सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जका १३ विद्यालयलाई स्मार्ट बनाइँदै


बाँके । नेपालगन्ज उपमहानगरपालिका १३ वटा विद्यालयलाई सरसफाईका क्षेत्रमा स्मार्ट विद्यालयका रुपमा विकसित गरिने भएको छ । स्मार्ट विद्यालय बनाउन सरसफाईका ६ वटा सूचक तयार गरिएको छ । ती सूचक कार्यान्वयनका लागि विद्यालयमा ६ वटा समूह निर्माण गरी एक समूहले अर्को समुहले गरेका कामहरुको अनुगमन तथा मूल्यांकन गरी प्राप्तांक दिर्ने गर्छन् ।
जसअनुसार स्वच्छ शौचालयको प्रयोग र पहुँच, व्यक्तिगत सरसफाई तथा साबुन पानीले हात धुने, महिनावारी व्यवस्थापन, सुरक्षित पिउने पानी, सुरक्षित एवं स्वस्थ खाना र स्वच्छ वातावरण गरी ६ वटा सूचक तयार गरी समूह निर्माण गरिन्छ । ती सूचक अनुसार निर्माण गरिएका समूहले एकअर्काको अनुगमन तथा मूल्यांकन गरी प्राप्तांक दिने र उत्कृष्ठ समूह चयन गर्ने गरिन्छ, आदर्श मावि राँझाका प्रधानाध्यापक प्रकाश आचार्यले भने ।
‘स्मार्ट स्कूल’ निर्माणका क्रममा नेपालगन्ज–२० स्थित आदर्श माविमा सरसफाइ सम्मेलन गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका, एसएनभी नेपाल तथा गेरुवा ग्रामीण जागरण संघको समन्वयमा गरिएको सम्मेलनमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखिएको छ । चर्पीको प्रयोग, साबुनको प्रयोग, महिनावारी स्वच्छता व्यवस्थापन, सफा वातावरण लगायत विषयमा जानकारी दिन सम्मेलनको आयोजना गरिएको प्रधानाध्यापक आचार्यले बताए ।
विद्यालयमा छात्रामैत्री शौचालय छुट्टै बनाइएको तथा महिनावारी सम्बन्धी छात्राहरुलाई विद्यालय आउन प्रेरित गरेकै कारण उनीहरु विद्यालयमा नियमित उपस्थित हुने गरेको प्रअ आचार्यको भनाई छ । ‘विद्यालयका विद्यार्थीहरु व्यक्तिगत सरसफाई पनि सचेत छन्, विद्यालयले पनि नियमित सरसफाईका गतिविधिमा सहभागी गराउँदै आएको छ । विद्यालयमा पढाउनेसँगै विद्यार्थीहरुलाई जीवनउपयोगी सीप दिने गर्छौं,’ प्रअ आचार्यले भने ।

‘उपमहानगरभित्रका विद्यालयलाई सरसफाईका क्षेत्रमा स्मार्ट बनाउँछौं,’ नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगरले भने, ‘बालबालिकाहरुलाई सानैदेखि सरसफाई सम्बन्धी ज्ञान दिनकै लागि यो कार्यक्रमको सुरुवात गरिएको हो ।’ उनले आगामी दिनमा अन्य विद्यालयहरुमा पनि यो कार्यक्रमलाई विस्तार गर्दै लैजाने बताउँदै भने, ‘यो कार्यक्रम निकै प्रभावकारी र जीवनमैत्री छ, यसको दिगो सञ्चालनका लागि सबै लाग्नुपर्छ ।’
उपमहानगरभित्रका आदर्श मावि, जय जनता मावि, मंगलप्रसाद मावि, सरस्वती मावि, लग्दहवा मावि, भवानीयापुर मावि, जगतज्योती मावि, ज्ञानसागर मावि, युद्व संस्कृत मावि, माहाराजा मावि, नारायणी मावि, गौसिया मावि र बरकातिया मदरसामा यो परियोजना लागु भएको छ । नेपालगन्ज–२० वडाध्यक्ष कृष्ण कार्कीले विद्यालयमा सरसफाईको सुधार गर्न परियोजना लागु गरेको बताए । उनले भने, ‘सरसफाई सूचक अनुसार समह विभाजन गरिएको हुन्छ, सूचकको निर्देशिका अनुसार काम हुन्छ र सोही अनुसार प्राप्तांक दिइन्छ । यसले पनि विद्यार्थीहरुमा सरसफाईका लागि प्रतिश्पर्धा भई सरसफाईमा क्रियाशिल हुन्छन् ।’
वडाध्यक्ष कार्कीले सरसफाईका लागि विद्यालयमा मात्र नभई वडाभित्र अभियान नै सञ्चालन गरिएको बताए । वडा कार्यालयले राँझामा वृहद सरसफाई कार्यक्रमको आयोजना पनि गर्दै आएको छ । नेपालगन्ज विमानस्थल रहेको राँझामा दैनिक सयौं संख्या बाहिरी जिल्ला र विदेशी नागरिकको आवागमन हुने भएका कारण सबैलाई सरसफाईप्रति सचेत हुन वडा कार्यालयले अभियान सञ्चालन गर्दै आएको उनले बताए । उनले सरसफाईका लागि सचेतना अभियानसमेत सञ्चालन भइरहेको बताए ।

गेरुवा ग्रामिण जागरण संघका कार्यक्रम संयोजक रामरुप कौशलका अनुसार यो परियोजनाको मूख्य उद्देश्य पढ्ने समयमा स्वच्छ वातावरण हुनुपर्छ भन्ने नै हो । विद्यालयको वातावरण विद्यार्थीमैत्री हुनुपर्ने मापदण्ड यसमा तोकिएको छ । ‘यसले अभिभावकलाई पनि जिम्मेवार बनाउँछ,’ कार्यक्रम संयोजक कौशलले भने, ‘पहिलो कुरा वातावरणमैत्री विद्यालय र सरसफाईयुक्त विद्यार्थी भन्ने नै हो ।’ उनका अनुसार सरसफाईका ६ वटा सूचकमा ६ समूहको मुल्यांकनका लागि ६ वटा झण्डा विद्यालय परिसरमा राखिएको छ ।
उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख मनप्रसाद रेग्मीले सम्मेलनले विद्यालयलाई वातावरणमैत्री बनाउनुका साथै सरसफाईमैत्री बनाउने दावी गरे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चिन्टु बर्माले स्वास्थ्यका लागि सरसफाई अनिवार्य रहेकोले सरसफाईमा विद्यालयमा मात्रै नभई गाउँटोलमा समेत अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘यस्ता गतिविधिहरु विद्यालयमा मात्र नभई गाउँटोलमा पनि जरुरी छन्, अभिभावकहरुलाई सचेत बनाउन गाउँगाउँमा यस्ता अभियानहरु सञ्चालन गरिनुपर्छ ।’ सो अवसरमा विद्यार्थीहरुले विभिन्न प्रस्तुतिसमेत देखाएका थिए ।

प्रकाशित मिति : २ आश्विन २०७५, मंगलवार ०९:५८