सूचनाको शक्ति - The Power Of Information

        

उर्लँदो नदीमा हाम फालेर मनाइन्छ ‘भेल पर्व’


दुर्गा विसी । सल्यान । सुन्दा आङ्ग नै सिरिङ्ग हुने प्रतियोगिता, सामान्य मानिसले न कल्पना गर्न सक्छ, न त प्रतियोगितामा भाग लिने आँट नै गर्न सक्छ । हिउँद महिनाको सामान्य अवस्थामा पनि नदी पार गर्न समस्या हुन्छ, अझ साउन–भदौं महिनाको उर्लँदो भेरी नदी, त्यसमा पनि पौडी प्रतियोगिता ।
उर्लँदो नदीमा चिण्डाको सहारामा पौडिनु निकै जोखिम पनि हुन्छ । सामान्य खहरे खोलाले बगाएर ज्यान गएका समाचारहरु आइरहेका बेला उर्लँदो नदीको गर्जदैं गरेको बहावमा पौडी खेल्नु कम चुनौतिपूर्ण हुँदैन । सामान्य मानिसका आगि आफ्नो काबुभन्दा बाहिरको कुरा हो ।
तर सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१ अम्राका स्थानीयबासीले भने बर्षको एकदिन यस्तै खतरापूर्ण प्रतियोगिता गर्दै आएका छन् । भदौं १ गतेका दिन उनीहरुले नदीमा पौडी खेल्ने अर्थात् भेल खेल्ने पर्वका रुपमा मनाउँदै आएका छन् । चाडपर्वको आगमन भएको भन्ने संकेत गर्दै यो चाड मनाउने गरिन्छ ।
यस पर्वमा कोही जमिन छोड्ने भनेर पुरुषहरु भेरी नदीको उर्लँदो भेल खेल्दै रमाउछन् भने महिला तथा बालकालिका पिंङ्ग खेलेर रमाउने गर्छन् । उर्लँदो भेरीमा युवाहरुले भेल खेले पुण्य प्राप्त हुने धार्मिक मान्यता रहेको स्थानीय जानकार गञ्जमान बस्नेतको भनाई छ ।
पछिल्लो पुस्ताले भेल्ने खेल्ने पर्वलाई बिर्सिँदै गए पनि बुढापाकाहरुले भने यसको महत्व जोगाउन पवलाई निरन्तरता दिँदै आएको बस्नेतले बताए । अम्राका ७२ वर्षीया डिले बुढाका अनुसार पहिले पहिले टाढाटाढाबाट युवाहरु भेरी नदीमा भेल्न खेल्न आउने गर्दथे ।
आजभोलि भने यो पर्वलाई खासै महत्व नदिएको उनको भनाई छ । चाडपर्वको आगमनको सुरुवातका रुपमा मनाउने यो पर्व धार्मिकरुपले निकै महत्व रहेको छ, बुढाले भने । भेरी नदीमा भेल खेल्नको लागि देवस्थलको बनगाड मोडबाट भेल खेल्दै स्थानीय युवाहरु ठिग्नी र अम्रा नजिकै उत्रिएका थिए ।
दर्जन बढी युवाहरु कम्मरमा चिण्डा भिरेर उर्लँदो भेरी नदीको भेलमा हाम फाल्दै पौडिँदै रमाइलो गरिरहेका हुन्छन् । युवाहरु लहरै लागेर उर्लँदो भेरी नदीमा डुबुल्की मार्दै रमाउँदै भेलमा रमाइलो गर्ने गर्छन् । स्थानीय बुढापाकाहरुका अनुसार भाद्र संक्रान्तीलाई चाडपर्वको आगमनका रुपमा लिने गरिएको छ ।
परम्परादेखि चल्दै आएको भेल खेल्ने पर्वका दिन गाउँमा भुई छोड्ने भनेर युवाहरु भेल खेल्ने पर्वमा भाग लिन्छन् भने महिला तथा बालबालिकाहरु पिङ्ग खेल्ने गर्छन् । जंगलबाट बाबियो काटेर ल्याउने र पिङ्ग बनाएर उनीहरु रमाउने गर्छन् ।

प्रकाशित मिति : ३ भाद्र २०७५, आइतवार ००:२८