सूचनाको शक्ति - The Power Of Information

        

औलोको उच्च जोखिम, ४० औलो रोगी भेटिए

बैतडी । पछिल्लो समय यहाँ औलोको उच्च जोखिम रहेको पाइएको छ । तीन वर्षयता औलोका बिरामी बढ्दै गएका जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य सहायक सन्तोष पाण्डेयले जानकारी दिए ।
जिल्लाको तल्लोस्वराड क्षेत्रको मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका विभिन्न वडा औलोको उच्च जोखिममा रहेका छन् । सो क्षेत्रमा गत वर्षदेखि औलोका बिरामी फेला पर्न थालेका छन् ।
‘हालसम्म ४० औलो रोगी भेटिएका छन्,’ पाण्डेयले भने । गतवर्ष ३३ तथा यसवर्ष हालसम्ममा ७ औलो रोगी भेटिएको उनले बताए । विभिन्न स्वास्थ्य संस्थामा उपचारका लागि पुगेका बिरामीको रगत जाँच गर्दा औलो फेला परेको हो ।
केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा आधुनिक प्रयोगशाला सञ्चालनमा आएपछि औलोको बिरामी पत्ता लगाउन सहज भएको ल्याब टेक्निसियन रमेश बोहराले बताए । अहिले रगत जँच्न आउनेको संख्या बढ्दै गएको छ ।
तल्लोस्वराडमा औलो देखिएपछि गर्भवती महिला तथा बालबालिका बढी जोखिममा छन् । त्यहाँ स्थानीयवासीलाई निःशुल्क झुल वितरण गरिएको छ । प्रभावित क्षेत्रमा किटनाशक औषधि छर्किएको छ । लामखुट्टेको टोकाइबाट औलो रोग देखा पर्छ । औलोबाट बच्न लामखुट्टेबाट जोगिनु पर्छ । रासस

प्रकाशित मिति : १२ भाद्र २०७५, मंगलवार ०६:०८