सूचनाको शक्ति - The Power Of Information

        

प्राथमिकतामा खोज पत्रकारिता : प्रवक्ता एण्डी


बाँके । नेपालस्थित अमेरिकी दुतावासका प्रवक्ता एण्डी डी अर्मेन्टले अहिलेको खोज पत्रकारितालाई प्राथमिकता दिनुपर्ने बताएकी छन् । खोजी पत्रकारितामार्फत समाजमा लुकेका साना विषयलाई अर्थपूर्ण र प्रभावकारीरुपमा उठान गर्न सकिने उनको भनाई छ ।
नेपाल पत्रकार महासंघ बाँके शाखाको संयोजनमा शेयरकाष्ट इनिसिएटीभ नेपालले आज नेपालगन्जमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रवक्ता एण्डीले समाजभित्र लुकेका साना मुद्दाहरुमा केन्द्रीत भएर लेखिएका समाचारले समाजमा सकारात्मक प्रभाव पार्ने बताइन् ।
उनले भनिन्, ‘हामी ठूला विषयमा बढी केन्द्रीत हुँदा साना मुद्दाहरु ओझेलमा परेका छन् । ती मुद्दाहरुलाई सम्बोधन गर्ने गरी पत्रकारले समाचार लख्दा समाज नयाँ र परिवर्तनको बाटोमा अघि बढ्न सक्छ ।’ उनले कहिलेकाहीँ साना विषयहरु उठान गर्दा राष्ट्रियरुपमै महत्वपूर्ण हुने बताइन् ।
शेयरकाष्ट इनिसिएटीभ नेपालका अध्यक्ष मधु आचार्यले आफ्ना क्षेत्रमा देखिएका समस्यालाई जिम्मेवारीबोधका साथ उठान गर्दा त्यसबाट सकारात्मक परिवर्तन हुने बताए । ‘हामीले साना विषयहरुलाई गौण ठान्छौं, तिनै विषयहरुका कारण सामाजिकरुपमा नकारात्मक प्रभाव परिरहेको हुन्छ । हामी ठूला मुद्दाहरुमा मात्रै होइन साना मुद्दामा पनि केन्द्रीत हुनुपर्छ,’ आचार्यले भने ।
नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुरसिंह थारुले मोफसलमा बसेर सबै विषयमा समाचार लेख्नुपर्ने भएकै कारण कतिपय विषयमा केन्द्रीत भए समाचार संकलन गर्न चाहेर पनि सकिएको छैन, भने । ‘हामीलाई सबै विषयमा समाचार संकलन गर्नुपर्ने अवस्था छ, एउटै विषयमा केन्द्रीत हुन सकिरहेका छैनौं तर सकेसम्म सबै विषयलाई समेट्ने प्रयास गरिरहेका छौं,’ अध्यक्ष थारुले भने ।
बाँकेका ५० बढी पत्रकारहरुको सहभागिता रहेको कार्यक्रममा स्थानीय निकायमा देखिएका समस्या, समस्या समाधानका लागि पत्रकारहरुको भूमिका, पत्रकारिताभित्रका चुनौती, पत्रकारहरुको क्षमता अभिवृद्धि लगायतका विषयमा छलफल भएको थियो ।

प्रकाशित मिति : ४ भाद्र २०७५, सोमबार १०:४२