सूचनाको शक्ति - The Power Of Information

        

जेल पर्दैमा जीवन सकिदो र’छ र !


रोजिना थापा । काठमाडौं । विवेक उपाध्याय जेल परे । जेल पर्नुअघि पोखरामा क्याफे चलाए, स्कुलमा लगानी गरे अनि सहकारी खोलेका थिए । जेल परेसँगै सबै चौपट भयो । प्रहरी नियन्त्रणमा उनले ४६ दिन बिताए । तर जेल परेर बाहिर आउँदा उनका दौतरी सयौं कोस टाढा भाग्ने भइसकेका थिए । जेल परेर फर्किएकाले विवेकलाई राम्रो नजरले हेर्ने कुरै भएन । उनलाई काठमाडौंको चक्रपथबाट प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेको भोलिपल्ट पोखराको एउटा पत्रिकामा समाचार छापियो, २५ करोड खाएर भागेका विवेक उपाध्याय भारतबाट ईन्टरपोल मार्फत पक्राउ ।’
चक्रपथस्थित पसलमा बसिरहेकै बेला आफ्नो अगाडि प्रहरीको भ्यान आउँदा पछाडिबाट भागौं जस्तो नलागेको पनि होइन, उनलाई । आफूले कुनै ठूलो अपराध नगरेकाले उनले भाग्न जरुरी ठानेनन्, परिवारका अन्य सदस्यले पनि नभाग्न सल्लाह दिए । पक्राउ परेको एक दिनपछि मात्रै उनले आफू पोखरामा गरेको कारोबारका कारण पक्राउ परेको थाहा पाए । व्यवसायकै क्रममा उनले एक जना साथीसँग ५ लाख रुपैयाँ ऋण लिएका थिए । उनले त्यो साथीलाई ग्यारेन्टीका लागि साढे ७ लाखको चेक दिए । पैसा तिरे, तर चेक फिर्ता लिएनन् । यही चेक बाउन्सको केसमा उनी पक्राउ परेका थिए ।
सबैतिर समस्या नै समस्या थिए । जेल पर्दा उनलाई अब जीवन सकियो भन्ने परेको थियो । यहाँबाट कहिले निस्कने ? अनि निस्केर पनि के गर्ने ? तर जेलमै भएपनि उनले आफ्नो सोचाई परिवर्तन गर्न खोजे । उनले त्यसलाई होस्टेल सोच्न थाले । लाईब्रेरीमा गएर पढ्न थाले । यसरी उनले जेलमा १६ दिन बिताए । जेलबाट फर्किएपनि उनले परिवारको साथ पाए । तर, पसलमा बस्दा उनलाई चिन्नेहरुले जेल परेर फर्किएको, परिवारमा नोक्सानी पुर्याएको, बदनाम भएको अनेक शब्दले प्रहार गर्थे । पसलमा बस्नै मन लाग्न छाड्यो । परिवारलाई भनेरै उनले पसलमा बस्न छाडे ।
अब उनी एक्लो भए । यो एक्लोपनको साथी बन्यो, रक्सी । उनी भन्छन्, ‘रक्सी खाने एउटा साथी चाँहि थियो ।’ उनलाई आफ्नो विगत देखेर हिनताबोध भयो । बाँच्नै मन लाग्न छाडेको थियो । बिना कसुर जेल पर्दाको पीडाले उनलाई सताइरहन्थ्यो । दुई पटक आत्महत्याको असफल प्रयास पनि गरे । रक्सीको तल छुटेकै थिएन । एउटा यस्तो दिन आयो । रक्सी खाने क्रममा नै उनको भेट अचानक एक जना वकिलसँग भयो । वकिलले यसरी नै बेकसुर वा साना गल्तीले जेल परेकाहरुलाई सहयोग गरे आत्मसन्तुष्टि मिल्ने सुझाव दिए । गज्जब लाग्यो उनलाई । जेलमै हुँदा पनि १ हजार तिर्न नसकेर जेल परेका एक बालक र अन्य दुई जनालाई छुटाएको स्मरण गरे ।

