बाँके । जनसंख्याको बढ्दो चाँपसँगै बाँके जिल्लामा ट्राफिक व्यवस्थापन गर्न ट्राफिक प्रहरीलाई हम्मेहम्मे पर्ने गरेको छ । जनसंख्याको अनुपातमा ट्राफिक प्रहरीको संख्या न्यून हुँदा ट्राफिक व्यवस्थापनमा कठिनाई भइरहेको छ । बाँकेमा सहरी क्षेत्रको विकाससँगै सवारी साधनको चाप बढ्दै क्रममा रहेको छ ।
जनसंख्याको अनुपातमा ट्राफिक प्रहरीको दरबन्दी अभाव छ । दरबन्दी अभावकै कारण अहिले बाँकेको ट्राफिक व्यवस्थापन काजमा आएका ट्राफिकको भरमा रहेको छ । २४ जनाको दरबन्दी रहेको बाँकेमा अन्यत्रै दरबन्दी भएका ३१ जना काजमा आएका छन् । यसले बाँकेको ट्राफिक व्यवस्थापन काजमा आएका ट्राफिक प्रहरीको भरमा चलिरहेको छ ।
‘काजमा आएका ट्राफिक प्रहरी कतिबेला काज फिर्ता लिएर जान्छन् भन्ने टुंगो छैन,’ जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमूख प्रहरी निरिक्षक हिरेन्द्र रोकाय भन्छन्, ‘काज फिर्ता भए व्यवस्थापनमा थप कठिनाई हुन्छ ।’ जनसंख्या वृद्धिदर उच्च रहे पनि दरबन्दी थप नहुँदा ट्राफिक व्यवस्थापनमा समस्या भएको उनको भनाई छ ।
ट्राफिक प्रहरीलाई शहरोन्मुख क्षेत्रहरु खजुरा, कोहलपुर, शम्सेरगन्ज लगायतका क्षेत्रका साथै पूर्वपश्चिम राजमार्गको ७० किलोमिटर क्षेत्रमा पनि ट्राफिक व्यवस्थापन गर्नु परिरहेको छ । ‘बढ्दो जनसंख्यासँगै सोही अनुपातमा चल्ने सवारीको संख्या हेर्ने हो भने बाँकेमा कम्तीमा ८० जना ट्राफिक प्रहरीको दरबन्दी आवश्यक छ,’ प्रहरी निरिक्षक रोकायले भने ।
ट्राफिक प्रहरीमा दरबन्दी संख्या न्यून हुनु, सवारीको बढ्दो चाप तथा सवारी नियम उल्लङ्घनजस्ता प्रवृत्तिले बाँकेको ट्राफिक व्यवस्थापन निकै जटिल एवम् चुनौतीपूर्ण बन्दै गएको हो । बाँकेमा ४५ हजारको हाराहारीमा दैनिक सवारी साधन गुड्ने ट्राफिक प्रहरीको अनुमान छ । सवारी साधनको यो संख्यालाई हेर्ने हो भने एक जना ट्राफिक प्रहरीलाई करिब ८२० वटा सवारी साधन हेर्नुपर्ने हुन्छ ।
‘थोरै जनशक्तिका कारण समस्या भएको छ,’ प्रहरी निरिक्षक रोकाय भन्छन्, ‘सवारी चालक अनुमतिपत्र, ब्लुबुक चेकजाँचलगायत सवारी नियम उल्लङ्घन चेकजाँच कार्यमा जनपद प्रहरीले सघाउँदा केही सहज भइरहेको छ ।’ सवारी साधनको वृद्धिदर उच्च रहेसँगै ट्राफिकमैत्री पूर्वाधार नहुँदा बाँकेको ट्राफिक व्यवस्था झन जटिल बन्दै जाने ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
भाडाका घरमा ट्राफिक प्रहरी
ट्राफिक प्रहरी कार्यालय बाँके र ट्राफिक प्रहरी पोष्ट कोहलपुर (साविकको मध्यपश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय) बाहेक ११ वटा ट्राफिक प्रहरी पोष्ट भवन अभावमा सञ्चालन भइरहेका छन् । स्थानीयहरुको सहयोग र आन्तरिक श्रोत परिचालन गरेर भाडाका घरबाट ट्राफिक प्रहरी पोष्ट सञ्चालन भइरहेका छन् ।
ट्राफिक प्रहरी पोष्ट नेपालगन्ज (बसपार्क) फुल्टेक्रा, गनापुर, शम्सेरगन्ज, कुसुम, सम्झना, धनौली, मदनचोक, कोहलपुर (चप्परगौडी), कोहलपुर (हाइस्कुल) र चिसापानीको आफ्नै भवन नहुँदा भाडाका घरबाट सञ्चालन गर्नु परिरहेको प्रहरी निरिक्षक रोकायले बताए । उनले भने, ‘स्थानीयबासीको सहयोगका कारण घरभाडा लगायत ट्राफिक व्यवस्थापनको काम सहज भएको छ ।’
।