काठमाडौं । सरकारका विभिन्न उपल्ला तहमा महिला नेतृत्वको नियुक्तिका क्रममा नेपाल टेलकमको प्रबन्ध निर्देशकमा दुई बर्षअघि कामिनी राजभण्डारीलाई नियुक्त गरियो । नेपालको दूरसञ्चार प्रणालीको सुधार, आधुनिकीकरणसँगै कुशल व्यवस्थापनका लागि उनको नियुक्ति भएको थियो ।
उनको कार्यसम्पादनको कुशल काम र लक्ष्यको सही बिम्ब दिन उनी कहीँ चुकेको देखिँदैन । आइतबारमात्र टेलिकमले प्रगति विवरण सार्वजनिक गर्यो, नेपाल टेलिकमको गत आर्थिक वर्षको कूल आय ४५ अर्ब ५६ करोड ५८ लाख ।
हरेक बर्ष टेलिकमले मुनाफामा वृद्धि गरिरहेको छ । नेपालको एकमात्र ठूलो कम्पनी भएका कारणले जनतालाई सुविधामात्र होइन, राज्यको लगानीसहितलाई पनि प्रभावकारी बनाउने जोखिम मोलेरै उक्त पदका लागि कोही पनि तयार हुन्छन् । कामिनीले त्यहि गरेकी थिइन् ।
अघिल्लो आवको तुलनामा गत आवमा टेलिकमको आम्दानी दुई दशमलव १९ प्रतिशतले वृद्धि भएको छ । सो अवधिमा टेलिकमले १५ अर्ब ६६ करोड ७५ लाख नाफा कमाएको हो । कम्पनीको मुनाफा अघिल्लो आवको तुलनामा गत आवमा एक दशमलव ९२ प्रतिशत वृद्धि भएको छ ।
टेलिकमको प्रतिशेयर आम्दानी अघिल्लो आवको तुलनामा एक रुपैयाँ ९६ पैसाले वृद्धि भई १०४ रुपैयाँ ४५ पैसा पुगेको छ । विगत लामो समयदेखि सञ्चालनमा रहेका ल्याण्डलाइन सेवाका पुराना उपकरण विस्थापन गरी ‘टिडिएम माइग्रेसन’ आयोजनाअन्तर्गत आधुनिक प्रविधिमा आधारित आइएमएस उपकरणमार्फत सेवा प्रदान गर्न आरम्भ गरिएको छ ।
करीब एक लाख ९० हजार लाइन नयाँ प्रविधिमा रुपान्तरित भई सेवा सञ्चालनमा आइसकेको छ । विसं २०७५ जेठ मसान्तसम्म कम्पनीको टेलिफोन ग्राहक आधार एक करोड ९७ लाख ४७ हजार ४४५ र इन्टरनेट ग्राहक आधार एक करोड ६ लाख ५२ हजार ४२९ रहेको छ । विसं २०७४ असार मसान्तको तुलनामा कम्पनीको ग्राहक आधार टेलिफोनतर्फ २१ लाख ४५ हजार २२३ तथा इन्टरनेटतर्फ २२ लाख २६ हजार ५३५ ले वृद्धि भएको छ ।
उल्लिखित विषय कामिनीको कार्य सम्पादनको प्रभावकारीताका कारण भएका हुन् । उनी एक कुशल आमा, कुशल पत्नी, कुशल व्यवस्थापक भएका कारणले नै टेलिकमले गति लिएको हो । तर कहिलेकाहीँ राजनीतिक दुशाग्रह र प्रहारको शिकार हुन्छिन् उनी । उनलाई ६–६ महिनामा प्रगति विवरण पेस गर्न भनिएअनुसार पेस पनि गरिरहेकी छन् । तर, फेरि उनलाई स्पष्टिकरण माग गरिएको छ । आखिर के–को स्पष्टिकरण ? उनी उत्तरमा पनि यहि प्रतिप्रश्न राख्छिन् ।
कामिनीले कामका लक्ष्य राखेकी छन् । टेलिकममा उनको अब एक बर्ष छ । यो एक बर्षमा पनि राम्रो काम गरेर कुशल बहिर्गमन अथवा पेन्सनर हुने उनको चाहना छ । यस्तो चाहना किन राख्छिन् ? किनभने उनी घरकी पनि सफल व्यवस्थापक हुन् । परिवारको सही व्यवस्थापनको सीप उनमा छ ।सूचना प्रविधिका कारण विश्व जति साँघुरो बनेको छ प्रविधि उद्योगको स्थापना हरेक कोणबाट अतुलनीय हुन थालेको छ ।
नेपाल अल्पविकसित मुलुकमा परे पनि प्रविधिको विकासमा सरकार र निजी कम्पनी सक्रियतासाथ लागिरहेका छन् । यसक्रममा नेपालमा स्थापित नेपाल टेलिकमले देशभरका हरेक ठाउँमा मोबाइल सेवा सुरु गरिसकेको छ जसले हरक्षेत्रका नागरिकको सम्पर्कको आधार अति साधारण बनिसकेको छ । त्यहाँमाथि इन्टरनेटको युगलाई पनि ध्यानमा राखी टेलिकम अघि बढिरहेको छ ।
