सूचनाको शक्ति - The Power Of Information

        

विरामीको सल्यक्रियामा व्यस्त रहने डा कर्ण भन्छन्, ‘अब राजनीतिमा सल्यक्रिया’


हेमन्तराज काफ्ले/बाँके । विवेकशील साझा पार्टीबाट बाँके क्षेत्र नं. २ को प्रदेश ‘ख’ बाट उम्मेद्वारी दिएका डा.विनोद कर्ण यतिवेला चुनावी प्रचार अभियानलाई तीव्र बनाएका छन् । प्लाष्टिक सर्जन डा कर्ण विरामीको उपचार र सल्यक्रियामा व्यस्त रहनुपर्ने बेला राजनीतिको सल्यक्रिया गरेर संवृद्ध समाज निर्माण गर्ने अभियानका साथ राजनीतिमा सक्रिय भएको बताउँछन् । उनी भन्छन्, ‘पछिल्लो समय युवाहरुमा राजनीतिक वितृष्णा बढ्दै गएको बेला विवेकशील साझा पार्टीले युवाहरुलाई हौसला दिँदै एउटा आयामिक प्लेटफर्म बनाएको छ ।’
नेपाली राजनीतिको नेतृत्व तहमा सत्ता प्राप्तिको लागि गरिने अस्वभाविक खेल र एकलकाँटे राजनीतिक संस्कारलाई चिर्दै युवालाई असल राजनीतिक संस्कारबाट अघि बढ्न आफ्नो पार्टी अघि बढेको उनको तर्क छ । राजनीतिलाई फोहोरी खेलको संज्ञा दिदैँ राजनीतिबाट टाढिन खोज्ने युवाहरुलाई यसमा समाहित गराउँदै देशमा विकराल बन्दै गएको शैक्षिक बेरोजगारीको अन्त्यका लागि विवेकशील साझा पार्टीले आफ्ना कदमहरु अघि बढाएको बताए ।
उनले भने, ‘लाखौँ युवाहरु विदेश पलायन हुने क्रम बढ्दो छ । हामीले हजारौँ नेता उत्पादन गरिसक्यौ । एउटा देशभक्त, स्वच्छ छवी बनाएको असल नेता पाउन सकेनौँ । यसै कारण अहिले विवेकशील साझा पार्टी जन्मिएको छ । यसको एउटै साझा उद्देश्य भनेको विकास र संवृद्धि नै हो ।’ देशभरीबाट अहिलेको निर्वाचनमा निकै सशक्त उम्मेदवारहरु उभाएको बताउँदै उनले भने, ‘बाँकेमा पनि म लगायत विकासप्रेमी युवाहरुलाई निर्वाचनको मैदानमा उभ्याएको छ ।’ नेपालकै सर्जनहरुमध्ये महत्वपूर्ण स्थानमा गनिने उनले हजारौं विरामीहरुको सल्यक्रियासमेत गरिसकेका छन् ।
हजारौंको कुरुप जिवनलाई असल बनाएका छन् । मध्य र सुदूरपश्चिमका धेरैको शल्यक्रिया गर्न सफल उनी भन्छन्, ‘विभिन्न खाले दुर्घटनाका क्रममा शरीरका अंगहरु छुटिएका धेरै सल्यक्रियाहरु सफल भएका छन् । अब यो पेशालाई परिवर्तन गर्दै राजनीतिमा पनि सल्यक्रिया गर्ने सोचले राजनीतिक यात्रामा होमिएको हुँ ।’ मिठो बोल्ने र दयालु स्वभावका उनले सल्यक्रिया गर्दा लाग्ने शुल्क पनि मिनाहा गरेका धेरै उदाहरण छन् ।
उनी भन्छन्, ‘विपन्नहरुको सित्तैमा उपचार गरेको छु । कतिपयको त आफ्नै खर्चले पनि उपचार गरेको छु ।’ सोभियत युनियन रस्साबाट एमडी गरेका उनी राजनीतिमा पनि रामै्र गर्छु भन्ने सोचमा छन् । दुई बर्षसम्म सुष्मा कोइराला मेमोरियलमा डाइरेक्टरको रुपमा पनि काम गरेका दिनरात नभनी सल्यक्रियामा ब्यस्त हुने गरेको बताउँछन् । ‘राजनीतिमा लुटतन्त्र मौलाएको छ,’ डा कर्ण भन्छन्, ‘निरास भएर बस्नुभन्दा राजनीतिकै अप्रेसन गरेर निरास युवाहरुको अनुहारमा खुसी ल्याउने प्रण गरेको छु ।’

प्रकाशित मिति : २७ कार्तिक २०७४, सोमबार १०:१२