सूचनाको शक्ति - The Power Of Information

        

कर्णाली डिष्टिलरीलाई पाँच लाख जरिवाना

जरिवानाबाट प्राप्त रकमले खजुरा गाउँपालिका–१ को राधापुरमा सडक मर्मत गरिँदै

जरिवानाबाट प्राप्त रकमले खजुरा गाउँपालिका–१ को राधापुरमा सडक मर्मत गरिँदै


बाँके । बाँकेको खजुरामा रहेको कर्णाली डिष्टिलरीका कारण खजुरा गाउँपालिकामा सयौं विघा खेतीयोग्य जमिनलाई ह्रास गरिरहेको छ । जसका कारण उत्पादनमा समेत गम्भीर असर परिरहेको छ । डिष्टिलरीबाट निस्किने पास किरणनालामा मिसाएकोले नालाको पानी प्रदुषण हुनुका साथै जीव जनावरहरुलाई समेत असर गरिरहेको छ ।
डिष्टिलरीका कारण खजुरा गाउँपालिकाको वडा नं. १, २ र ३ को खेतीयोग्य जमिन बढी प्रभावित भएको छ । उद्योगले नालामा प्रदुषण गरेपछि खजुरा गाउँपालिकाले कडा नीति अख्तियार गर्दै डिष्टिलरीलाई जरिवाना तिराएको छ । डिष्टिलरीले ५ लाख रुपैयाँ जरिवानावापत खजुरा गाउँपालिकालाई बुझाएको छ ।
जरिवानाबाट आएको रकमले खजुरा गाउँपालिका–१ को राधापुरमा करिब एक किलोमिटर सडक मर्मत भइरहेको छ । खजुरा गाउँपालिका–१ का अध्यक्ष सुमन मल्लका अनुसार जरिवानासँगै वडा कार्यालयले अदालतको फैसलाको कारण समेत देखाउँदै उद्योगका कारण भइरहेको पानी प्रदुषण तत्काल नियन्त्रणका लागि आग्रह गरिएको छ ।
वडा अध्यक्ष मल्लले भने, ‘वडा कार्यालयको पत्रपछि डिष्ट्रीलरीले नयाँ प्लान्ट स्थापना गर्ने काम सुरु भइसकेको भन्दै अबदेखि नालामा प्रदुषण नहुने जानकारी गराउँदै क्षतिपूर्ति तिर्न तयार भएको हो ।’ हाल ५ लाखमा माटो पटानको कार्य भइसकेको छ भने डिष्टिलरीले उपलब्ध गराउने थप रकमबाट ग्रावेल गर्ने तयारी गरिएको वडा अध्यक्ष मल्लले बताए । सडक किनारमा अशोकका करिब सात सय बिरुवा रोप्ने गरी वडाले घरघरमा विरुवासमेत वितरण गरिसकेको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७४, बिहीबार ०८:०१