बाँके । सडक तथा नालीमा जथाभावी फोहर फाल्ने व्यवसायी तथा संघसंस्थालाई चेतावनीसहित नेपालगन्ज उपमहानगरपालिकाले कारबाही सुरु गरेको छ । नेपालगन्ज–१८ स्थित कारकाँदो चोक आसपासमा सडकमा फोहर फाल्ने व्यावसायीलाई तोकिएको समयमा निश्चित स्थानमा मात्र फोहर फाल्न आग्रह गर्दा पनि अटेरी गर्ने व्यावसायीलाई जरिवाना गरेको छ ।
वडा नं. १८ का वडाध्यक्ष दिपक बर्माको नेतृत्वको टोलीले कारकाँदो चोकमा रहेको होण्डा मोटरसाइकल शोरुमले जथाभावी फोहर फालेको भन्दै पहिलो पटक चेतावनीस्वरुप १५ हजार जरिवाना गरेको छ । ‘हामीले पटकपटक उहाँलाई चेतावनी दिएका थियौं, अटेरी गरेर बाटोमा फोहर फालेपछि पहिलो पटक १५ हजार जरिवाना गरेका छौं,’ वडाध्यक्ष बर्माले भने ।
यज्ञलक्ष्मी ईन्टरप्राइजेजका प्रोपराइटर तथा होण्डा शोरुमका सञ्चालक रविन्सन श्रेष्ठले उपनगरपालिकाले समयमा फोहर नउठाएको भन्दै गुनासो गरे । उनले भने, ‘समयमा फोहर उठाइएन । मेरो शोरुम अगाडि फालिएको फोहर हामीले मात्रै उत्पादन गरेका थिएनौं, शोरुमको माथिल्लो तलामा रहेको नविल बैंकले समेत फोहर उत्पादन गरेका छन् । कारबाही हामीलाई मात्रै गरियो ।’
उपमहानगरले फोहर उठाएर गएपछि फालिदिने, तोकिएको ठाँउमा नफाल्ने, एकैपटक धेरै फोहर ल्याएर थुपारिदिने व्यवसायी, संघसंस्था तथा घरधनीलाई कारवाहीको दायरामा ल्याउने प्रक्रिया सुरु गरिएको वडाध्यक्ष बर्माले जानकारी दिए ।
‘हामीले वडावासी तथा व्वसायीलाई आफुले उत्पादन गरेको फोहर तोकिएको ठाँउमा तोकिएको समयमा मात्र फाल्न भनेको छौं, अटेरी गरे कारबाही गर्छौ,’ उनले भने । घरमा तथा व्यावसायमा उत्पादन भएको फोहर धेरै भएमा बोरामा हालेर तोकिएको स्थानमा मात्रै फाल्न उपमहानगरपालिकाले नगरबासीलाई अनुरोध गरेको छ ।
।