सूचनाको शक्ति - The Power Of Information

        

‘नेपालमा दैनिक तीन जना बलात्कार’


काठमाडौं । बलात्कारका विभिन्न प्रकारका घटना बढीरहेका छन् । बाबुबाट छोरी, काकाबाट भतिजी, मामाबाट भान्जी, प्रेमीबाट प्रेमिका, सामुहिक, ब्ल्याकमेलिङमा बलात्कारका उजुरी प्रहरीमा थामिनसक्नु हुन थालेको छ । त्यसैले एउटा अध्ययनले भन्छ, नेपालमा दैनिक तीन जना बलात्कारमा पर्छन् ।
नेपाल प्रहरीमा अब बलात्कारका यस्ता उजुरीमात्र परेका छैनन् । पत्नीले पतिविरुद्ध बलात्कारका उजुरी समेत दिन थालेका छन् । समाजको चेतनाको चित्रले बिचित्र मुद्दाहरू पनि पाउन थालेको छ । यो क्रम दशकयता बढ्न थालेको तथ्यांकहरूले देखाउँछ ।
इलाका प्रहरी कार्यालय बिर्तामोडले गत महिना वैवाहिक बलात्कारको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ । २२ वर्षीया पत्नीको उजुरीका आधारमा २७ वर्षीय उनी पक्राउ परेका हुन् । पक्राउ परेका उनलाई प्रहरीले इलाका प्रहरी कार्यालय बितामोडमा राखेर अनुसन्धान गरिएको थियो ।
आफ्नो श्रीमानले इच्छा विपरीत यौनसम्पर्क गरेको भन्दै ती महिलाले वैवाहिक बलात्कारमा मुद्दा दर्ता गराएको प्रहरीले जनाएको छ । विवाह भएको दुई वर्षपछि ती महिलाले पतिविरुद्ध वैवाहिक बलात्कारमा मुद्दा दर्ता भएको थियो । महिलाले जाहेरीमा लेखेकी छिन्, ‘मेरा पति पाँच सात दिन हराउँछन् र घर आएपछि मेरो सहमति बिनै पटक–पटक जवरजस्ती यौन सम्वन्ध राख्छन् ।’
यौनसम्पर्क पति र पत्नी दुवैको प्राकृतिक आवश्यकता हो । महिलाले आफ्नो यौनअधिकार प्रति सचेत हुने र पुरुषले पनि बिहे गर्ने बित्तिकै पत्नीमाथि यौनअधिकार जमाउन पाइन्छ भन्ने नसोचे दाम्पत्यजीवन सुखी र दिगो हुने मानिन्छ । बर्दियामा पहिलो पटक पतिविरुद्ध पत्नीले बलात्कारको मुद्धा दर्ता गराइन् ।
बर्दियाको ठाकुरवावा नगरपालिका वार्ड १ सिंहवाहिनि निवासी ३६ बर्षिय तारादेवी बोहराले पतिविरुद्ध दिनहुँ यातना दिने र बलात्कार गरेको भन्दै उजुरी दिएकी थिइन् । पतिले मापसे गरेर दिनहु कुटपिट गर्ने शारिरीक यातनासगै जबरजस्ती करणी गरेको उजुरीमा उल्लेख थियो । २०५३ सालमा विवाह बन्धनमा बाधिएका तारा र कालिवहादुरका ४ छोरी र १ छोरा रहेका छन् ।
यी प्रतिनिधि घटनामात्र हन् । गत बर्ष आएका कतिपय जबरजस्ती करणीका उजुरी मध्ये २२ वटा पत्नीले पतिविरुद्ध दिएको प्रहरीले जनाएको छ । ‘त्यसैले हामीले यस्ता घटनालाई विशिष्ट प्रकारको अपराध भन्ने गरेका छौं । जहाँ प्रहरी घटना हुनुपूर्व पुग्ने कुनै आधार हुँदैन’, प्रहरी प्रवक्ता शैलेश थापा भन्छन्, ‘बाबुछोरी, पतिपत्नी, काकाभतिजी लगायतबाट हुने जबरजस्ती करणीका घटना बढेका छन् ।’
घटनापछि उजुरीका आधारमा मात्र प्रहरीले छानबिन गरी दोषीलाई अदालतसम्म पुराउने हो । आम भाषामा भनिने बलात्कारलाई प्रहरीले आफ्नै भाषामा व्याख्या गरेको छ । खासगरी जबरजस्ती करणीका घटना ज्यादा हुने गरेको प्रहरीको विश्लेषण छ । गत बर्ष प्रहरीसम्म उजुरी परेका १ हजार ४८० जबरजस्ती करणकीका मुद्दामा १ हजार ३६६ जना अभियुक्तलाई अदालतसम्म पुराइएको छ ।
‘प्रहरीले काम नगरेको भन्नेहरूले तथ्यांकलाई नियाल्नुुपर्छ । केही मुद्दामा अनुसन्धान जारी छन् केहीका अभियुक्त फरार भएकाले खोजी कार्य जारी छ,’ एसएसपी थापा भन्छन्, ‘बलात्कारको तथ्यांक उजुरीका आधारमा आउने हो । यसलाई सकारात्मक हिसाबले हेर्ने हो भने समाजको चेतनास्तरमा आएको परिवर्तन पनि मान्न सकिन्छ । खासगरी महिला दिदीबहिनीमा प्रहरीकहाँ उजुरी दिनुपर्छ, पीडामा बस्नुहुन्न भन्ने जागरण पनि बढ्यो । यसकारण यो ग्राफ बढेजस्तो देखिन्छ ।’
कहिलेकाहीँ प्रहरी अधिकारी बलात्कार प्रकरणमा मुद्दा दबाउने, मिलापत्र गराउनेजस्ता विषयको विवादमा पनि तानिने गरेका छन् । त्यस्ता प्रहरी कर्मचारीलाई नेतृत्वले कडाईका साथ कारवाहीको भागीदार बनाइसकेको बताएका थापा थप्छन, ‘प्रहरी संगठनका कुनै पनि कर्मचारी मिलापत्र वा यस्ता घटनाको साक्षी बनिदिने कामलाई नीतिगत तहदेखि नै कडाईका साथ हेरिएको छ । प्रहरी कर्मचारीको संलग्नता हुँदैन भन्ने छैन, विभिन्न समयमा २ हजार २६६ जनालाई विभिन्न विषयमा संलग्न भएको अभियोगमा विभागीय कारबाही पनि भइसकेको छ ।’

प्रकाशित मिति : १७ भाद्र २०७५, आइतवार ०८:४२