सूचनाको शक्ति - The Power Of Information

        

गोदामै थन्कियो पाँच करोडको कपास


बाँके । व्यवसायिक रूपमा हुँदै आएको कपास खेती पछिल्लो समय उजाडको अवस्थामा पुगेको छ । कपासको व्यावसायिक उत्पादन घट्न थालेसँगै कपास खेती उजाडजस्तै अवस्थामा रहेको हो । कपास विकास समिति खजुराले प्रशोधन गरी बिक्रीका लागि तयार पारेको २१३ मेट्रिक टन कपास अहिले पनि गोदामै थन्किएको छ ।
प्रशोधन गरिएको उक्त कपास उचित बजार अभावका कारण यसरी गोदाममै थन्किन पुगेको कपास विकास समिति खजुराका निमित्त प्रमुख विजयकुमार जोशीले बताए । विगत चार बर्षदेखि कपास बिक्री नभएपछि समितिको गोदाममा अहिले रु.५ करोड मूल्यको कपास थन्किएको उनले जानकारी दिए । एक मेट्रिकटन बराबर रु.२ लाख १८ हजार मुल्य रहेको रेशा कपास गोदामै थन्किँदा अहिले समितिलाई करिब रु.५ करोडको घाटा देखिएको छ ।
कपास समितिले उत्पादन गरेको कपास हेटौँडा कपडा उद्योग तथा बुटवल धागो उद्योगले खरिद गर्दै आएको थिए । ती दुबै उद्योग बन्द भएपछि समितिले उत्पादन गर्ने कपासको बिक्रीमा समस्या देखिएको उनी बताउँछन् । लामो समयदेखि गोदममै कपास थन्किएका कारण उक्त कपास गुणस्तरहीन हुँदै गइरहेको उनले बताए । उनका अनुसार भारतीय कपासले नेपाली बजार ओगटेको कारण पनि स्थानीय तहमा उत्पादन भएको कपास समयमै बिक्री हुन नसकेको हो ।
सरकारले कपास खेतीलाई प्रोत्साहन गर्न समितिमार्फत किसानलाई कपासको बिउ, बिषादी तथा रासायनिक मलमा ५० प्रतिशत अनुदान दिनुका साथै प्राविधिक सेवा समेत दिँदै आए पनि पछिल्लो समय कपास उत्पादन घट्दो क्रममा रहेको छ । कपास विकास समितिका अनुसार तीन बर्षदेखि बिक्री हुन नसकेको १५० टन कपासको बिउ भने केही दिनअघि मात्रै बिक्री भएको छ । प्रतिटन रु.२० हजारको दरमा बिक्री भएको उक्त बिउबाट समितिले रु.३० लाख जम्मा गरेको छ ।
निमित्त प्रमुख जोशीले भने, ‘बिउ बिक्रीबाट आएको रकमले अहिले समिति चलिरहेको छ ।’ उनका अनुसार समितिमा प्रशोधन भएको कपास बिक्री नभएकै कारण समिति अहिले धरासायी अवस्थामा रहेको छ । समिति स्थापनाका समयमा बाँके, बर्दिया, दाङ, कैलाली र कञ्चनपुरमा कपास उत्पादन गर्ने र बाँकेको खजुरामा प्रशोधन गर्ने लक्ष्य रहे पनि पछिल्लो समय लक्ष्यअनुसार काम हुन नसकेको निमित्त प्रमुख जोशीले बताए ।
कपडा र धागो उद्योग बन्द भएपछि अहिले समितिले बेमौसमी फुटकर रूपमा कपास बिक्री गर्दै आएको छ । समितिले गत आर्थिक बर्षमा २२ मेट्रिक टन र चालु आर्थिक बर्षको साउन यताका दुई महिनामा २० क्वीन्टल मात्रै फुटकर कपास बिक्री गरेको छ । अहिले ८० मेट्रिक टन कपास उत्पादन र प्रशोधन गर्ने समितिको लक्ष्य रहे पनि यो लक्ष्य गतबर्षको तुलनामा १० टनले कम हो । समितिका अनुसार गत बर्ष ९० टन कपास उत्पादन तथा प्रशोधन भएको थियो ।
अहिले यस क्षेत्रमा ११० हेक्टर जमिनमा मात्रै कपास खेती गरिएको छ । दाङ जिल्लामा तुलसीपुर र लमही प्रसार क्षेत्र, बाँकेको राप्तीसोनारी क्षेत्र र बर्दियाको केही क्षेत्रमा मात्रै अहिले कपास खेती गरिएको छ समितिले जनाएको छ । समितिले उत्पादन गरको कपासको गुणस्तर निकै राम्रो भए पनि कपास बिक्री नभएपछि समिति समस्यामा परेको छ । उत्पादित कपास बिक्रीका लागि समितिले पटकपटक टेन्डर आह्वान गरे पनि कपास बिक्री नभएपछि कपासको मूल्य घटाइएको निमित्त प्रमुख जोशीले जानकारी दिए ।

प्रकाशित मिति : ३० भाद्र २०७५, शनिबार ०६:४३