सूचनाको शक्ति - The Power Of Information

        

बाँके क्षेत्र नं.३ मा प्रतिष्पर्धीविहीन नन्दलाल !


भेषराज बस्नेत/बाँके । बाँके क्षेत्र नं.३ मा वाम गठबन्धनका उम्मेदवार नन्दलाल रोकाय प्रतिष्पर्धीविहीन देखिएका छन् । बाँकेमा कम्युनिष्टको किल्लाको रुपमा परिचित क्षेत्र नं.३ मा नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त वामगठबन्धनले जनमत एक्लौटी जस्तै बनाइदिएको छ । स्थानीय तहको मतलाई आंकलन गर्ने हो भने बाँके क्षेत्र नं. ३ मा बाम गठबन्धन ११ हजारले अगाडि देखिएको छ । यस क्षेत्रमा नेपाली काँग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीको लोकतान्त्रिक गठबन्धनबाट वादशाह कुर्मी, राजपाका महमुद हसन अन्सारी, फोरम नेपालका मनोजकुमार दिक्षित, नयाँ शक्तिका वीरेन्द्र पुन, राजमोका मनबहादुर भण्डारी, नेमकिपाका नगेन्द्र बहादुर बुढाक्षेत्री, देशभक्त गणतान्त्रिक मोर्चाका मुकुन्दसिंह वली उम्मेदवार रहे पनि वाम गठबन्धनका रोकायसँग प्रतिष्पर्धा देखिँदैन ।
आफ्नो पक्षमा वहुमत देखिए पनि वाम गठबन्धनका उम्मेदवार रोकाय चुनावी प्रचार प्रसारलाई तिव्र पारेका छन् । जनताको घरदैलोमा पुगेर मत मागिरहेका छन् । संंयुक्त वामगठबन्धन निर्वाचन परिचालन समितिले आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा उम्मेदवार रोकायले बर्षौदेखि यहि क्षेत्रमा राजनीतिक अगुवाई गर्दै आएको बताउदै सबैखालका समस्यासँग परिचित रहेका कारण समाधानका लागि नेतृत्व लिने बताए । उनले भने, ‘हामीहरु तपाईहरुको ज्युदाका जन्ती र मर्दाका मलामी हौं, निर्वाचन जितेर गए पनि यहि क्षेत्रमा रहेर विकास निर्माणको अगुवाई गर्नेछौं ।’ रोकायले सडक कालोपत्रेलाई मुख्य प्राथमिकता दिएको बताउदै पुल, कल्भर्ट, कटान नियन्त्रण, सिँचाई, कृषिमा आधुनिकीकरण लगायत आफुहरुको प्राथमिकतामा रहेको बताए ।
रोकायलाई नेकपा एमालेभित्र मात्र होइन बाँकेमा अन्य राजनीतिक दल र सबै क्षेत्रबाट अधिक सम्मानका दृष्टिले हेर्ने गरिन्छ । रोकाय जिल्लाका नेताहरुमध्ये सरल, सोझा, निष्कलंक, कुनै दाग नलागेका र त्यागी नेताको रुपमा सम्मानित छन् । पार्टी नीति र नेताप्रति बिशेष सम्मान गर्ने रोकाय युुवा पुस्ताप्रति निकै आशावादी देखिन्छन् । प्रतिनिधि सभा क्षेत्र नं. ३ मा नेपालगन्जको वडा नं. १६ र १७ तथा जानकी, खजुरा र बैजनाथ गाउँपालिका रहेका छन् । कुल २४ वटा वडा रहेको उक्त क्षेत्रमा एमालेका वडा अध्यक्षले २१ हजार २००, माओवादी केन्द्रले १४ हजार ४०० मत प्राप्त गरेको थियो । यस क्षेत्रमा कांग्रेसले १६ हजार ९००, राप्रपाले ३ हजार ४०० र फोरम लोकतान्त्रिकले १ हजार ६०० मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ । यहाँ संघीय समाजवादी फोरमको २ हजार ५०० मत रहेको छ ।
स्थानीय तह निर्वाचनको मत परिणामलाई हेर्दा एमाले–माओवादी गठबन्धनको ३५ हजार ६०० र कांग्रेस सहितका दलले २४ हजार ४०० मत पाएको तथ्यांकले देखाउँछ । यस क्षेत्रमा बाम गठबन्धनको मत कांग्रेस गठबन्धनको भन्दा ११ हजार २०० बढी देखिन्छ । २०७० सालमा भएको संविधानसभा निर्वाचनमा एमालेले खाता मात्रै खोलेन जिल्लाका चार मध्ये तीन निर्वाचन क्षेत्रमा सफलता प्राप्त समेत ग¥यो । एमालेले बाँकेमा पाएको सफलतालाई तत्कालिन जिल्ला अध्यक्ष रोकायको सफलतासँग जोड्ने गरिएको छ । नेकपा एमाले बाँकेका अध्यक्ष एवम् पार्टी समायोजन समिति बाँकेका संयोजक अशोक कोईरालाले क्षेत्र नं. ३ मा वाम गठवन्धनको जीत कसैले रोक्न नसक्ने दावी गर्दै उनले भने, ‘क्षेत्र नं. ३ मा वाम गठवन्धनका उम्मेदवार रोकायको जितमात्रै होईन अरु उम्मेदवार प्रतिष्पर्धीनै बन्न सक्दैनन् ।’

प्रकाशित मिति : ३० कार्तिक २०७४, बिहीबार ०६:५६