सूचनाको शक्ति - The Power Of Information

        

पशु हाटबजार सञ्चालन भएन, अनियमितताको आशंका


बाँके । निर्माण सकिएको एक वर्ष बितिसक्दा पनि हाटबजार सञ्चालनमा आउन सकेको छैन । बाँकेको कोहलपुर–१४ हवल्दारपुरमा एक वर्षअघि नै निर्माण सम्पन्न भएको हाटबजार सञ्चालनमा आउन नसकेपछि स्थानीयहरुले आफ्ना पशुचौपाया बाँध्ने गरेका छन् ।
बर्खाको समयमा आफ्नो पशुचौपायाहरु भिज्ने भएकाले हाटबजारका लागि निर्माण गरिएको संरचनामा पशुचौपायाहरु बाँध्दै आएको स्थानीय छोटेलाल यादवले बताउनुभयो । पशु हाट बजार अझैसम्म संचालनमा नआउँदा स्थानीयहरु आक्रोसित बनेका छन् ।
निर्माणको जिम्मा पाएको जनकल्याण बहुउद्देश्यीय सहकारी संस्थाले केही भौतिक पूर्वाधारहरु निर्माण गरे पनि सम्झौताअनुसार हाटबजार भने सञ्चालन गर्न सकेको छैन । सहकारीकै लापर्बाहीका कारण पनि हाटबजार सञ्चालनमा नआएको स्थानीय रामगोपाल यादवले बताए ।
एक करोड रुपैयाँको लागतमा निर्माण गरिएको उक्त संरचनाको विषयमा सहकारी संस्था र संरचना निर्माण समितिका पदाधिकारीहरुबीच बेलाबेलामा आर्थिक चलखेल भएको भन्दै विवाद हुँदै आएकोले हाटबजार सञ्चालनमा बाधा पुगेको यादवले भनाई छ ।
जनकल्याण सहकारी संस्था लिमिटेडका अध्यक्ष लिलबहादुर रानाले हाटबजार समयमै सञ्चालन गर्न नसकेको स्वीकार गरे । उनले भने, ‘नेपाल सरकारको मापदण्ड अनुसार गोदाम निर्माण, चौपाया बाँध्नलाइ खाली ठाँउ र कार्यालय सबै निर्माण भएको छ ।’
बाँके, बर्दिया लगायतका छिमेकी जिल्लाहरुबाट पनि पशुचौपाया ल्याउने योजनाअनुसार पशुधनीलाई बास बस्नका लागि छुट्टै आवासगृह निर्माण गरिएको छ । २०७४ असार मसन्तसम्ममा सञ्चालन गर्नुपर्ने हाटबजार हालसम्म सञ्चालनमा नआउँदा निर्माणका क्रममा आर्थिक अनियमितता भएको स्थानीयहरुको आरोप छ ।
२०७३ साल जेठमा तत्कालिन पशुपंक्षी विकास मन्त्रालय र जनकल्याण बहुउद्देसीय सहकारी संस्थाबीच निर्माण सम्झौता भएको हाट बजार सञ्चालनका लागि स्थानीयहरु सहयोग गर्न तयार रहे पनि सरोकारवाला निकायहरु मौन हुँदा सञ्चालनमा समस्या भएको स्थानीय नमबहादुर आलेले बताए ।
उनले भने, ‘मन्त्रालयबाट सबै रकम फच्र्योट भइसक्यो । सरकारी बजेटको दुरुपयोग भएको आशंका बढेको छ । निर्माण सम्झौता गरेको सहकारी र पदाधिकारीहरुका कारण हाटबजार सञ्चालन आउन नसकेको हो । स्थानीय प्रशासनले पनि यस विषयमा चासो देखाउनुपर्छ ।’
हाटबजार निर्माण जिम्मा लगेको सहकारी र संचालकहरुबीचमा पैसाको भागबण्डा नमिलेकै कारण सञ्चालनमा ढिलाई भएको अर्का स्थानीय रामगोपाल तमोलीको आरोप छ । हाट बजारका लागि निर्माण गरिएको संरचना ३० लाखभन्दा बढि नभएकोले ब्यापक भ्रष्टाचार भएको उनको दावी छ ।

प्रकाशित मिति : २७ श्रावण २०७५, आइतवार १४:३४