बाँके । हस्तान्तरण नहुँदै चारलेनमा खाल्डाखुल्डी परेर सडक भत्किन थालेपछि नेपालगन्ज उपमहानगरपालिकाले मर्मत थालेको छ । पप्पु कन्स्ट्रक्सनले कमसल निर्माण सामग्री प्रयोग गरेर कालोपत्रे गरेसँगै भत्किन सुरु गरेको सडक हालसम्म पनि हस्तान्तरण भएको छैन ।
सडक भत्किन थालेपछि नेपालगन्ज उपमहानगरपालिकाका कार्यवाहक मेयर प्रमोद रिजालले मंगलबार नै सुर्खेत रोडमा रहेका खाल्डाखुल्डी पुर्ने निर्णय गर्नुभएसँगै दिउँसोदेखि खाल्डाखुल्डी पुर्न सुरु गरिएको छ । वीपीचौकमा रहेको खाल्डो मेयर रिजालको अग्रसरतामा खानेपानी कार्यालयसँगको समन्वयमा पुरिएको छ ।
खाल्डाखुल्डी पुर्नका लागि निर्माण सामाग्री ल्याउन सुरु गरिएको छ । आज पनि विहान ८ बजेदेखि सम्पूर्ण खाल्डाखुल्डी पुर्न सुरु गरिने कार्यवाहक मेयर रिजालले बताए । ‘खाल्डाखुल्डीकै कारण सडक दुर्घटना बढ्न थालेपछि उपमहानगरपालिका सडक मर्मतमा लुटेको हो,’ उनले भने ।
फोरलेन सडकको बीचमा साना ठूला गरेर चार दर्जन बढी खाल्डाखुल्डी रहेका छन् । बीच बाटोमा रहेका खाल्डाखुल्डीलाई लिएर यात्रु र स्थानीयवासीको हैरानी र आक्रोश पोखे पनि यसअघि कुनै वास्ता गरिएको थिएन । नेपालगन्ज–१ का वडाध्यक्षसमेत रहेका रिजाल पनि समस्याका बारेमा विज्ञ नै रहेका थिए । तर सोमबारको बोर्ड बैठकबाट उपमहानगरपालिकाको प्रवक्ता तोकिएका रिजालले मंगलबारदेखि कार्यवाहक मेयरको जिम्मेवारी पाएसँगै खाल्डाखुल्डी पुर्ने अभियानमा लागेको बताए । उनले भने, ‘जिम्मेवारी आएपछि काम गर्ने हो, पहिले जिम्मेवारी थिएन, अहिले जिम्मेवारी आयो, काम सुरु गरे ।’
कार्यवाहक मेयरको जिम्मेवारी पाएलगत्तै उपमहानगरका इन्जिनियर सुरज शर्मालाई लिएर जमुनाहादेखि राँझासम्मको खाल्डाखुल्डी हेर्दै र नाप्दै हिडेका रिजालले भने, ‘बीच सडकका खाल्टाहरु जोखिमपूर्ण छन् । थोरै खर्चमै गर्न सकिने यस्ता काम नगर्दा दुर्घटना निम्तिन सक्छ । इच्छाशक्ति भए सानातिना काम गर्न समस्या हुँदैन ।’
इन्जिनियर शर्माका अनुसार रु.१ लाख हाराहारीकै रकमले खाल्डाखुल्डी पुर्न सकिने देखिएको छ । नेपालगन्जमा फोरलेन सडक निर्माणको जिम्मा पाएको पप्पु कन्स्ट्रक्सनले गुणस्तरहीन काम गरेको भन्दै नेपालगन्जबासीले विभिन्न समयमा आन्दोलनसमेत गरेका थिए । नेपालगन्जको सुर्खेतरोडस्थित फोरलेन सडक निर्माण कम्पनीले हस्तान्तरण नगर्दै ठाउँठाउँमा जीर्ण भई आवागमनमा कठिनाई भएको छ ।
।