ठूलो क्षेत्र, ठूलो आधार भएको टेलिकमको मुख्य जिम्मेवारी सम्हाल्नु कम चुनौतीपूर्ण छैन । तर, यो चुनौतीलाई लक्ष्य नै बनाएकी कामिनी प्रविधि सञ्चालकका रूपमा अघि बढेकी छन् । ०७३ साल असोज ६ गते मन्त्रिपरिषद्को निर्णयले उनलाई नेपाल टेलिकमको सबैभन्दा उच्च तह प्रबन्ध–निर्देशकमा नियुक्ति गरेको थियो । उनी टेलिकममा काम गर्दादेखि नै एउटा लक्ष्यको सोच बनाएर अघि बढेकी थिइन् । उनलाई थाहा थियो, निरन्तर काम गरेपछि लक्ष्यमा पुग्न सकिन्छ भन्ने ।
ज्यालादारी कर्मचारीका रूपमा ०४२ सालमा कामिनीले नेपाल दूर सञ्चार संस्थानमा काम गरेकी थिइन् । ‘काम गरेको एक वर्षपछि ०४३ सालमा स्थायी भएँ । त्यसबेला तह ७ को अधिकृत भएँ अहिले तह १२ को अधिकृतका रूपमा प्रबन्ध निर्देशकको जिम्मेवारीमा छु,’ उनी भन्छिन् । उनले काम थाल्दा टेलिकममा प्राविधिक एकदमै कम थिए । जागिर खानुअघि र पछि पनि प्राविधिकको डिमान्ड भइरहेको थियो ।
उनी भन्छिन्, ‘मैले जागिरका लागि त्यति ठूलो संघर्ष त गरिनँ । शिक्षामा पनि मेरो राम्रो दख्खल भएका कारण तह १० सम्मको अधिकृत हुन मलाई गाह्रो भएन । तह ११ मा बढुवा हुन अलिक गाह्रो थियो तर सफल भएँ । प्रबन्ध निर्देशकका लागि चाहिँ धेरैको स्पर्धा हुँदा ठूलो संघर्ष भयो । त्यसमा म सफल भएँ, अहिले खुसी छु ।’ परिवार, घर र जीवन नै व्यवस्थापकीय काममा विताएकी उनी थप्छिन्,‘जीवनलाई व्यवस्थापन गर्न सक्नु पनि एउटा कला हो ।
म ५० प्रतिशत भन्दा बढी घरको काम अहिले पनि गर्छु । अहिले त सरल नै लाग्छ । चुनौती नभएको होइन तर चुनौतीलाई सरल कसरी बनाउने भन्नेतिर ध्यान दिनुपर्छ । टेलिकमसहित घरको व्यवस्थापन पनि गरेकी छु ।’ सन् १९८५ मा उनले इन्डियाबाट स्कलरसिपमा इन्जिनियर पास गरेको २ वर्षपछि बिहे गरेकी थिइन् ।
‘आमाबुबा मेरो बिहे गरेको १ वर्षमा बित्नुभएकाले मेरो प्यारेन्ट्सबाट मैले सपोर्ट पाउने मौका भगवानले लुट्यो । तैपनि, मलाई मेरा दिदीबहिनीले सपोर्ट गर्नुभयो,’ थप्छिन्, ‘मेरो २ वटा छोरा छन् र मेरो सासू–ससुराको अलिक एक्टिभ एज नभएकाले उहाँले मलाई त्यत्ति सपोर्ट गर्न सक्नुहुन्थेन त्यसैले जब म तह ९ मा थिएँ म उसलाई अफिस आउँदा चाइलड केयरमा छाडेर आउँथें र फर्किंदा त्यहाँबाट घर लिएर जान्थे ।’ नेपाल टेलिकममा ओपन कम्पिटिसनमार्फत मास्टर्स गर्न मिल्ने कोर्स आएको थियो त्यो वेला उनले ‘बिई’ गरिसकेकी थिइन् ।
उनले ग्राजुएशन गरेकोे १५ वर्षपछि श्रीमान्को मञ्जुरीमा मास्टर्स गर्न एआईटि ब्याङकिमा मास्टर्सको एप्लाई गरेकी थिइन् । यहि क्षेत्रमा करिब ३१ वर्षसम्म निरन्तर काम गरिरहेकी उनलाई कहिलेकाहीँ राजनीतिले पेलेजस्तो पनि लाग्छ । ओहदा भन्दा पनि कर्म र त्यसको प्रतिफलमा ध्यान नदिनु नै ‘अचम्म’ लाग्छ उनलाई । उनको कार्यावधि धेरै छैन तर काममा प्रगतिमात्र देखिएको छ । फेरि पनि किन बारम्बार प्रस्टिकरणका कुरा उठ्छन् ?
–दैनिक नेपालबाट
।