
तीर्थराज निरौला । काठमाडौं । सूचना प्रविधिको विकाससँगै इन्टरनेटको प्रयोग पनि दिनानुदिन बढ्दै छ । धेरै फाइदासँगै बेफाइदा पनि उतिकै लिएर आएको छ इन्टरनेट । प्रयोगकर्ता सचेत नहुँदा कहिलेकाँही नकारात्मक असर देखिँदै आएका छन् । पछिल्लो सयम इन्टरनेटका माध्यमबाट बालबालिका दुरुपयोग हुने, दुर्व्यवहारमा र शोषणमा पर्ने गरेका छन् । विशेषगरी यौन दुर्व्यवहारका घटनामा इन्टरनेट सहायक भएको देखिँदै आएको छ ।
घटना – १
काठमाडौं जडिबुटीमा अस्थायी रूपमा बसोबास गर्दै आएकी सीता (नाम परिवर्तन)की छोरी एलिजा ११ वर्षकी भइन् । कक्षा ६ मा पढ्ने एलिजाका सबै इच्छा अभिभावकले पूरा गर्दै आएका छन् । कतार गएका उनका बुबा श्रमिकको काम गर्छन् । कमाइ राम्रै छ । छोरीको औधी माया गर्ने उनले गतवर्ष छोरीकै लागि आइप्याड पठाइदिए । उनी आइप्याडमा सामाजिक सञ्जालमा अभ्यस्त भइसकिन् । साधारण साक्षर भए पनि इन्टरनेटमा रमाउन नजान्ने उनकी आमाको पनि फेसबुक अकाउन्ट खोलिदिएकी छन् । आमाको एकाउन्ट पनि आफै ‘ह्यान्डल’ गर्छिन् उनी ।
उनकै २ वटा एकाउन्ट छन्, रियल र साथीसँग रमाइलो गर्न बनाएको अर्को फेक अकाउन्ट । उनका धेरै साथीका पनि कम्तीमा २ वटा एकाउन्ट छन् । पछिल्लो समय आइप्याडले निकै व्यस्त बनाएको छ उनलाई । ‘फेक’ एकाउन्टका प्रायजसो सबै साथी नचिनेकै छन् । धेरै साथी भएको फेक एकाउन्टमा खाली हुने बित्तिकै स्टाटस अपडेट गरिहाल्छिन् । रमाइलो कुरा शेयर गर्छिन् । नचिनेका साथीलाई पनि सन्देश पठाउँछिन् । तर विगत केही सयमदेखि उनी एक जनासँगको च्याटमा बढी समय व्यतीत गर्न थालेकी छन् ।
घटना – २
सुनसरी जिल्ला धरान घर भएका रवि शर्मा (नाम परिवर्तन) को परिवार व्यापारमा संलग्न छ । श्रीमतीदेखि बुबाआमासम्म सबैको आफ्नै व्यवसाय छ । एकमात्र सन्तान ९ वर्षीय छोरा राहुल छन् । परिवारका सबै सदस्यको आफ्नै व्यवासाय भएकाले छोरालाई समय दिन कसैलाइ फुर्सद छैन । घरमा कुनै सुविधाको कमी छैन । विद्यालयबाट फर्केपछि छोरा अन्यत्र नजाओस् भनेर घरमा इन्टरनेट जोडिदिएका छन् शर्माले । नेट जोडेपछि परिवारलाई ढुक्क, कहीं जाँदैन छोरा । घरमा नै नेट चलाएर बस्छन् । पछिल्लो समय विद्यालयका गतिविधिमा खासै ध्यान दिँदैनन् उनी । पढाई खस्केको छ । मोबाइलको व्यस्तताले उनलाई भ्याइनभ्याई छ ।
