सूचनाको शक्ति - The Power Of Information

        

राष्ट्रपति सिरिसेनालाई प्रधानमन्त्री ओलीले दिए ‘घन’ !

‘घन’ दिएर श्रीलङ्कालाई बिमस्टेकको अध्यक्षता हस्तान्तरण गर्दै प्रधानमन्त्री ओली ।


काठमाडौं । शिखर सम्मेलनको अध्यक्षता गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले जब बुधबार बिहान बिमस्टेकको अध्यक्षता श्रीलङ्काली राष्ट्रपति मैथ्रिपाला सिरिसेनालाई हस्तान्तरण गरे, कार्यक्रम गम्भीर भएपनि त्यहाँ एकाएक हाँसो गुञ्जियो । कारण थियो, अध्यक्षको जिम्मेवारीको रुपमा ओलीले सिरिसेनालाई दिएको घन ।
चार बर्षअघि नेपालले पाएको अध्यक्षता श्रीलङ्कालाई कसरी हस्तान्तरण गर्छ भन्ने कुरा ओली लगायत सम्मेलनमा आआफ्नो मुलुकको नेतृत्व गरेका बिमस्टेक राष्ट्रका शीर्ष नेताहरुलाई पनि थाहा थिएन । त्यसैले, कसरी अध्यक्षको जिम्मेवारी हस्तान्तरण गरिएला भन्ने सबैमा चासाको विषय थियो । तर, जब जिम्मेवारी हस्तान्तरणको बेला आयो, आफूसँग रहेको कालो रंगको घन श्रीलङ्काली राष्ट्रपति सिरिसेनालाई हस्तान्तरण गरे ।
आफ्नो राष्ट्रले पाएको बिमस्टेकको अध्यक्षताको जिम्मेवारी स्वरुप ओलीले घन दिएपछि हस्तान्तरण कार्यक्रमका अन्य पाहुनाहरु त हाँसे नै, ओली र सिरिसेना पनि हाँसे । खासमा अध्यक्षताको हस्तान्तरणको समयअघि के दिएर जिम्मेवारी हस्तान्तरण गरिन्छ भन्ने बिमस्टेकका राष्ट्रप्रमुखहरुलाई जानकारी थिएन । तर, संयुक्त राष्ट्रसंघका सेसनहरुमा चाहिँ बैठकमा प्रयोग गरिएको घन दिएर आफ्नो उत्तराधिकारीलाई जिम्मेवारी हस्तान्तरण गर्ने चलन छ ।
बैठक सञ्चालनको लागि भनेर सम्मेलनका अध्यक्ष प्रधानमन्त्री ओलीसँग घन भएपनि बैठक अवधिभर त्यसको प्रयोग गर्नुपरेन । किनभने, प्रतिकात्मक रुपमा उनी बैठकको अध्यक्ष हुन् भन्ने बुझाउनमात्र उनको साथमा त्यसलाई राखिएको थियो । अध्यक्षता हस्तान्तरण त्यही घन दिएर गर्नु उपयुक्त हुने सुझाव परराष्ट्र मन्त्रालयका अधिकारीहरुले दिएका थिए ।
चार बर्षअघि म्यानमारको राजधानी न्या पितमा भएको बिमस्टेक राष्ट्रको तेस्रो सम्मेलनपछि नेपालले बिमस्टेकको अध्यक्षको जिम्मेवारी पाएको थियो । त्यो सम्मेलनमा नेपालको नेतृत्व तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाले गरेका थिए भने परराष्ट्रमन्त्रीका रुपमा महेन्द्रबहादुर पाण्डे सहभागी थिए । ‘के त्यतिबेला म्यानमारले नेपाललाई त्यही घन दिएर अध्यक्षको जिम्मेवारी हस्तान्तरण गरेको हो ?’
प्रश्नमा तत्कालिन परराष्ट्रमन्त्री पाण्डेले भने, ‘त्यो बेला बैठकका लागि घण्टी प्रयोग गरिएजस्तो लाग्छ । मलाई ठ्याक्कै सम्झना त छैन । तर त्यो बेला फाइल दिएर जिम्मेवारी हस्तान्तरण गरिएजस्तो लाग्छ ।’ परराष्ट्र मन्त्रालयका अधिकारीहरु चाहिँ घन दिएर जिम्मेवारी हस्तान्तरण गर्नुलाई सबै भन्दा उपयुक्त विधि ठान्छन् । ‘संयुक्त राष्ट्रसंघमा बैठक सञ्चालनार्थ प्रयोग हुने घन नै हस्तान्तरण गर्ने प्रचलन छ,’ मन्त्रालयका एक अधिकारीले भने, ‘नेपालले पनि यसरी नै हस्तान्तरण गरेकोमा राम्रो सन्देश गएको छ, सबैले यसको प्रसंशा गरेका छन् ।’

प्रकाशित मिति : १५ भाद्र २०७५, शुक्रबार ११:५७