बाँके । अपहरण र बलात्कारको मुद्दामा फसाइदिने भन्दै एक व्यक्तिलाई बन्धक बनाएर रकम असुलेको अभियोगमा बाँकेमा दुई प्रहरी र एक युवती पक्राउ परेका छन् । उनीहरुविरुद्ध नेपालगन्जको एकलैनी बस्ने अन्सारी थरका एक व्यक्तिलाई होटलमा बोलाई बन्धक बनाएर पाँच लाख रुपैयाँ फिरौती लिएको अभियोगमा जिल्ला अदालत बाँकेमा मुद्दा दायर भएको छ ।
पक्राउ पर्नेमा संघीय प्रहरी इकाई कार्यालयमा कार्यरत प्रहरी जवान ओमप्रसाद आचार्य, दंगा नियन्त्रण प्रहरी गण बाँकेमा कार्यरत प्रहरी जवान जगदीश बोहरा र बाँकेको बैजनाथ गाउँपालिका–४ की २६ वर्षीया श्रोती हमाल रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।
अन्सारीलाई बन्धक बनाएर फिरौती लिएको अभियोगमा तीनै जनाविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दा चलाइएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको प्रहरीले बताएको छ । पक्राउ परेका तीनै जनालाई अनुसन्धानका लागि जिल्ला अदालत बाँकेबाट ६ दिनको म्याद थपिएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको बाँकेका प्रहरी प्रमूख एवं प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए ।
।