सूचनाको शक्ति - The Power Of Information

        

पर्यटकीय क्षेत्रको विकासमा जुट्दै प्रदेश मन्त्रालय


रेनुका गिरी । बुटवल । प्रदेश ५ को उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले कपिलवस्तुका विभिन्न क्षेत्रको स्थलगत अवलोकन गरेको छ । कपिलवस्तु महाराजगँजको भिल्मीमा रहेको अजिगरा तालको अध्ययन अवलोकन गरेको उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले जानकारी दिए ।
प्रदेश ५ का विभिन्न क्षेत्रलाई पर्यटकिय क्षेत्रको गन्तब्यका रुपमा विकास गर्ने मन्त्रालयको याजना छ ।९० बिगाह क्षेत्रफलमा फैलिएको सो अजिगरा तालमा जंगली धान पाइने त्यहाँका स्थानीय एवं पूर्व राज्यमन्त्री किशोरदयाल मिश्रले जानकारी दिए । सरकारले सञ्चालन गरेको सिमसार आयोजनाले जंगली धानको संरक्षणमा जोड दिँदै आएको छ ।
सन् २००९ देखि सञ्चालनमा रहेको आयोजना अन्तर्गत जंगली धानको संरक्षणलाई प्राथमिकता दिइएको छ । कपिलबस्तुका विभिन्न क्षेत्रमा रहेको जंगली धानको संरक्षणका लागि आयोजनाले स्थानीय निकायसँग मिलेर संरक्षण अभियान चलाएको छ । कृषि विज्ञहरुका अनुसार जंगली धानबाटै अहिले खेती गरिँदै आएको धानको विकास भएको हो । तराईमा मनाइने जितिया पर्वका अवसरमा जंगली धान मिसाएको चामल खानुपर्ने धार्मिक प्रचलन रहि आएको छ ।
यस्तै मन्त्रालयले चार सयबढी विद्यार्थी पढ्ने कपिलवस्तुको माहाराजगन्ज नगरपालिका–१ को दुर्गा भवानी कन्या निमाविको पनि अवलोकन गरेको छ । विद्यालयको कार्यालय सहयोगीदेखि सबै क्षेत्रमा महिलामा रहेका छन् । महिलामात्र पढाइ हुने विद्यालयमा उक्त क्षेत्रमा नमुना मानिन्छ । यस्तै मन्त्रालयले कपिलवस्तुको कृष्णनगर भन्सार कार्यालय नजिक रहेको नेपाल भारत प्रवेशद्धारको पनि अवलोकन गरेको छ ।

प्रकाशित मिति : २ भाद्र २०७५, शनिबार ०६:५०