सूचनाको शक्ति - The Power Of Information

        

जब ससुराले आफ्नै वीर्यबाट बुहारीलाई गर्भवती बनाइदिन दबाब दिए…


बाँझोपनको उपचार गराउन आउँदा पुरुषको वीर्य सक्षम नभएको पाइएमा ‘आफ्नै परिवारको वा कुनै चिनेको व्यक्तिको वीर्य प्रयोग गरिदिनू’ भनेर अनुरोध गर्नेहरू आउँछन् । वंश निरन्तरताका लागि आफ्नै वंशको वीर्य प्रयोग गर्न दबाब दिने गरिन्छ । तर, हामी कुनै पनि हालतमा स्वीकार गर्दैनौँ । दाताको वीर्य लिने कुरा गोप्य हुन्छ ।
गोपनीयताको कुरा नाता–सम्बन्ध, पारिवारिक र सामाजिक समस्यासँग गाँसिएकाले पनि हामी प्रोटोकलअनुसार नै गर्छौं । थाहा पाएको वा चिनेको व्यक्तिबाट वीर्य लिँदा भोलि कुनै कारणले त्यो परिवारसँग सम्बन्ध बिग्रियो भने फेरि अर्को सामाजिक समस्या सिर्जना हुन्छ । यो बच्चा कसको त ? भन्ने समस्या हुन्छ । बच्चाको भविष्य अन्धकारमा पर्ने स्थिति बन्छ ।

ससुराको वीर्य प्रयोग गर्न दबाब
उपचारका लागि सपरिवार आएका एकजना ससुराले आफ्नै वीर्यबाट बुहारीलाई गर्भवती बनाइदिन दबाब दिए । मैले अस्वीकार गरेँ । उनले प्रलोभन देखाए । मैले ‘प्रोटोकलअनुसार मिल्दैन’ भनेँ । उनले क्लिनिक नै बन्द गरिदिने धम्की दिए । मैले ‘हेरौँ न त’ भनेँ । एकदिन एउटा प्रतिष्ठित परिवारको दम्पती उपचारका लागि आयो ।
पति दुर्घटनामा परेर अपांगताको अवस्थामा थिए । खुट्टा खोच्याउँदै आइपुगे । उनीहरूको साथमा केटाका आमाबुबा पनि आए । उनीहरूले भारतमा पनि धेरैपटक उपचारको प्रयास गरेका रहेछन् । केटाका बुबाले सुरुमै भने, ‘मेरो छोरामा समस्या छ, हामीले जयपुर, दिल्ली, बम्बईमा पनि कोसिस गर्यौँ, सफल भएन, निकै समय लाग्लाझैँ भयो । नातिनातिना खेलाउनुपर्यो, तपाईंंले उपचार गरिदिनुस् ।’
बाहिर जँचाएर डकुमेन्ट हेर्दा उनको छोराको वीर्यमा शुक्रकीट नभएकाले दाताबाट लिएर गर्भाधान गराउनुपर्ने देखियो । बुहारीमा समस्या थिएन । मैले त्यही कुरा राखेँ । यस सन्दर्भमा छोरा केही बोलेनन् । बुबाले तुरुन्तै भने, ‘हेर्नुुस्, हामी त यो परिवारको वंश चलाउने कुरा गर्दै छौँ । अरूको लिएर कहाँ हुन्छ ? हाम्रै वंशबाट जानुपर्छ, म ससुरा हुँ, मेरो वीर्य लिएर उपचार गर्नुस् ।’ म त अचम्ममा परेँ ।