आफ्ना इच्छा सामाजिक संजालभरी छर्ने गरेका छन् । साथीका बुबाआमाले इटहरी र भेडेटार लगायतका स्थानमा घुमाउन लगिरहन्छन् । आफूलाई बाबुआमाले समय नदिएको प्रति निकै दुखेसो पोख्छन्, सामाजिक सञ्जालमै । एक जना अपरिचित व्यक्तिले उनका गतिविधि नजिकबाट नियाल्न थाले । बालकका इच्छा र आकांक्षाका बारेमा बुझ्न दोस्रो व्यक्तिलाई गाह्रो थिएन । प्रोफाइलमा पोस्ट गरिएका विषयले छर्लंगै पाथ्र्यो । सन्देश पठाए अपरिचितले । भेडेटारमा गएर फोटो खिच्ने उनको इच्छा पूरा गर्दिने भए । अपरिचितका कुरा बालकलाई वास्तविक नै लाग्यो । घरबाट निस्किए आफ्नै मनलाई भेडेटार जान भनेर । तर ती अबोधलाई के थाहा, अपहरणमा परिएला भनेर ।
घटना – ३
काठमाडौं कीर्तिपुर नगरपालिका टौदह विनिता (नाम परिवर्तन)ले पनि मोबाइल चलाउन सिकिन् । कक्षा ८ मा अध्ययनरत ती बालिकालाई फेसबुक मात्र चलाउन आउँथ्यो । उनले बुबा र आमाको पनि एकाउन्ट बनाइदिएकी थिइन्, तर आफैँ चलाउँथिन् । आफ्नै नाममा त एकाउन्ट थिएन । तर उनले पनि नक्कली आइडी बनाएकी थिइन् । त्यहीबाट कुराकानी गर्थिन् । उनलाई एकाउन्टमा केही चिनेका साथी थिए भने धेरै जना अपरिचित थिए । एक जनाले अपरिचितले सुरुसुरुमा उनीसँग राम्रै गरी कुराकानी गर्थे । केही समयपछि उनले अश्लील तस्बिर र भिडियो पठाउन थाले । यो कुरा अभिभावकले तत्काल थाहा पाएकाले सबै एकाउन्ट निष्क्रिय गरियो । र मात्रै, घटना थप ठूलो हुन पाएन । मोबाइलको पहुँचबाट उनलाई अलग्याइयो ।
एलिजा, राहुल, र बिनिता त प्रतिनिधि पात्र मात्र हुन् । इन्टरनेटका माध्यमबाट बालबालिकामाथि दुर्व्यवहार हुने क्रम बढ्दै गएको छ । प्रत्येक ४ जना बालिकामध्ये १ जना दुर्व्यवहारमा पर्ने गरेका छन् भने प्रत्येक ६ जना बालकमध्ये १ जनाले दुर्व्यवहारको शिकार भएको एक अध्ययनको निष्कर्ष छ । कुन वर्ष कति बालबालिका दुर्व्यवहारमा परे, यकिन तथ्यांक छैन । विशेषगरी फेसबुक प्रयोगले बालबालिकामाथि दुर्व्यवहार ह्वात्तै बढाएको निष्कर्ष निकालेको छ, भ्वाइस अफ चिल्ड्रनले हालै गरेको एक सर्वेक्षणले । ‘सेक्सुअल एक्स्प्लोइटेशन अफ चिल्ड्रन अनलाइन इन नेपाल २०१७’ नामक प्रतिवेदनले काठमाडौं उपत्यकाका बालबालिकामा सर्वेक्षण गरी उक्त निष्कर्ष निकालेको हो । काठमाडौं उपत्यकामा पाँच वर्षभन्दा माथि ११ वर्षभन्दा कम उमेर समूहका बालबालिकामा गरिएको सो सर्वेक्षणले ७२ प्रतिशत बालबालिकाको फेसबुक एकाउन्ट भएको आँकलन गरेको छ ।
