इच्छाशक्ति भए प्रगती टाढा छैन् भने झै नेपालगन्ज उपमहानगरपालिका १० निवासी नन्दलाल बैश्य लगनशिलता र इच्छाशक्तिकै कारण आज पश्चिम नेपालको व्यवसायी क्षेत्रमा कुशल व्यवसायी बनेका छन् । बुबा होलीराम र आमा शौभाग्यवतीदेवी बैश्यको सुपुत्रका रूपम २०२७ साल जेठ १४ गते धर्तिमा पाईला टेकेका बैश्य अहिले नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष हुन् । नेपालगन्जकै मंगलमावीबाट शैक्षिक बामे सरेका बैश्यले नारायण उमावीमा कक्षा चारदेखि अध्ययन शुरू गरेर त्यहिबाट एसएलसी उत्तिर्ण गरे ।
छिमेकी देश भारतको रुपैडियास्थित रामजानकी कलेजबाट आईए पास गरेका बैश्यको घरमा आर्थिक अवस्था कमजोर भएकै कारण अध्ययन रोकियो । आर्थिक अवस्थाका कारण आईएमै ब्रेक लागेको अध्ययन अहिले पनि यो भन्दा अघि बढ्न सकेको छैन । विए अध्ययनका लागि आर्थिक समस्या भएपछि उनले आर्थिक आम्दानीकै लागि विगतमा बुबा होलीरामले चलाएको नन्कुराम, होलिराम कपडा पसलमै काम शुरू गरे । १६ बर्षको उमेरदेखि व्यवसायमै हात हालेका बैश्यले १० बर्ष लामो कडा परिश्रम र मेहनतपछि उक्त पसललाई खुद्राबाट होलसेलमा परिणत गरेका थिए ।
पहाडबाट आउने हटारूहरू नै उनका खास ग्राहक थिए । तर, ती हटारूलाई नेपालगन्जमा बस्न खान, सुत्न र औषधी उपचारमा समेत बैश्य परिवारले सहयोग गर्नुपर्ने बाध्यता थियो । यति गरेपछि ती ग्राहकले उनकै पसलबाट कपडा खरिद गरेर पहाड तर्फ लैजाने गर्ने गरेको उनी बताउँछन् । उनका अनुसार कतिपयलाई त भारत मजदुरीका लागि जान पैसासमेत दिनुपर्ने हुन्थ्यो । यसरी दिएको पैसाले उनीहरू भारत जान्थे, महिनौं काम गर्ने पैसा कमाउथे अनि नेपालगन्ज फर्किन्थे र त्यहि पसलबाट कपडा किनेर घरमा लैजाने गर्थे । यसरी चलेको थियो बैश्यको होलसेल कपडा पसल । फुटकरबाट होलसेलमा पुगेको उनको व्यवसाय कुनै समयमा बन्दै गर्नुपर्ने अवस्था पनि आयो तर, दरो मन, इच्छाशक्ति र लगनशिलताका कारण उनले आफनो व्यवसाय बन्द भने गरेनन् ।
बरु अझै डटेर लागे व्यवसायमा सुधारका लागि । हटारूको भरमा चलेको बैश्यको उक्त व्यवसाय आज नेपालगन्जको एक नम्बर पसलका रूपमा रहेको छ । यसमा उनी गर्व गर्छन् र भन्छन् ‘प्रगतीमा इच्छाशक्ति पहिलो कुरा हुँदोरहेछ ।’ व्यवसाय सम्हालेको शुरूवाती अवस्थामा बार्षिक १० रूपैयाँ भन्सार तिर्ने बैश्य परिवारले अहिले बार्षिक ५ करोडको हाराहारीमा सरकारलाई कर तिर्दै आएको छ । यसैबाट पनि प्रष्ट हुन्छ कि बैश्यको व्यवसायले कति फड्को मारेको रहेछ । नेपालगन्जको त्रिभुवनचौकमा रहेको उक्त होलसेल पसलबाट अहिले पश्चिम नेपालका २० जिल्लामा मालसामान जाने गरेको छ । उनको व्यवसाय अहिले नेपालगन्जमा मात्रै नभई पश्चिम नेपालमै चर्चामा छन् । २०६३ मा व्यापार संघको सदस्य भएका बैश्य अहिले नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष हुन् ।
२०६७ सालमा संघको उपाध्यक्ष भएका बैश्य २०७१ मा भएको संघको निर्वाचनमा चार मतले अध्यक्ष पदमा पराजित भएका थिए । तर, उनले मनोबल घटाएनन् उनी अध्यक्ष भएरै छाड्ने वाचाका साथ लागिपरे र २०७३ मा भएको संघको निर्वाचनमा उनी अत्याधिक मतले अध्यक्ष पदमा विजयी भएका थिए । बैश्य व्यवसायसँगै सामािजक काममा पनि उत्तिकै सक्रिय हुँदै आएका छन् । उनी अहिले संघको अध्यक्ष मात्रै नभई किन्दुराम धर्मशालाको अध्यक्ष, औतारी चौधराई प्रतिष्ठानको अध्यक्ष, नेपाल उद्योग बाणिज्य महासंघको कर तथा राजश्व उपसमिति, रोजगार तथा परिषद्, प्रदेश पाँचमा महासंघको सदस्य, प्रदेशको बाणिज्य तथा आपूर्ति संयोजक, प्रधानमन्त्रीको अध्यक्षतामा गठित बिशेष समितिको सदस्यलगायतका संघ संस्थामा रहेर सामािजक काममा सक्रियता देखाइरहेका छन् ।
आफू संघको अध्यक्ष भइसकेपछि नेपालगन्जको मुख्य समस्याका रूपमा रहेको लोडसेडिङबाट नेपालगन्जबासीलाई मुक्त बनाएको, भन्सार गेटममा कडा सुरक्षाको प्रबद्ध मिलाएपछि अहिले दैनिक तीन लाख बराबरको राजश्व असुलीमा सहयोग गरेको, नेपालगन्ज उपमहानगरपालिलाई सुन्दर, स्वच्छ र हराभरा सहर निर्माणका लागि प्रत्येक शिनबार नगरपालिकासँगको सहकार्यमा सरसफाई अभियान शुरु गरेको उनी बताउँछन् । उनका अनुसार असंघको अध्यक्षको हैसियतामा आफनै पहलमा सदरलाईनको सडक फराकिलो भइरहेको र आगामी दिनमा एकलैनीको सडक पनि फराकिलो बनाउनका लागि योजना तय भइरहेको छ ।
सानो घर र थोरै खेतवारी रहेका बैश्यको बाल्यकाल कष्टकर बितेपनि, आर्थिक समस्याकै कारण आइए भन्दा माथीको अध्ययन गर्न नसके पनि टकराव र इच्छाशक्ति अनि मेहनतकै कारण अहिले नाम, दाम र काम सबै राम्रै भएको उनी बताउँछन् । उनी भन्छन् ‘पहिला घरपरिवार, अनि समाज, त्यसपछि नगर जिल्ला र देश सुखी खुशी हुनुपर्छ ।’ उनले थपे ‘खाल्डो नै खाल्डो भएको खेत देखेर रोएको नन्दलाल र नन्दलाल परिवार अहिले सुखी र खुशी छ ।’
।