सूचनाको शक्ति - The Power Of Information

        

सैन्य दस्ता निर्माणमा मात्रै एक करोड खर्च !


काठमाडौं । नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले भूमिगतरुपमा सैन्य दस्ता निर्माण गरिरहेको दावी नेपाल प्रहरीले गरेको छ । प्रहरीको दावी छ, उसले सैन्य दस्ताका लागि पोशाक, बन्दोबस्ती र प्राविधिक (हातहतियार र गोलाबारुद) का लागि दुई वर्षमा एक करोड रुपैयाँ खर्च गरेको खुलेको छ ।
बरामद भएको बिप्लब समूहको खाताको आधारमा सैन्य प्रयोजनका लागि एक करोड खर्च भएको खुलेको हो । नेपाल प्रहरीको बिशेष ब्युरोले केही दिनअघि बिप्लबका विभिन्न भुमिगत केन्द्रहरुमा छापा मार्ने क्रममा सो बहिखाता फेला पारेको थियो ।
सो बहिखाता नेपाल प्रहरीको महाराजगन्जस्थित विधिबिज्ञान प्रयोगशालामा परिक्षण भइरहेको छ । स्रोतका अनुसार बरामद भएको खातामा आर्थिक वर्ष २०७३ देखि साउनसम्मको आम्दानी र खर्चको विवरण उल्लेख छ । खातामा यसअवधिमा सात करोड ७५ लाख रुपैयाँ चन्दाबापत उठाएको देखिएको छ ।
त्यसमध्ये एक करोड रुपैयाँ लडाकुको व्यवस्थापनमा खर्च भएको प्रहरीले पत्ता लगाएको छ । प्रहरी स्रोतका अनुसार बरामद खातामा चन्दा बापत आम्दानी भएको उल्लेख छ, जसमा चन्दा दिने ब्यक्ती र संस्थाको नाम समेत उल्लेख गरिएको छ ।
गृहमन्त्री रामबहादुर थापा (बादल) को निर्देशनपछि हिंसात्मक गतिविधिमा संलग्न बिप्लब माओवादी लक्षित आक्रामक कारवाहीमा छ नेपाल प्रहरी । र, उसले बिप्लबको समेत खोजी गरिरहेको छ । स्रोतका अनुसार बिप्लब माओवादीले पछिल्लो समय भौतिक आक्रमण गरेका ठूला व्यवसायिक संस्था र घरानाले ठूलो रकम चन्दा बापत उपलब्ध गराएका छन् ।
सो रकमको व्यवस्थापनको जिम्मा प्रहरी हिरासतमा रहेका खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले पाएका थिए । प्रहरीले प्रकाण्डसहित चारजना पोलिटब्युरो सदस्य, चारजना केन्द्रीय सदस्य र मेची तथा कोशी ब्युरो इन्चार्जलाई पक्राउ गरेर स्थानीय प्रहरीको जिम्मा लगाएको छ ।
पक्राउ पर्नेमा प्रकाण्डसहित पोलिटब्युरो सदस्यहरु कृष्ण धमला, मोहन कार्की, ओमप्रकाश पुन र पदम राई छन् । धमला र कार्कीलाई प्रदेश–३ प्रहरीको जिम्मा लगाइएको छ । राईलाई प्रदेश–१ प्रहरीको जिम्मा दिइएको छ भने पुन उपर अनुसन्धान भइरहेको छ ।
यस्तै केन्द्रीय सदस्यहरु चन्द्रबहादुर खड्का, देवनारायण शाह, टेकबहादुर केसी र दिपेश राई पनि पक्राउ परेका छन् । बिप्लब माओवादीका मेची ब्युरो कमाण्डर सुमन लिम्बु र कोशी ब्युरो कमाण्डर किरण राईलाई पक्राउ गरेर सम्बन्धित क्षेत्रका प्रहरीको जिम्मा लगाइएको छ ।

 

– नेपाल खबरबाट

प्रकाशित मिति : ११ भाद्र २०७५, सोमबार ११:३७