त्यसमध्ये माबाइलबाट इन्टरनेट चलाउने बालबालिकाको संख्या आधा भन्दा धेरै छ । यसपछि ल्यापटपबाट इन्टरनेट चलाउने गरेको पाइएको छ । प्रायजसो बालबालिकाले घरमै बसेर इन्टरनेट चलाउँछन्, उक्त सर्वेक्षणको निष्कर्ष छ । यसैगरी, सो उमेर समूहका पाँच प्रतिशत बालबालिकाले इन्टरनेटमा अश्लील सामग्री हेर्ने गरेको प्रतिक्रिया दिएका छन् भने ७७ प्रतिशत बालबालिका यस विषयमा खुल्न चाहेनन् । बाँकीले त्यस्ता सामग्री नहेरेको उल्लेख गरे ।
अश्लील सामग्री हेर्नेमध्ये ४७ प्रतिशतले साथी सर्कलका कारण त्यस्ता सामग्री हेर्नु परेको प्रतिक्रिया दिए भने उत्सुकताले हेर्ने २४ प्रतिशत छन् । इन्टरनेट चलाउनले गरेका ८३ प्रतिशत बालबालिकामाथि कुनै न कुनै प्रकारको दुर्व्यवहार हुने गरेको छ । ४० प्रतिशतभन्दा बढी बालबालिका अपरिचित व्यक्तिसँग पनि तस्बिर आदानप्रदान गर्छन् । ५२ प्रतिशत बालबालिका एकभन्दा बढी फेसबुबकको एकाउन्ट चलाउँछन् । इन्टरनेट प्रयोग गर्नेमध्ये ४७ प्रतिशत बालक दुर्व्यवहारमा पर्छन् ।
सोही उमेर समूहका २१ प्रतिशतभन्दा बढीले आफ्नो एकाउन्टको पासवर्ड दोस्रोरतेस्रो व्यक्तिसँग पनि सेयर गर्ने गरेको तथ्यांक उक्त सर्वेक्षणको प्रतिवेदनमा उल्लेख छ । यो त एउटा सर्वेक्षणमात्र हो । सर्वेक्षण र वास्तविकता समान हो भनिहाल्न त नसकिएला । तर सर्वेक्षणका अवधारणा झुटा नै चाँहि पक्कै हुँदैनन् । बालबालिकाका इन्टरनेट प्रयोग गर्दा अभिभावकले नजिकबाट नियाल्नुपर्ने अवस्था आइसकेको छ । बालबालिका वास्तवमा नै अबोध हुन्छन्, जान्ने जिज्ञासा हुन्छ । यो तिनको कमजोरी होइन । शारीरिक तथा मानसिक दण्ड र डररत्रासले पनि बालबालिकाका गतिविधि नियन्त्रण गर्ने प्रयास सकारात्मक होइन ।
सूचना तथा सञ्चार प्रविधिको विकासले धेरै क्षेत्रमा सकारात्मक प्रभाव पारेको छ । तर यसको दुरुपयोग गर्ने पनि उतिकै छन् । इन्टरनेटमा आफ्नो गोपनीयता कायम राख्न प्रयोगकर्ता पनि उतिकै सचेत हुन जरुरी छ । आजभोलि अपराधका प्रकृति पनि फरक हुन थालेका छन् । बयासी प्रतिशत बालबालिकामाथि कुनै न कुनै दुर्व्यवहार हुने गरेको कुरा माथिको तथ्यांकले पनि उल्लेख गरिसकेको छ । तर इन्टरनेट प्रयोगले बालबालिकामा दुर्व्यवहारको चुनौती थपेको भएपनि यसलाई नियन्त्रण गर्न असम्भव भने छैन ।
इन्टरनेटमा कसरी दुर्व्यवहार हुन्छ ?
