धनगढी । आसन्न चुनाव नजिकिँदै जाँदा कैलाली जिल्लाका मुक्त कमैयाले आफूहरुको उचित पुनः स्थापनाको पहल गर्नेलाई भोट दिने बताएका छन् । चुनावको समयमा आउने नेताहरु भोट माग्दै समस्या समाधानको आश्वासन दिने गरेकामा अहिलेसम्म समस्या समाधान नभएको भन्दै मुक्त कमैयाले जग्गाको लालपुर्जा बनाउन पहल गरिदिनेलाई सहयोग गर्ने बताएका हुन् । धनगढीको पुरानो हवाई मैदानको जग्गा ओगटेर बसेका झन्डै ५६ मुक्त कमैया परिवारले अझैसम्म जग्गाको लालपुर्जा पाएका छैनन् ।
’भोट दिनुहोस् पुनः स्थापनामा सहयोग गर्छौं भन्ने नेता धेरै आए, तर अहिलेसम्म जग्गा पाएका छैनौं,’ धनगढी उपमहानगरपालिका–१ को मुक्त कमैया शिविरका होरीलाल चौधरीले भने, ’स्तो आश्वासन यसअघिका दुई–तीन वटा निर्वाचनका बेला पाए पनि समस्या समाधान भएन ।’ मुक्त भएको १७ वर्ष भइसक्दा पनि आफूहरुले अझैसम्म जग्गा नपाएको अर्का मुक्त कमैया भागिराम चौधरीले गुनासो गरे । भोट माग्ने बेला सबै समस्या समाधान गरिदिन्छु भनेर आश्वासन दिए पनि चुनाव सकिएपछि नेताहरु गाउँ फर्केर नआउने गरेको उनको भनाइ छ ।
चुनावमा मतदान गर्न जाने पूर्व कमैयाले मतदान कसरी गर्ने कति ठाउँमा छाप लगाउने जस्ता विषयमा आफूहरु पूर्ण रुपमा जानकार नरहेको बताएका छन् । ’असारमा भएको चुनावमा दुई ठाउँमा भोट हालेँ,’ मुक्त कमैया सीताराम चौधरीले भने, ’आउने चुनावमा दुई ठाउँमा भोट हाल्ने कुरा सुने पनि पूरा जानकारी छैन ।’ मतदान गर्ने तरिका सिकाउन कोही नआउने गरेको यी पूर्व कमैयाको भनाइ छ । मुक्तकमैयाको भनाइलाई आधार मान्ने हो भने निर्वाचन कार्यालयले दिने मतदाता शिक्षा कार्यक्रम मुक्तकमैया बस्तीमा प्रभावकारी भएको देखिँदैन । मतदाता शिक्षा दिन जाने कर्मचारीले दिउँसोको समयमा कतिपय मतदाता घरमा भेटाउन नसक्ने अवस्था रहेको क्षेत्रीय निर्वाचन कार्यालय धनगढीका प्रमुख मोहनप्रसाद अर्याल बताउँछन् । यसपालि सघन बस्ती रहेका टोल र वडामा मतदाताको भेला गराएर समूहगत रुपमा समेत मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको उनको भनाइ छ । रासस
।