डा. उमा श्रीवास्तव पोखरेल
वरिष्ठ स्त्री तथा प्रसूतिरोग विशेषज्ञ

उनीहरूले कुरा नबुझेको होला भनेर मैले फेरि भनेँ, ‘यसमा रिलेसनको कुरा आउँछ’ मैले कुरा नसक्दै उनले भने, ‘नो–नो डाक्टर सा’ब, यसमा रिलेसनको कुरा छैन, हाम्रो वंश, हाम्रो कुलको कुरा हो, हाम्रै मात्र हुनुपर्छ, अरूबाट लिएको हुनुहुँदैन ।’ उनले एकदम जिद्दी पाराले कुरा गरे ।
त्यसपछि उनले पकेटबाट चेकबुक निकाले र भने, ‘ल भन्नुस्, कति एमाउन्ट लेखौँ ? मैले यो उपचार जयपुरमा पनि गराइसकेको हो, त्यहाँ तुरुन्त नभएकाले मात्र तपाईंकहाँ आएको हो । चाहेजति रकम लिनुु्, हामीले भनेजस्तो उपचार गरिदिनुस् ।’ उनी थेगिनसक्नुको दबाब दिन खोजिरहेका थिए ।
मैले मेरो उपचारको प्रोटोकल देखाएर भनेँ, ‘हेर्नुस्, तपाईंको छोरामा समस्या छ, बुहारीमा छैन । यो अवस्थामा दाताबाट लिएर उपचार गर्नुपर्ने हुन्छ, तपाईंले भनेजस्तो गर्न सकिन्न । मलाई चेकबुक नदेखाउनुस्, चाहेजति रकम दिँदैमा उपचार हुने होइन । अन्यत्र तपाईंले के गरेर आउनुभयो, त्यो थाहा छैन, यो संस्था (निःसन्तान उपचार केन्द्र) तपाईंले सोचेजस्तो होइन, यसको आफ्नै प्रोटोकल छ, त्यहीअनुसार मात्र हुन्छ ।’

‘हेर्नुुस्, हामी त यो परिवारको वंश चलाउने कुरा गर्दै छौँ । अरूको लिएर कहाँ हुन्छ ? हाम्रै वंशबाट जानुपर्छ, म ससुरा हुँ, मेरो वीर्य लिएर उपचार गर्नुस् ।’

मैले उनलाई सम्झाउने प्रयास गर्दै भनेँ, ‘जानेर, चिनेर कुनै व्यक्ति वा परिवारका सदस्यको वीर्य लिँदा बच्चा भएपछि आपसमा झगडा भयो भने त्यो बच्चामा समेत समस्या पर्छ । यसले ठूलो सामाजिक समस्या निम्त्याउन सक्छ । त्यसैले हामीले प्रोटोकल बनाएका छौँ । यसअनुसार दाता सधैँ गोप्य हुने भएकाले तपाईंले भनेअनुसार गर्न सकिन्न र गर्दैनौँ पनि ।’
त्यसपछि उनले धम्क्याउँदै भने, ‘तपाईंले के सोच्नुभएको छ ? यो संस्था अब टिकिराख्छ ? हामीजस्ताको उपचार गर्न तपाईं पछि हटेको ? यस्ता संस्था त आउँछन्, जान्छन्..’ उनले गाली गरे, धम्क्याए । उनी अनपेक्षित हिसाबले कराए, म निकै अलमलमा परेँ, रिस पनि उठ्यो । मैले धेरै कुरा गर्ने स्थिति थिएन । एकोहोरो कराएर उनी फर्किए । केही दिन हामी सबैलाई तनाव भयो । पछि बिसिँदै गयौँ ।
त्यसको ३ वर्षजति पछि त्यो दम्पती फेरि आयो । मलाई हर्मोन औषधिहरू उपलब्ध गराउने व्यक्ति उनका आफन्त रहेछन् । उनले लिएर आएका थिए । उनलाई हाम्रो उपचारका तरिकाहरू, सफलतादर आदिबारे थाहा थियो । उनले ‘त्यहाँ जे उपचार छ, त्यो उपयोग गर’ भनेका रहेछन् । सोहीअनुसार उनीहरू उपचारका लागि आएका थिए । यसपटक उनीहरू आफैँ बुझेर आएकाले हामीलाई सजिलो भयो । हाम्रो प्रोटोकलअनुसार गर्न तयार भएर आएका थिए ।
हामीले सामान्य परीक्षणपछि उपचार सुरु गर्यौँ । चार महिनाजति उपचार गरेपछि दाताबाट वीर्य लिएर गर्भाधान गर्यौँ । उपचार सफल भयो । उनीहरूले आशा गरेझैँ भयो, छोरा जन्मियो । हामीले गर्नै नमिल्ने कुरामा जिद्दी गरिदिँदा वेलावेलामा हामीलाई निकै अप्ठ्यारो पर्ने गर्छ । यस्तै खालको अर्को एउटा केस मैले अझै सम्झिरहेको छु ।
यो तराईको केस हो । बुहारीको माइती र जागिर काठमाडौंमै रहेछ । ससुरा पनि यतै काम गर्ने । उनी पढेलेखेका, बुझेका मानिस थिए । छोरा तराईतिर जागिर भएकाले उतै बस्दा रहेछन् । सन्तान नभएपछि विभिन्न ठाउँमा परीक्षण गराउँदा बुहारीको ठिकै, छोरामा समस्या देखिएको रहेछ । मकहाँ उपचारका लागि आए, परीक्षण गर्दा त्यस्तै रिपोर्ट आयो ।
हामीले ‘दाताबाट वीर्य लिएर उपचार गर्नुपर्छ, अरू विकल्प छैन’ भन्यौँ । परीक्षणका क्रममा प्रायः ससुरा आइरहन्थे । उनले ‘मेरो छोराको समस्या भएकाले बच्चा नभएको हो, मेरो वीर्य लिएर उपचार गराइदिनुस्’ भनेर मलाई निकै कर गरे । मैले ‘प्रोटोकलअनुसार मिल्दैन, यो गोप्य हुने भएकाले चिनेको मानिसको लिँदैनौँ, पछि समस्या हुन्छ, कर नगर्नुस्’ भनेर सम्झाएँ ।
उनी फेरि त्यही कुरा लिएर आउँथे । मलाई मात्र नभएर मेरा स्टाफहरूलाई पनि त्यही कुरा भनेका रहेछन् । केही दिन उनले हामीलाई निकै दबाब दिए, तर नमानेपछि आफैँ अलमलिए । पछि हाम्रो सुझाबअनुसार नै उपचार गराए । केही महिनाको उपचारपछि गर्भ रह्यो र छोरी भयो । दोस्रो बच्चाको पनि चाहना गरेकाले फेरि उपचार गरियो । दोस्रो गर्भ पनि रहेको थियो ।