बालबालिकालाई यौनिक कुरा सुन्न र हेर्न प्रोत्साहित गर्नु यौन दुर्व्यवहार हो । गलत मनशायले बालबालिकालाई बहकाउमा पार्नु, उनीहरूले मन पराउने कुरा उपहार दिएर आफूप्रति आकर्षित गरी बाल दुर्व्यवहार गर्ने प्रवृत्ति पनि बढ्दो छ । बालबालिकाको दुर्व्यवहार शोषण भएको फोटो तथा भिडियोको व्यापारिक वितरण गर्नु, बालबालिकालाई अश्लील तस्बिर तथा भिडियो पठाएमा पनि दुव्र्यवहार गरेको मानिन्छ । बालबालिकालाई ललाउने, फकाउने, गालीगलौज र धम्की दिनु दुर्व्यवहार हो । कतिपय अवस्थामा चिनेजानेको मानिसबाट पनि इन्टरनेटमार्फत् बालबालिकामाथि नै दुर्व्यवहार गरिरहेका हुन्छन् तर यसको बालकालिका सचेत नहुन पनि सक्छन् ।
कारबाही गर्न छैन पर्याप्त कानुन
बालबालिकाको दुर्व्यवहार गर्नेलाई गर्नेलाई बालबालिका ऐन व्यवस्था छ । इन्टरनेटका माध्यमबाट हुने दुर्व्यवहारका सम्बन्धमा ती कानुनमा पर्याप्त व्यवस्था नभएको भ्वाइस अफ चिल्ड्रेनकी कृति भट्टराईको भनाई छ । केही सार्वजनिक अपराध तथा सजायाँ ऐन र साइबर क्राइमसम्बन्धी व्यवस्थाका आधारमा अहिलेसम्म कारबाही गरिँदै आएको छ ।
बालबालिकालाई यौन दुर्व्यवहार गर्ने, गलत मनसायले ललाईफकाई गर्नेप्रति छुट्टैखाले कानून निर्माण गरी त्यस्ता व्यक्तिलाई कारबाही गर्नुपर्ने भट्टराईको माग छ । बालबालिकाप्रति हिंसात्मक हुने सामग्रीको प्रयोग, डाउनलोड, अपलोड, उत्पादन, प्रचारप्रसार तथा बिक्रीवितरण गर्ने कार्य भएमा थप सजाय हुने व्यवस्था छैन ।
अभिभावकले के गर्ने ?
इन्टरनेट चलाउने सबै बालबालिकाका गतिविधि अभिभावकले नियन्त्रण गरेका छैनन् । धेरै अभिभावकमा आफ्ना बालबालिकाको जति इन्टरनेट प्रविधि र कम्युटरको ज्ञान तथा सीप छैन । आफ्ना बालबालिकाले इन्टरनेट प्रयोग गर्दा अनुभव गरेका नकारात्मक कुराप्रति अभिभावको खासै ध्यान गएको देखिँदैन । बाल शोषण र दुर्व्यवहार हुन नदिन सबैभन्दा बढी अभिभावक नै जिम्मेवार हुनुपर्छ । इन्टरनेटबाट बाल शोषण र दुर्व्यवहार हुने भएकाले पनि अभिभावकले बालबालिकाका गतिविधि निरीक्षण गर्न आवश्यक छ ।
यसका लागि मोबाइल तथा ल्यापटपमा ‘प्यारेन्टल कन्ट्रोल’ एउटा विकल्प हुन सक्छ । यसका साथै बालबालिकाका प्रत्येक गतिविधि अभिभावकले अध्ययन गर्नु जरुरी हुन्छ । अनलाइनमा कुनै कुराले असर पारेको छ भने उसको अफलाइन व्यवहारमा पनि कुनै नै कुनै संकेत देखिएको हुन सक्छ । यस्ता गतिविधि समयमा नै निराकरण गर्न सकियो भने संभावित क्षतिबाट जोगाउन सजिलो हुन्छ । अभिभावका साथै सरकारले पनि यो विषयमा संवेदनशील हुन उतिकै जरुरी छ ।
#नेपाललाइभबाट
।