सूचनाको शक्ति - The Power Of Information

        

खोला पार गर्दै गर्दा बाढी आएपछि…


सल्यान । छिन्चु–जाजरकोट सडक खण्ड अन्तरगत सल्यानको बनगाड खोला पार गर्दै गर्दा बाढी आएपछि यात्रुहरु हाम फालेर बच्न सफल भएका छन् । जाजरकोटबाट नेपालगन्जका लागि छुटेको किया गाडी बनगाड खोला पार गर्ने क्रममा बाढी आएर बगाएको थियो ।
सबै यात्रु छिटो छिटो हाम फालेर भागेका थिए । यात्रुको झोला सरसमान भने खोलाले बगाएको छ । गाडी ढुङ्गामा अड्किएपछि खोलाले बगाउन भने सकेन । तत्कालै डोजरको सहायताले खोलामा फसेको गाडी निकालिएको थियो । उक्त खोलामा निर्माणधिन पक्कीपुल यसअघि नै खोलाले बगाइसकेको छ । लामा कन्ट्रक्सन निर्माण कम्पनीले समयमा पुलको काम नगर्दा छिन्चु जाजरकोट सडक खण्डमा उक्त खोलामा दैनिक आवतजावतमा समस्या हुने गरेको यातायात व्यवसायी नन्द पुनको दुखेको छ ।
सो सडक खण्डमा आवतजावत गर्ने सल्यान, सुर्खेत, जाजरकोट, डोल्पा र रुकुमका नागरिकलाई प्रत्यक्ष असर गरेको अर्का स्थानीय मानसिंह धामीको भनाई छ । खोला पार गर्दागर्दा गाडीको इन्जिनमा पानी पसेर इन्जिन नै सिज हुने गरेको छ । खोला बढेपछि यातायातका साधन गन्तव्यमा नपुग्दा सयौं यात्रुहरु बाटोमै अलपत्र पर्ने गरेका छन् ।

प्रकाशित मिति : ८ भाद्र २०७५, शुक्रबार ०२:०८