आगामी दिनमा पनि सबैको सहयोगको अपेक्षा गरे ।
कार्यक्रममा मन्त्रालयका सहसचिव यज्ञनाथ दाहाल, प्रा डा रामप्रसाद चौधरीलगायतले मुलुकको जैविक विविधताका क्षेत्रमा भएका प्रयास र देखिएका चुनौतीका बारेमा धारणा व्यक्त गरेका थिए । कार्यक्रममा यस वर्षको राष्ट्रिय संरक्षण पुरस्कार तनहुका डा कमल गैरेलाई प्रदान गरिएको छ । रु एक लाख ५१ हजार राशिको उक्त पुरस्कार मन्त्री बस्नेतले उनलाई प्रदान गरे । कार्यक्रममा हाब्रे संरक्षण कार्ययोजना र कञ्चनजङ्घा संरक्षण क्षेत्र र आसपासमा पाइने गुराँस सम्बन्धी पुस्तक पनि सार्वजनिक गरिएको थियो । रासस

प्रकाशित मिति : ७ आश्विन २०७५, आइतवार ११:२१