सूचनाको शक्ति - The Power Of Information

        

एकता हुन नदिने प्रवृति नै अन्तरघात : सभापति देउवा

नेपालगन्ज । नेपाली काँग्रे्रसका सभापति शेरबहादुर देउवाले पार्टीमा एकता हुन नदिने मूल प्रवृति नै अन्तरघात भएको बताएका छन् । जननायक बिपी कोइरालाको १०५ औँ जयन्तीका अवसरमा नेपालगन्जमा आयोजित ‘नेतृत्व विकास तथा सामूहिक सौदाबाजी’ विषयक अन्तरक्रिया एवं प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै सभापति देउवाले यस्तो बताएका हुन् ।
पार्टीभित्रको अन्तरघात प्रवृतिलाई सबै मिलेर निरुत्साहित गर्नुपर्नेमा जोड दिँदै उनले भने, ‘बिपी कोइरालाले थिति बसाएको पार्टीमा अहिले बेथिति बढेको छ, अनुशासनमा नबस्ने प्रवृति मौलाएको छ, स्वार्थी जमातको वर्चश्व क्रमशः हाबी हुँदै गएको छ, म अब चुप लागेर बस्दिन । यस्ता प्रवृति भएका कार्यकर्तामाथि निष्काशनसम्मको कारवाही हुन्छ ।’
सभापति देउवाले भने, ‘हामी अरुका कारणले चुनाव हारेका होइन, आफ्नै कारणले हारेका हौँ । आफ्नाले नै दुश्मन देख्ने प्रवृति हारको कारण बन्यो ।’ उनले वर्तमान सरकार मुलुकका सबैखाले संरचना भत्काउने षडयन्त्रमा लागेको आरोप लगाए ।
लोकतान्त्रिक पद्दतीको वाटो बिराउदै जानेको आयु छोटो हुन्छ भन्ने कुरा सरकार सञ्चालनकर्ताले बुझ्नुपर्ने उनको भनाइ थियो । नेपाल ट्रेड युनियन काँग्रेस बाँकेले आयोजना गरेको कार्यक्रमका सहभागिलाई महामन्त्री डा शशांक कोइराला, केन्द्रीय सदस्य डा रामशरण महत लगायतका नेताले प्रशिक्षण दिनुहुने बताइएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०७५, सोमबार ०७:१६