सूचनाको शक्ति - The Power Of Information

        

जेब्राक्रसिङ्गमै यात्रुलाई बाटो काट्न कठिन


बाँके । नेपालगन्जको सुर्खेतरोडमा बनाइएका जेब्राक्रसिङ्ग पेन्टिङ्ग नहुँदा जीर्ण बन्दै गएका छन् । पैदलयात्रुलाई सडक वारपार गर्न सहजताका लागि बनाइएका जेब्राक्रसिङ्गमै सवारीसाधनको गति तीव्र हुँदा यात्रुलाई बाटो काट्न कठिन हुने गरेको छ ।
नियमअनुसार जेब्राक्रसमा पैदलयात्रुलाई पहिलो प्राथमिकता दिनुपर्ने हो, तर सवारीचालकले सवारी रोक्नु त परै जाओस् गति पनि कम नगर्ने गुनासो पैदलयात्रु गरेका छन् । यसमा चालकको हेल्चेक्र्याइँ नै मुख्य कारण रहेको जिल्ला ट्राफिक प्रहरीले बताएको छ ।
‘सवारीसाधनले जेब्राक्रसको नियम मिच्ने गरेका छन्,’ बाँकेका ट्राफिक प्रहरी प्रमुख हिरेन्द्र रोकायले भने, ‘चालकले पैदलयात्रुलाई प्राथमिकता नदिँदा हेल्चेक्र्याइँका साथै जेब्राक्रसिङ्गमै गाडी रोक्ने गरेको पाइएको छ ।’ तर, यसरी जेब्राक्रसिङ्गमा गति कम नगर्ने सवारी चालकलाई ट्राफिकले अहिलेसम्म कारवाही भने गरेको छैन ।
जनशक्ति पर्याप्त नभएकाले सबैतिर हेर्न नसकिएको ट्राफिक प्रहरीको भनाई रहेको छ । नेपालगन्ज र कोहलपुरका सडकमा ट्राफिक लाइट भने अहिले पनि जडान हुन सकेका छैनन् । यसले हातको इसाराकै भरमा चारैतिरबाट आएका गाडी व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको उनी बताउँछन् ।
संघीय राजधानी काठमाडौं, पोखरा, विराटनगर लगायतका शहरमा पैदलयात्रुले सहजरुपमा जेब्राक्रस प्रयोग गर्न पाउने व्यवस्था रहेको पूर्वाधार विज्ञ डाक्टर सूर्यराज आचार्य बताउँछन् । पैदलयात्रुलाई सडक पार गराउन नै सडकमा जेब्राक्रस राखिएको भए पनि जेब्राक्रस प्रयोगमा पैदलयात्रुले प्राथमिकता नपाउने गरेको उनको अनुभव छ ।
नेपालगन्जका जेब्राक्रसिङ्ग प्रयोगमा ट्राफिक प्रहरीले कानुनअनुसार कडा कारबाही गर्न नसकेको जानकारहरू बताउँछन् । सवारीसाधन र पैदलयात्रुको संख्या उल्लेख्य रहे पनि यसको तुलनामा पूर्वाधारसहितका व्यवस्थित जेब्राक्रसिङ्ग र सडक नभएकाले समस्या बढ्दै गएको देखिएको छ ।
ट्राफिक प्रहरीले सिठ्ठी बजाएर मात्रै ट्राफिक व्यवस्थापन गर्न गाह्रो भएकोले लाइट जडान गरी गाडीको चापअनुसार टाइम सेटिङ गरेर लाइट सञ्चालन गर्नुपर्ने जानकारहरु बताउँछन् । बाँकेमा अहिले ६३ जना ट्राफिक प्रहरी कार्यरत छन् । जसमा २३ जना मात्रै दरबन्दीमा छन् । अरू सबै काजमा आएका छन् । काजका ट्राफिकको भरमा बाँके चलिरहेको छ ।

प्रकाशित मिति : २ आश्विन २०७५, मंगलवार ०४:४५