सूचनाको शक्ति - The Power Of Information

        

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, १११ रुपैयाँ पुग्यो पेट्रोल


काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल मट्टीतेल र हवाई इन्धनको मूल्य बढाएको हो । पेट्रोलको मूल्य लिटरमा १ रुपैयाँले बढेर १११ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य २/२ रुपैयाँले बढ्दा ९५ रुपैयाँ पुगेको छ ।
सोमबार राति १२ बजेबाट लागू हुने गरी मूल्य बढाइएको निगमका प्रवक्ता विरेन्द्र गोइतले जानकारी दिए । भारतीय आयल कर्पोरेशन (आईओसी)ले नयाँ मूल्यसूची पठाएको थियो । यो पटक मूल्य नबढाउँदा निगमलाई महिनामै ६० करोड घाटा हुने अवस्था थियो ।
निगमलाई यो मूल्य समायोजनपछि पनि महिनामा १४ करोड ४२ लाख घाटा हुने गोइतले जानकारी दिए । नयाँ मूल्यअनुसार निगमलाई पेट्रोलमा ६५ पैसा नाफा छ भने डिजेल र मट्टीतेलतमा ७० पैसा घाटा छ । यो मूल्य समायोजनपछि पनि निगमलाई पेट्रोलमा प्रतिलिटर १.५९ रूपैयाँ र डिजेलमा ३.४९ रूपैयाँ घाटा छ ।
मुल्य नबढाइए पनि ग्याँसमा प्रतिसिलिन्डर २८० रुपैयाँ घाटा छ । निगमले आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ४.५ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनमा प्रतिहजार लिटर ५० डलर रुपैयाँ बढाएको छ । नेपालमा हाल पेट्रोल भारतको सीमा क्षेत्रभन्दा पेट्रोल २३ रुपैयाँ र डिजेलमा २५ रुपैयाँ सस्तो छ ।

प्रकाशित मिति : ४ भाद्र २०७५, सोमबार ००:५१