उनले सोचे, हो, यसैमा समय खर्च गर्छु । यसका लागि एक्लै सम्भव थिएन । वकिलकै सल्लाहमा उनले एउटा संस्था खोल्ने निधो गरे र ७ वटा नागरिकता जम्मा गर्न लागे । अहँ, उनले सकेनन् । आफ्नो बाहेक अर्को एक जना पनि उनलाई नागरिकता दिन तयार थिएनन् । उनी भन्छन्, ‘मलाई ती ७ वटा नागरिकता त सजिलैसँग जम्मा गरिहाल्छु नी जस्तो लागेको थियो । तर, आफ्नो बाहेक अरु एक जनाको पनि नागरिकता ल्याउन सकिन । त्यतिबेला मलाई आफू कति बदनाम भएको रहेछु भन्ने महसुस भयो । अनि मैले फेसबुकमार्फत यो प्रस्ताव साथीहरुलाई राखेँ । केही साथीहरु सहमत भए ।’ तर विवेक आफैं जेल परेर निस्किएका व्यक्ति हुन् भन्ने कुरा चाँहि संस्थाका धेरैजसो साथीहरुलाई पनि उनले भनेनन् ।
जेलबाट निस्केको १ वर्षपछि उनले ‘हिडन लाईफ फाउन्डेसन’ खोले । यसको मुख्य उद्देश्य सामान्य रकम धरौटी बुझाउन नसकेर जेलमा बस्न बाध्य भएकाहरुलाई जेलबाट छुटाउनु थियो । संस्था खोलेपछि उनी पहिलो चोटी नख्खु जेल पुगे । अनि जेल विभाग, डिल्लीबजार कारागार गएर कैदी छुटाउने प्रक्रियाबारे बुझे । त्यहिबाट एक जना कैदीलाई धरौटी तिरेर छुटाएपछि सुरु भयो उनको यो यात्रा । तर कहाँ सबै काम सुरुवातमै राम्रो देखिन्छ र । जेल परेकाहरुलाई धरौटी तिरिदिएर जेल बाहिर निकाल्दा राम्रो काम गरेकोमा स्याबासी पाएनन् । बरु उल्टै आफू पनि जेल पर्यो । अब जेल परेकालाई पनि निकालेर माफिया समूह बनाउन लाग्यो भन्ने हल्ला चल्यो ।
व्यापारमा समस्या आउँदादेखि जेल पर्दासम्म र त्यसपछिका कठिन दिनहरुमा साथ दिएको उनको परिवार यतिबेला आएर रिसायो । साँच्चै नराम्रो काम नै पो गर्दै छ कि भन्ने शंका गर्यो । तर, परिवारको गुमेको साख कुनै पनि हालतमा फिर्ता गराउने उनको अठोट कायमै थियो । पसलमा बस्दा केही रकम निकाल्ने र संस्थाका अरु साथीहरुसँगको सहकार्यमा जेलबाट कैदी छुटाउने कामलाई उनले निरन्तरता दिए । एक दिन उनको भेट नेपाल प्रहरीका तत्कालीन एआईजी विज्ञानराज शर्मासँग भयो । शर्माले उनको काममा थप सहयोग र हौसला दिए । प्रहरीकै माथिल्लो स्तरबाट समेत उनको काममा सहयोग भइरहेको थाहा पाएपछि भने उनको परिवारले पनि विश्वास ग¥यो ।
हिडन लाइफ फाउन्डेशनले ११५ जना कैदीलाई धरौटी तिरेर जेलबाट बाहिर निकालिसकेको छ । दुई हजार ५ सय देखि १ लाख २० हजारसम्म धरौटी तिरेर निस्कनसक्ने व्यक्तिहरुलाई उनले निकालेका छन् । यसरी जेलबाट निकाल्ने मान्छेमा पहिलोपटक जेल परेकाहरु प्राथमिकतामा पर्छन् । उनी भन्छन्, ‘गम्भीर अपराधमा संलग्न व्यक्तिलाई हामीले निकाल्ने होइन । अपराध नै गरेको हो कि फसाईएको हो भन्ने अध्ययन गर्छौ । कानुन तोडेर निकाल्ने पनि होइन । कानुनी रुपमा नै निस्कन सक्ने तर धरौटी बुझाउन नसक्ने कैदीलाई छुटाउने हो ।’ विवेक सम्झिन्छन्, ‘म जेल परेर बाहिर आउँदा धेरैले साथ दिएनन् । जेलभित्रको सजाय भोग्नुभन्दा पनि समाजिकरुपमा पाइने टर्चर असह्य हुँदोरहेछ ।’

