काठमाडौं । यातायात व्यवस्था विभागले गृहकार्य नगरी देशभरका सबै यातायात व्यवस्था कार्यालयबाट ‘स्मार्ट लाइसेन्स’ दिने निर्णय गरेपछि सेवाग्राही एक वर्षभन्दा बढी समय कुर्न बाध्य भएका छन् ।
हाल दैनिक चार हजार ‘स्मार्ट लाइसेन्स’ को माग छ । विभागले भने एक हजार ४०० मात्र छाप्ने गरेको महानिर्देशक लावण्यकुमार ढकालले बताए । यसले गर्दा सेवाग्राही एक वर्षदेखि ‘स्मार्ट लाइसेन्स’ को पालो कुरेर बसेका छन् ।
‘मद्रास सेक्युरिटी प्रिन्टर्सले उपलब्ध गराएका आठ छाप्ने यन्त्रमध्ये हाल चार वटाले काम गरेको र चारको अवधि सकियो, यसको मर्मत गर्नुभन्दा नयाँ किन्न सस्तो पर्छ, चार वटा यन्त्रले छापेको ‘स्मार्ट लाइसेन्स’ १६ वटा कार्यालयबाट वितरणको निर्णय गरिँदा सेवाग्राही मर्कामा परे,’ उनले भने । विभागले गत वर्ष साउनदेखि १६ कार्यालयबाट ‘स्मार्ट लाइसेन्स’ सेवा शुरु गरेको हो ।
उपत्यकाका तीन कार्यालयले भने यो सेवा २०७२ मङ्सिरदेखि शुरु गरेका थिए । एउटा यन्त्रको क्षमता एक लाखसम्म छाप्ने हुने महानिर्देशक ढकालको भनाइ छ । लामो समय पर्खनुपर्ने समस्या समाधानका लागि विभागले ‘मास प्रिन्टर’ को बोलपत्र आह्वान गर्ने तयारी गरेको छ । तीन महिनामा ‘मास प्रिन्टर’ आएपछि दैनिक १० हजारसम्म ‘स्मार्ट लाइसेन्स’ छापिने उनले सुनाए ।
यन्त्र किन्न अनुमानित रु पाँच करोड लाग्ने विभागले जनाएको छ । विभागले हालसम्म साढे तीन लाख ‘स्मार्ट लाइसेन्स’ छापी सकेको छ । सेवाग्राहीले लामो समय कुर्नुपर्ने समस्या समाधानका लागि ‘आउट सोर्सिङ’ बाट ‘स्मार्ट लाइसेन्स’ छाप्ने प्रस्ताव भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रिपरिषदमा लैजाने तयारी पनि गरेको छ ।
‘स्मार्ट लाइसेन्स’ लिन एक वर्षदेखि पाँच पटकसम्म काठमाडौँ आउजाउ गरिरहेको नारायणघाटका राजेन्द्र कार्कीले गुनासो गरे । निश्चित समय तोकेर बोलाएको भए पटक पटक आउजाउ गर्नुनपर्ने उनको भनाइ छ । विभागले ‘स्मार्ट लाइसेन्स’ का सेवाग्राहीलाई पटकपटक तारिख दिने गरेको छ । रासस
।