सूचनाको शक्ति - The Power Of Information

        

किन बढ्यो मुख्यमन्त्री पोखरेल र प्रधानमन्त्री ओलीबीच अविश्वासको दुरी ?


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका अति निकट र विश्वासी नेता हुन् प्रदेश नम्वर ५ का मुख्यमन्त्री शंकर पोखरेल । ओलीलाई पार्टी अध्यक्षदेखि प्रधानमन्त्रीसम्मको यात्रा गराउन निकै ठुलो मेहेनत गरेको पोखरेल विश्वासको संकटमा परेका छन् । ओलीले पनि मुख्य सल्लाह पोखरेलबाटै लिने गरेका थिए । तर मुख्यमन्त्रीहरुको पोखरा भेलापछि प्रधानमन्त्री आक्रोसित बनेका छन् ।
प्रधानमन्त्री ओलीलाई भेट्न पोखरेलका लागि जतिबेला पनि बालुवाटार खुल्लै थियो । तर मुख्यमन्त्रीको भेलापछि बालुवाटारको ढोका केही दिनदेखि बन्द छ । पोखरेलले प्रधानमन्त्री ओलीलाई भेट्न बारम्वार प्रयास गरेका छन् तरपनि भेट पाउन सकेका छैनन् । केन्द्र सरकारले सवै अधिकार आफ्नै मुठ्ठिभित्र राख्यो भन्दै ६ प्रदेशका मुख्यमन्त्री पोखरामा भेला भएका थिए ।
भेलाको आयोजना गर्ने गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुड पनि ओलीको ब्ल्याक सूचिमा परेका छन् । मुख्यमन्त्रीको भेलाबाट आफुलाई घेराबन्दी गर्न खोजिएको आशंका गर्दै प्रधानमन्त्री ओली रुष्ट बनेका हुन् । नेकपाका प्रभावशाली नेतासमेत रहेका पोखरेल र प्रधानमन्त्री ओलीबीच पोखरा भेला भइरहेका बेला टेलिफोन संवाद भएको थियो । टेलिफोनमै प्रधानमन्त्रीले असन्तुष्टी पोखेपछि उनले ७ बुँदेमा हस्ताक्षर नै नगरी काठमाडौं फर्किए ।
काठमाडौं फर्किएलगतै प्रधानमन्त्रीलाई भेट्न खोजेका थिए तर भेट पाउन सकेका छैनन् । मुख्यमन्त्रीहरुले भेला गरी आफुलाई दवाव दिन खोजेको स्पष्ट संकेत पाएपछि ओलीले अन्तर प्रदेश परिषदको पहिलो बैठक नै अनिश्चितकालका लागि स्थगित गरिदिएका छन् । बैठक आइतवार बोलाइएको थियो । बैठकमा सहभागि हुन मुख्यमन्त्रीहरु काठमाडौं आइसकेका थिए तर प्रधानमन्त्रीको आदेशमा उनीहरुलाई स्थगितको पत्र थमाइएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०७५, सोमबार ०६:४३