जेलबाट निस्केपछि सामाजिक रुपमा सहनुपर्ने अपहेलनालाई सहन गर्नका लागि परामर्श पनि यो संस्थाले दिन्छ । कतिपयलाई त उनले आफ्नै पसलमा लगेर काम सिकाएर अन्यत्र काम गर्न सक्ने वातावरण पनि बनाईदिएका छन् । जेलवाट निस्किएपछि उसलाई समाजमा कसरी पुनःस्थापित गराउने भन्ने विषयमा पनि बढि ध्यान दिएका छन् । उनले कतिपयलाई आफैं ग्यारेन्टी बसेर पनि काममा लगाईदिएका छन् । त्यतिमात्रै होइन हिडन लाइफ फाउन्डेशनले कतिपय चर्पी बनाइदिने, खानेपानीको ट्यांकी राखिदिने, अध्ययन गर्नका लागि लाईब्रेरीमा किताब दिने, खेलकुदका सामग्री उपलब्ध गराउने काम पनि गरिरहेको छ । उनी भन्छन्, ‘कारागार सुधार गृह हुने अवस्थामा नै त पुगिसकेको छैन । यसमा राज्यले पनि काम गरिरहेको छ । हामीले हातेमालो गर्ने कोशिस गरेका छौं ।’
विवेकले थपे, ‘अहिले झण्डै १९ हजार कैदी छन् । तर हाम्रो कुरा के हो भने आर्थिक समस्याकै कारण जेल बस्न नपरोस् । नेपालमा कतिपय अपराध भनेको के हो भन्ने थाहा नपाएर पनि जेल परेका छन् । जस्तो उदाहरणका लागि लागू पदार्थ प्रयोगकर्तासँग कसैको संगत छ भने आफूले प्रयोग नगरेपनि आशंकाका भरमा पक्राउ पर्ने सम्भावना हुन्छ ।’ नेपालमा जुनसुकै अपराध गरेको भएपनि एउटै जेलमा राखिन्छ । यो तरिका गलत छ । एक पटक जेल परेपछि समाजले हेर्ने दृष्टिकोणमा त परिवर्तन आउँछ नै, जेलमै पनि ठूला अपराधीको संगतमा पुग्दा साना अपराधी जेलबाट छुटेपनि ठूला अपराधमा संलग्न हुने डर हुन्छ । त्यसैले अपराधको प्रकृति हेरेर बेग्लाबेग्लै जेलमा राख्ने व्यवस्था गर्नुपर्छ । नेपालमा ७४ वटा कारगार छन् । यसैलाई पनि अपराध अनुसार फरक फरक स्थानमा राख्ने व्यवस्था गर्न सकिन्छ ।
उनी जेल परेर सामान्य धरौटी तिर्न नसक्नेहरुका लागि भगवान नै बनेका छन् । उनको कदमले जेलमा सामान्य धरौटी तिर्न नसकेर महिनौं थुनिनुपर्ने बाध्यताको अन्त्य हुन थालेको छ । कुनै समय जेल परेर फर्किएकै कारण समाजमा नराम्रो बनेका विवेकको अहिले परिचय फेरिएको छ । व्यस्तता बढेको छ । विवेक भन्छन्, ‘गुमाएको पैसा त कमाएको छैन । तर गुमेको ईज्जत फर्काउन सफल भए । परिवारमा खुसी फर्किएको छ । उत्साहित विवेक सुनाउछन्, ‘त्यो भन्दा ठूलो कुरा जेलबाट छुटेपछि राम्रो काम गर्न सक्छन् भन्ने सन्देश दिन सकेको छु । कम्तिमा पनि जेलबाट निस्किएका व्यक्तिले मैले जस्तो सामाजिक दृष्टिकोणकै कारण आत्महत्याको बाटो रोज्नुपर्ने अवस्था नआओस् । अहिले धेरैमा जेल पर्दैमा जीवन सकिदैन । यहाँबाट बाहिर निस्किएपछि धेरै राम्रा काम गरेर समाजमा बाँच्न सकिन्छ, नयाँ जीवनको सुरुवात गर्न सकिन्छ भन्ने आत्मविश्वास बढेको पाउँछु ।’

 

 

–हाम्रोकथाबाट

प्रकाशित मिति : २८ भाद्र २०७५, बिहीबार ०५:१०