सूचनाको शक्ति - The Power Of Information

        

दशैंअघि कुसुम विजुली बल्ने, स्थानीय भने आशंकामै


बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिका–१, कुसुम क्षेत्रका स्थानीयबासीको ३२ वर्षअघिको विजुली सपना पुरा हुने संकेत देखिएको छ । २०४२ सालदेखि घर अगाडिबाटै विद्युतको राष्ट्रिय प्रशारणको लाइन तानिएको भए पनि उनीहरुको विजुली बाल्ने ईच्छा भने झण्डै ३२ वर्षपछि पुरा हुन लागेको हो ।
क्षेत्रीय विद्युत प्राधिकरण नेपालगन्ज, कोहलपुर विद्युत वितरण केन्द्र र कुसुम ग्रामीण विद्युतीकरण सहकारी संस्थाको अगुवाईमा आगामी दशैंसम्ममा कुसुम क्षेत्रमा विद्युतको पहुँच पुर्याइने नेपाल विद्युत प्राधिकरणका क्षेत्रीय प्रमुख मनोजकुमार सिंहले जानकारी दिनुभयो ।
प्राधिकरण र सामुदायिक विद्युत वितरक केन्द्रबीच २०७० कात्तिक महिनामा सम्झौता भई काम सुरु भए पनि ठेकेदारको लापरबाहीका कारण झण्डै चार बर्ष ढिला भएको योजना विद्युत प्राधिकरण र स्थानीयको सक्रियतामा सम्पन्न हुने चरणमा रहेको क्षेत्रीय प्रमुख सिंहले जानकारी दिए । विद्युतीकरणमा प्राधिकरणको ९० प्रतिशत र स्थानीयको १० प्रतिशत लगानी छ ।
योजनाको लागत रु.६ करोड ३० लाख ४७ हजार २८२ रहेको छ । कोहलपुर बिरण केन्द्रका प्रमुख जगन्नाथ लामिछानेले हाललाई ९ वटा ट्रान्समिटरबाट कुसुम र आसपासका १ हजार घरधुरीले बिद्युतको उपभोग गर्न पाउने बताए । कुसुममा २ हजार ८२५ घरधुरी रहेका छन् । उनले राप्ती नदीमा पानीको सतह तलमाथि भएर काममा अवरोध नभए १३ वटै चार्जिङ्ग सेन्टरबाट विद्युत वितरणको तयारीमा रहेको दावी गरे ।
विद्युत प्रशारण लाइनका लागि पहल गर्दै आएकी प्रदेश सांसद कृष्ण केसी नमुनाले भनिन्, ‘निरन्तरको पहलपछि सफल नतिजा निस्किएको छ । लामो समयपछि नतिजा आउने बेला भएको छ । अब दिन गन्न मात्र सुरु गर्दा हुन्छ । केही दिनभित्रै विजुली घरघरमा पुग्छ ।’ उनले राप्तीसोनारी गाउँपालिकाका सबै बस्तीमा दशैंअघि विजुली बल्ने गरी प्राधिकरणसँग छलफल भइरहेको बताइन् ।
सामुदायिक विद्युतिकरण सहकारी संस्थाका अध्यक्ष तेजबहादुर सुवेदीले खुसी व्यक्त गर्दै भने, ‘यहाँ अहिलेसम्म विद्युतको पहँच पुग्न भने सकेको थिएन । २०६३ देखि थालिएको पहल अब सफल हुँदैछ । यही असोजको अन्तिमबाट सबै बस्तीमा विद्युत बल्ने गरी काम भइरहेको छ ।’ कुसुमका स्थानीयले अझै पनि आश्वासन मात्रै हुने हो कि भन्ने आशंका जनाएका छन् ।

प्रकाशित मिति : १ आश्विन २०७५, सोमबार ०३:०९