बर्दिया राष्ट्रिय निकुञ्जमा बुधबार देखिएको दुर्लभ पाटेबाघ । यहाँका पाटेबाघले पर्यटकलाई लोभ्याएको छ । तस्वीर : नारायण ढुंगाना/रासस
काठमाडौं । आगामी मंसिर १४ गतेबाट नेपालका संरक्षित क्षेत्रमा बाघ गणना गरिने भएको छ । वन विभागका महानिर्देशक मनबहादुर खड्काका अनुसार ‘क्यामरा ट्र्यापिङ’ पद्धतिद्वारा बाघ गणना गरिने भएको हो । करिब दुई हजार अत्याधुनिक प्रविधिका क्यामरा जडान गरी क्यामराले कैद गरेका तस्बिरको अध्ययन गरेर बाघ गणना गरिने उनले बताए । पर्सा वन्यजन्तु आरक्षबाट गणना शुरु गरी चितवन हुँदै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसम्म पुगेर करिब तीन महिनाको अवधिमा बाघ गणना सम्पन्न गरिने छ । बाघ रहेका नेपालका निकुञ्ज, आरक्ष, वन क्षेत्र र तीसँग जोडिएका भारतीय निकुञ्ज एवं वन क्षेत्रमा एउटै प्रक्रियाबाट एकैपटक बाघ गणना गरिने महानिर्देशक खड्काले जानकारी दिए । नेपाल र भारतका सीमा क्षेत्रमा रहेका बाघ नदोहोरिने गरी गणना गरिने छ ।
महानिर्देशक खड्काका अनुसार बाघले आफ्नै क्षेत्र निर्धारण गरेर बस्ने गर्छ । कतिपय बाघ नेपाल र भारतका वन क्षेत्रमा मात्रै रहने भए पनि कतिपयले सीमा क्षेत्रमा दुवै देशको वन क्षेत्रलाई आफ्नो बासस्थान बनाई बसेकाले दुवै देशमा एकैसाथ गणना गर्दा बाघको संख्या नदोहोरिने खड्काले बताए । यसअघि पनि दुवै देशमा एकैसाथ बाघको गणना गरिएको थियो तर प्रविधि पनि एउटै प्रयोग गर्न लागिएको यो पहिलो पटक हो । नेपालको चितवन राष्ट्रिय निकुञ्ज र पर्सा वन्यजन्तु आरक्षसँगै भारतको वाल्मीकि टाइगर रिजर्ब छ । नेपालको बर्दिया राष्ट्रिय निकुञ्जसँगै भारतको कतर्नियाघाट वाइल्डलाइफ सेन्चुरी पर्छ । त्यसैगरी शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँग भारतको दुधुवा टाइगर रिजर्ब जोडिएको छ । दुवै देशको निकुञ्ज, आरक्ष र वन क्षेत्रमा बाघ ओहोरदोहोर गर्ने हुँदा के कति बाघ ओहोरदोहोर गर्छन् भन्ने यकिन गर्न पनि यस पटक दुवैतर्फ एकैपटक बाघ गणना गर्न लागिएको हो ।
यसअघि नोभेम्बर दोस्रो साताबाट बाघ गणना थालिने भनिए पनि निर्वाचनका कारण टुंगो लाग्न सकेको थिएन । सरोकारवालाको बैठकले निर्वाचनको दिनबाहेक अरु अन्य दिनमा काममा अवरोध नहुने देखिएपछि निर्वाचन अघि नै गणना शुरु गर्न लागिएको हो । नेपालमा सन् २०१३ मा बाघको गणना भएको थियो । त्यो बेला देशभर बाघको संख्या १९८ पुगेकामा चितवन निकुञ्जमा मात्र सबैभन्दा धेरै १२० बाघ थिए । चितवन निकुञ्जबाहेक पर्सा, बाँके, बर्दिया र शुक्लाफाँटा निकुञ्जमा बाघ पाइन्छ । पाटे बाघ विश्वबाट लोप हुने अवस्थामा पुगेको दुर्लभ वन्यजन्तु हो । सन् २०१० मा बाघ पाइने विश्वका विभिन्न देशका सरकारी अधिकारीको रुसमा सम्पन्न बैठकले सन् २०२२ सम्म बाघको संख्या दोब्बर पु¥याउने निर्णय गरेको थियो ।
जसअनुसार सन् २०२२ मा नेपालमा बाघको संख्या २५० पुग्नु पर्ने चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले बताए । पाटे बाघ नेपालसहित संसारका १४ देशमा पाइन्छ । नेपाल, भारत, चीन, बंगलादेश, भुटान, बर्मा, कम्बोडिया, इन्डोनेसिया, लाओस, मलेसिया, उत्तर कोरिया, रुस, थाइल्याण्ड र भियतनाममा हाल लगभग तीन हजार ९०० बाघ रहेको तथ्यांक छ । क्यामेरा ट्र्या्पिङ पद्धतिमार्फत बाघको संख्या यकिन गर्ने गरिन्छ । बाघ ओहोरदोहोर गर्ने सम्भावित ठाउँमा स्वचालित क्यामेरा राखिन्छ । बाघ जहाँबाट हिँडडुल गर्छ त्यो क्षेत्रमा दुईतर्फ क्यामेरा राखिन्छ । त्यो क्यामेराको अगाडिबाट बाघलगायत जो गए पनि स्वचालितरुपमा फोटो खिचिन्छ । रासस
।