काठमाडौं । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङले यौन व्यावसायलाई वैधानिकता दिएर कर असुली गर्नुपर्ने बताएपछि यो बहसको विषय बन्न थालेको छ । मुख्यमन्त्री गुरुङको आशय यौन पर्यटनलाई केन्द्रिकृत गरी कर उठाउने थियो ।
विश्वमा यौन पर्यटनमार्फत बिम्स्टेक सदस्य राष्ट्र थाइल्यान्डले अत्यधिक राजश्व संकलन गर्दै आएको छ । उसको आन्तरिक आय मध्येको यौनपर्यटन मुख्य नै मानिन्छ । पटैया सहर त्यसका लागि प्रख्यात पनि छ । पोखरा नेपालको पर्यटकीय सहरका रूपमा परिचित छ ।
यौनपर्यटनको विकास भए अहिलेको भन्दा अत्यधिक मात्रामा कर उठ्न सक्ने र त्यसले राज्यलाई सबल बनाउने विषयमा गुरुङ प्रस्ट देखिन्छन् । तर के यो सम्भव होला ? तर नेपालमा यस्तो व्यावसायलाई वैधानिकता दिनु कति उपयुक्त हुन्छ भन्ने विषयमा संसदमा पनि बहस हुने सम्भावना देखिन्छ ।
राष्ट्रिय जनता पार्टीकी सांसद चन्दा चौधरीले यस्तो विषयलाई वैधता दिन नहुने बताएकी छन् । बीबीसीसँगको कुराकानीका क्रममा नै उनले यौनशाला सम्बन्धी विषयमा अगाडी बढ्न नहुने मत राखेकी छन् । अहिले काठमाडौंलगायत मुख्य सहरमा ‘ओपन सेक्रेट’ रूपमा रहेको यौन व्यावसायलाई वैधानिक रूपमा नै सञ्चालन गरी कर असुल गर्न सक्ने प्रदेश सरकारको योजना बहसको विषय बनिरहेको छ ।
यौन पर्यटन विश्वबजारमा अनुपयुक्त भने चाहीँ होइन । भारतलगायतका देशमा पनि रेडलाइट एरिया स्थापना गरी सरकारले कर असुल गर्दै आएको छ । थाइल्यान्डको करको मुख्य आयस्रोत भनेको यौन पर्यटन नै हो । नेपालबाट नै कति पर्यटक बर्षेनी प्याकेजका दौरानमा थाइल्यान्ड पुग्ने गरेका छन् । यौनशाला खुला भएपछि रोजगारीमात्र नभएर समाजमा हुने यौनजन्य अपराधको पनि न्युनिकरण हुनसक्ने एकथरीको मत रहँदै आएको छ ।
तर बहुसांस्कृतिक मान्यता बोकेका कारणले नेपालमा यस्तो व्यावसायको वैधानिकताले गलत सन्देश जानसक्ने नीतिनिर्माण तहमा बसेका जिम्मेवार महिलाले बताउने गरेका छन् । दक्षिण अमेरिकी मुलुक कोलम्बिया पनि सेक्स टुरिजमका लागि प्रख्या त । पर्यटनका अनेक विधा मध्ये सेक्स पनि एउटा विशाल क्षेत्रका रूपमा बुझिन्छ । यसले नेपालीलाई मात्र नभएर विदेशीलाई पनि रोजगारी दिनसक्ने ठम्याई धेरैको छ ।
अहिले पनि काठमाडौं लगायतका विभिन्न डान्सबार लगायतका ठाउँमा अर्ध यौनशाला जसरी व्यापार व्यवसाय भइरहेका छन् । यसलाई अझ परिस्कृत रूप दिँदा र सरकारी मान्यता दिए लुकेर व्यवसाय सञ्चालन गर्नुपर्ने अवस्थामा कोही पनि रहनु नपर्ने अवस्था पनि आउन सक्छ । हुन त विश्वमा सेक्स सिकाउने विश्वविद्यालय पनि स्थापना भइसकेका छन् । सेक्स युनिभर्सिटीका नाममा अस्ट्रियामा एउटा विश्वविद्यालय खुलिसकेको छ । यस्तो परिप्रेक्षमा नेपालमा वैधानिक यौनशाला स्थापन र त्यसबाट कर उठाउने विषय कति सम्भव होला ?
–दैनिक नेपालबाट
।