सूचनाको शक्ति - The Power Of Information

        

‘राजनीतिक लुछाचुँडी’ले ज्ञानोदय पुस्तकालयबाट स्रष्टाहरु बाहिरिँदै


बाँके । ‘मैले गल्ती गरें या सहि मलाई थाहा छैन । तर मलाई राम्रोसँग थाहा छ मैले दिलबाटै सदस्यता लिएको थिएँ र दिलबाटै बाहिरिने निर्णय लिएँ,’ युवा साहित्यकार एवं चर्चित गजलकार कपिल अन्जानले आफ्नो फेसबुकमा स्टाटस लेख्दै भनेका छन् ।
उनले लेखेको प्रसंग बाँकेको कोहलपुरस्थित ज्ञानोदय सामुदायिक पुस्तकालयमा भर्खरै सम्पन्न निर्वाचन परिणामसँग केन्द्रीत छ । राजनीतिक हस्तक्षेप बढेको भन्दै साहित्यिक स्रष्टाहरुले पुस्तकालयको सदस्यता फिर्ता लिन थालेका छन् । पुस्तकालयमा राजनीतिक खिचातानी सुरु भएपछि निराश देखिएका साहित्यिक स्रष्टाहरुले निर्वाचनका क्रममा पनि उम्मेद्वारी फिर्ता लिएका थिए ।
ज्ञानोदय पुस्तकालयमा राजनीति हाबी भएको भन्दै युवा पुस्ताका चर्चित गजलकार कपिल अन्जानले मंगलबार पुस्तकालयको आजिवन सदस्यता फिर्ता लिएको जनाएका छन् । अघिल्लो कार्यकालमा सचिव पदमा उम्मेदवारी दिएका अन्जानले राजनीतिक लुछाचुँडीका कारण संस्थाको गरिमा खस्कँदै गएको भन्दै आजिवन सदस्यता फिर्ता लिएको सार्वजनिक गरेका हुन् ।
पुस्तकालयजस्तो पवित्र संस्थामा दलगत स्वार्थबाट प्रेरीत भई राजनीतिक चलखेल बढेको साहित्यिक स्रष्टाहरुको गुनासो छ । हालै नयाँ कार्यसमिति चयन गरिएको भनिएको पुस्तकालयमा काँग्रेसबाहेकका अन्य दलहरुले निर्वाचन प्रक्रिया अवैधानिक भएको भन्दै बहिस्कार गरेका थिए । कोहलपुरमा सक्रिय बिभिन्न दलहरुको बहिस्कारका बावजुत निर्वाचन सम्पन्न गरिएको ज्ञानोदय पुस्तकालयमा काँग्रेस निकट उम्मेदवारहरुको सिङ्गो प्यानललाई नै विजयी घोषणा गरिएको थियो ।
पुस्तकालयको निर्वाचनमा सहभागी भएका साहित्यकार तथा प्रध्यापकद्वय बद्री ढकाल हिरामणी र मणी गैरेले निर्वाचन प्रक्रिया राजनितिक पूर्वाग्रही रुपमा संचालन गरिएको भन्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानमा आवद्ध ढकाल र गैरेले उम्मेदवारी फिर्ता लिए पनि पुस्तकालयमा निर्वाचन गरिएको थियो ।

गजलकार कपिल अन्जानले सदस्यता फिर्ताका लागि दिएको निवेदन


विषय – आजीवन सदस्यता फिर्ता सम्बन्धी

सर्वप्रथम नवनिर्वाचित कार्यसमितिलाई बधाई एवं सफल कार्यकालको शुभकामना छ । हालसम्म म त्यस ज्ञानोदय सामुदायिक पुस्तकालयको आजीवन सदस्य हुँ । मैले बुझे अनुसार त्यस संस्थाको गरिमा छुट्टै छ । र छुट्टै हुनु पनि पर्छ । विगतका दिनदेखि हालसम्म पुस्तकालयको अवस्था र काम हामी सबैलाई जगजाहेर नै छ । म स्वयं पनि साहित्य सिर्जनामा तल्लीन छु र आफ्नो क्षमताले भ्याएसम्म तल्लीन रहने छु पनि ।
पुस्तकालयजस्तो ठाउँमा साहित्यमा सक्रिय रहेका स्रष्टाहरुलाई यहाँका राजनीतिक दलहरुले कार्यसमितिमा आएर आफ्नो साहित्यिक सक्रियता देखाउन जहिल्यै बाधा सिर्जना गरेको कुरा सबैलाई अवगत नै छ । र हामी साहित्य लेखनमा सक्रिय रहेका साहित्य स्रस्टालाई जहिल्यै पाखा लगाउने प्रवृत्तिप्रति हामी सदैव लडिरहनेछौं । साहित्यकारले जहिले पनि सरकारको प्रतिपक्षमा रहेर सकारात्मक बाटोमा हिड्न खबरदारी गर्छ र गरिनुपर्छ । यस्तो अवस्थामा त्यस सामुदायिक पुस्तकालयमा सधैंजसो राजनीतिको आडमा साहित्य सर्जकहरुलाई पाखा लगाउँदै आएको कुरा सबैलाई अवगत छ । यस्तो पाखा लगाउने प्रवृत्तिलाई कदापि स्वीकार गर्न सकिन्न ।
पुस्तकहरु समाजका रंगहरु हुन् । पछिल्लो समय पुस्तकालयले आफ्नो बाटो बदलेको छ या बिराएको छ जस्तो लाग्छ । पुस्तकसँग सम्बन्धित कुनै पनि कार्यक्रम नगरी अन्य कामहरुलाई बढी प्राथमिकताका साथ अगाडि बढाएको हुँदा अब त्यस संस्थाको गरिमा यो अवस्थामा बचाउन र्गाहो पर्ने मेरो बुझाई हो । त्यसका लागि जति खबरदारी गर्दा पनि कुनै पनि सुनुवाइ नहुने देखिएको छ । यहाँका राजनीतिक दलले आफ्नो स्वार्थका लागि पुस्तकालयलाई मागी खाने भाँडो बनाउनसम्म पछि नपरेको कुरा पनि हामीलाई राम्रैसँग थाहा छ । यो गरिनु हुँदैनथ्यो ।
बरु हामीले साहित्यमार्फत कोहलपुरलाई देशभित्र र देश बाहिर चिनाउने काममा कति अगाडी छौं भन्ने कुरा सायद सबैलाई थाहा नै छ होला । र यो कुरा पुस्तकालयमा आउने हरेक कार्यसमितिले नजरअन्दाज पनि गरेको छ । यति हुँदाहुँदै पनि पुस्तकालयले न त त्यस्तो कुनै साहित्यिक सक्रियता बढायो न त पुस्तकालयको मर्म नै बुझ्यो । त्यसैले अब यो संस्थामा यसरी बसिरहनु उचित नलागेर मेरो आजीवन सदस्यता फिर्ताको लागि यो निवेदन पेश गरेको छु । र मेरो आजीवन सदस्यता फिर्ता भएपछि पनि मैले पुस्तकालयलाई गर्ने सहयोग जारी राख्नेछु ।

कपिल न्यौपाने, कोहलपुर, बाँके

प्रकाशित मिति : ५ भाद्र २०७५, मंगलवार ११:१८