गोप्य वीर्य बैंक
हामीले हरेक जातजातिका लागि मिल्नेखालको वीर्य संकलन गरेर ‘वीर्य बैंक’ राखेका छौँ । तर, यो गोप्य हुन्छ, पहिचान खुलाउँदैनौँ । जातजाति, वर्ण आदि सबै छुट्याएर राख्ने भएकाले त्यसैअनुसार प्रयोग गर्छौं । यसो गर्दा जन्मिने बच्चा बाबुको जातजातिसँग मिल्नेखालको नै हुन्छ । तराईको मानिसको काखमा पहाडी मूलको वा पहाडी मूलका मानिसको काखमा तराई मूलको बच्चा हामी दिँदैनौँ । त्यस्तै, मंगोल वर्णका परिवारमा आर्य वर्णको बच्चा जन्मिने स्थिति बनाउँदैनौँ ।
दाताबाट डिम्ब लिनुपर्दा चाहिँ दिदी–बहिनीको लिन सकिन्छ । उनीहरूलाई ‘आफैँले लिएर आउनू’ भन्छौँ । तर, नाता नमिल्नेबाट लिँदैनौँ । जस्तो : आमाजू, नन्दबाट लिँदैनौँ । हाम्रो क्लिनिकमा आउने धेरै बिरामी चिनजानका आधारमा सिफारिस भएर आएका हुन्छन् । एउटै परिवारका विभिन्न सदस्यहरू उपचारका लागि आएका हुन्छन्, तर कसको समस्या के थियो भन्ने थाहा नदिने हाम्रो नीति छ । गोपनीयता हाम्रो प्राथमिकता हो । (निःसन्तान उपचार केन्द्र, नयाँबानेश्वर, काठमाडौंमा कार्यरत डा. श्रीवास्तवको पुस्तक ‘सन्तान सुख’बाट)

प्रकाशित मिति : ७ आश्विन २०७५, आइतवार ०२:२२