सूचनाको शक्ति - The Power Of Information

        

निर्वाचन भयरहित र शान्तिपूर्ण : प्रधानमन्त्री देउवा


बाँके । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई भयरहित र शान्तिपूर्णरुपमा सम्पन्न हुने बताएका छन् । प्रधानमन्त्री देउवाले निर्वाचनलाई भयरहित र शान्तिपूर्ण बनाउन सबै राजनीतिक दल र आम मतदाताहरुमा आग्रह गरेका छन् । प्रदेश नं. ५ को सुरक्षा भेलालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले निर्वाचनमा चुस्त सुरक्षा व्यवस्था मिलाउन तीन वर्ट निकायका सुरक्षा अधिकारीहरुलाई निर्देशन समेत दिएका छन् ।


प्रधानमन्त्री देउवाले भने, ‘दिन छोटिँदैछन्, चिसो बढ्दैछ । यसकारण मतदातालाई समयमै मतदान गर्ने व्यवस्था मिलाउनुपर्छ । यसमा सुरक्षा निकाय अझ चनाखो र मतदानका क्रममा मतदातालाई विना झण्झट मतदानको व्यवस्था मिलाउनुपर्छ ।’ पश्चिम नेपालको चुनावी अभियानलाई लक्षित गरेर राजधानी बाहिर निस्किएका प्रधानमन्त्री देउवाले प्रदेश नं. ५ मा पर्ने जिल्लाका सुरक्षा र प्रशासनिक निकायका प्रमुखहरुसँग यस क्षेत्रको शान्ति सुरक्षाको अवस्था र आसन्न निर्वाचनका लागि गरिएको सुरक्षा व्यवस्थाका विषयमा जानकारी लिएका छन् ।


सुरक्षा भेलालाई सम्बोधन गर्दै गृह मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले निर्वाचनलाई भयरहित र विश्वसनीय बनाउन सुरक्षा निकायका तीन वटै तहलाई संवेदनशील भएर लाग्न आग्रह गरे । उनले भने, ‘सुरक्षा योजना निकै राम्रा बनेका छन्, तर कार्यान्वयनमा चुनौती देखिएको छ । अझै पनि केही जिल्लाहरुमा सानातिना घटनाहरु घटिरहेका छन् । यसको सुक्ष्मरुपमा छलफल गर्नुपर्छ ।’ सचिव सापकोटाले भयरहित, अवरोधविना मतदानको ग्यारेन्टी गर्नु हाम्रो दायित्व भएकाले त्यसबाट हामी कुनै पनि हालतमा चुक्न नहुने बताउँदै निर्वाचनका लागि भारतसँगको खुला सिमाना, विभिन्न जिल्लामा भइरहेका हिंसात्मक गतिविधि, पार्टीहरुबीच हुन सक्ने झडप मुख्य चुनौतीका रुपमा रहेकाले यस्ता गतिविधि सुरक्षा संयन्त्रहरु सचेत रहनुपर्ने बताए ।

प्रकाशित मिति : २८ कार्तिक २०७४, मंगलवार ०७:५१