सूचनाको शक्ति - The Power Of Information

        

कृषि र पशुसेवा ज्ञान केन्द्र स्थापना

बैतडी । जिल्लामा कृषि ज्ञान केन्द्र स्थापना गरिएको छ । प्रदेश नं ७ को सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत रहने गरी उक्त केन्द्र स्थापना गरिएको हो । पुरानो कृषि विकास कार्यालयमा कार्यालय स्थापना गरिएको जेटिए महेश अवस्थीले बताए ।
सोमबार ‘कृषि ज्ञान केन्द्र’को बोर्ड राखिएको छ । कृषकलाई सहयोग पुर्याउने उद्देश्यले बैतडी र दार्चुला हेर्ने गरी सो केन्द्र स्थापना गरिएको निमित्त वरिष्ठ कृषि विकास अधिकृत कर्णबहादुर चन्दले जानकारी दिए । बैतडी र दार्चुलाका स्थानीय तहसँग संयोजन तथा समन्वयको लागि कार्यालय स्थापना गरिएको हो ।
कार्यालयमा वरिष्ठ कृषि विकास अधिकृतको नेतृत्वमा १६ कर्मचारीको दरबन्दी रहनेछ । सो केन्द्रमा माटो परीक्षणलगायत प्रयोगशाला, विज्ञ समूह रहने र हरेक स्थानीय तह तथा कार्यालयसँग समन्वय गरी प्राविधिक सेवा दिइनेछ । दार्चुला र बैतडीलाई हेर्ने गरेर पाटनमा भेटरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पनि सञ्चालनमा आएको छ ।
वरिष्ठ पशु विकास अधिकृत अथवा पशु चिकित्सकको नेतृत्वमा रहने गरेर प्रदेश सरकारमार्फत् कार्यालयको स्थापना गरिएको हो । कार्यालयले स्थानीय तहसँग समन्वय गरेर काम गर्ने साविकको जिल्ला पशु सेवा कार्यालयका पशु प्राविधिक बिसनसिंह बिष्टले जानकारी दिए । रासस

प्रकाशित मिति : १२ भाद्र २०७५, मंगलवार ०६:१३