सूचनाको शक्ति - The Power Of Information

        

गोली लागेर कञ्चनपुरमा दुईको मृत्यु, कर्फ्यु लगाइयो, प्रधानमन्त्रीलाई प्रचण्डको फोन


बाँके । कञ्चनपुरमा आज फेरि गोली चलेको छ । प्रहरीले चलाएको गोली लागेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १४ बर्षिय बालक चेतन भट्ट र अर्का एक जना घाइतेको मृत्यु भएको छ । उनको नाम भने खुलेको छैन ।
गोली लागेर घाइते भएका ८ जनालाई थप उपचारका लागि धनगढी रिफर गरिएको अस्पतालले जनाएको छ । प्रदर्शनकारीले जिल्ला ट्राफिक प्रहरी कार्यालय र त्यहाँको सवारी साधानसमेत तोडफोड गरेपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो । स्थानीय प्रशासनले कञ्चनपुरमा अहिले ८ बजेदेखि भोलि विहान ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ ।
यद्यपि, स्थिति नियन्त्रणमा नआएपछि गोली चलेको केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी शैलेश थापाले जानकारी दिए । निर्मला पन्तको हत्या प्रकरणमा नेता रावलले दिएको अभिव्यक्तिको बिरोध गर्दै नेपाल विद्यार्थी संघले शुक्रबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको अगाडि प्रदर्शन गरेको हो ।
यसअघि बिहीबार पनि आन्दोलनका क्रममा गोली चल्दा ३ जना घाइते भएका थिए । लगत्तै, गृह मन्त्रालय प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र डिएसपीलाई फिर्ता बोलाएको थियो । सरकारले बिहीबार पन्त बलात्कार प्रकरणको छानबिनका लागि सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको छ ।
पन्त बलात्कार प्रकरणमा प्रहरीले घटनाको २५ दिनपछि मुख्य अभियुक्त दिलिपसिंह विष्टलाई सार्वजनिक गरेको थियो । तर, स्थानीयले वास्तविक अपराधीलाई लुकाएर मानसिक सन्तुलन गुमाएका विष्टलाई सार्वजनिक गरिएको भन्दै आन्दोलन चर्काएका थिए ।
मैनाली नेतृत्वको समितिका पदाधिकारीहरू शुक्रबार बिहानै कञ्चनपुर पुगेर अनुसन्धान थालेका छन् । जिल्लास्थित सुरक्षा निकायका अधिकारीहरूको परिवर्तन र उच्च स्तरीय छानबिन समितिको गठनपछि आन्दोलन मथ्थर हुने अपेक्षा गरिएको थियो । यद्यपि, आज शुक्रबार अपरान्ह प्रहरीले गोली नै चलाउनु पर्ने स्थिति सिर्जना भयो ।
शुक्रबार नेकपाका नेता भीम रावल दिएको अभिव्यक्तिविरुद्ध कञ्चनपुरमा प्रदर्शन भएको थियो । विद्यार्थीले नाराजुलुसहित गरेको प्रदर्शन उग्र बनेपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाएको जनाइएको छ । यसअघिको घटनामा पनि आठ प्रदर्शनकारीहरु घाइते भएका थिए । उनीहरुको उपचार भइरहेको छ । गृहमन्त्री रामबहादुर थापाले उनीहरुको उपचार सरकारले गर्ने बताएका थिए ।

प्रधानमन्त्रीलाई प्रचण्डको फोन
यसैबीच, निर्मला पन्तको हत्याबारे छानबिन समिति गठन गर्नुका साथै र सुरक्षा अधिकारीहरुको सरुवापछि कञ्चनपुरको आक्रोश केही मत्थर हुने अपेक्षा थियो । तर, शुक्रबार अपरान्ह प्रहरीको गोलीबाट गोली चल्दा बालकको मृत्यु भयो । यसमा सत्तारुढ दलकै नेता भीम रावलको अभिव्यक्ति पनि कारण बनेपछि नेकपाका नेता तथा सांसद आत्तिएका छन् ।
गोली चलेको खबर पाए लगतै कैलाली र कञ्चनपुरका सांसदहरुले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास पुगेका छन् । घटना भएको क्षेत्र कञ्चनपुर–३ का प्रतिनिधिसभा सदस्य दीपकप्रकाश भट्टका साथै सांसदहरु लेखराज भट्ट, नरबहादुर धामी खुमलटारस्थित प्रचण्ड निवास पुगेका हुन् । उनीहरुले कञ्चनपुर घटनालाई सरकारले गम्भीर रुपमा लिनुपर्ने बताएका थिए ।
लगतै प्रचण्डले पार्टीका सांसद्हरुकै सामुन्ने प्रधानमन्त्री ओलीलाई फोन गरे, जतिवेला मन्त्रिपरिषद् बैठक चलिरहेको थियो । एक सांसद्का अनुसार प्रचण्डले कञ्चनपुर घटना गम्भीर भएकाले उच्चस्तरीय छानबिन समिति बनाउन आग्रह गरे । सहसचिवको नेतृत्वमा समिति गठन गर्नुका साथै प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख सरुवा गरेको थियो । दुबै कार्यक्षेत्रमा पुगेकै दिन आन्दोलनले उग्ररुप लिएको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७५, शुक्रबार १३:५९