काठमाडौं । मुलुकको मुख्य प्रशासनिक निकाय सिंहदरबार नजिक रहेको विजुलीबजारको एउटा अपार्टमेन्टमा पूर्वयुवराज पारस शाह बस्न थालेका छन् । परिवारसँगै निर्मलनिवासमा बास नपाएका उनी ‘पुरानो मनकामना हल’ भएको स्थानमा बनेको अपार्टमेन्टको दोस्रो तल्लामा बस्न थालेका हुन् ।
थाइल्यान्डबाट नेपाल फर्किएपछि स्थायी बासका लागि निर्मलनिवासमा प्रवेश नपाएका उनी लामो समय धापासीको अपार्टमेन्टमा बस्ने गर्दथे । स्वभाव र व्यवाहारमा पूर्ण परिवर्तन नआएसम्मका लागि उनलाई निर्मलनिवासमा रोक लगाइएको बताइन्छ । यद्यपि पारिवारिक कार्यक्रम र धार्मिक अभियानमा भने पूर्वराजा ज्ञानेन्द्र शाहसहित शाही परिवारमा उनको उपस्थिति देखिन थालेको छ ।
पूर्वयुवराज्ञी हिमानी शाहलाई माताले पतिसँग बस्नका लागि अझै केही समय रोकेका कारण पारसले निर्मलनिवासमा बास नपाएको बताइन्छ । बिजुलीबजारमा बस्ने गरेका उनका खास सहयोगीचाहीँ छैनन् । एक्लै बस्नेगरेका पारसका लागि हनुमानस्थानमा रहेको साधारण रेस्टुरेन्ट ‘बिहानी’बाट उनको अपार्टमेन्टमा खाना जाने गरेको छ ।
विहानबेलुका प्रायः सोही रेस्टुरेन्टको खाना खाने गरेका उनी दिनभर भने विभिन्न भेटघाटमा व्यस्त हुन्छन् । उनका लागि कुनै खास र विशेष सुरक्षा पनि छैन । केही युवाहरू उनीसँगको संवादका लागि आइरहेका हुन्छन्, अति साधारण हिसाबले उनको दिनचर्या बित्ने गरेको छ ।
पछिल्लो समय हिन्दू राज्यका लागि अभियान चलाउँदै आएको शिव सेना नेपालका पदाधिकारी, हिन्दु समाजमा सक्रिय युवाहरूसँग उनी अभियानको योजना बनाइरहेका भेटिन्छन् । त्यसबाहेक उनको समय खाने, पिउने र मोजमस्ती गर्नेमा नै वित्ने गरेको जानकारहरू बताउँछन् । पछिल्लो समय २३ असारमा बाबु ज्ञानेन्द्रको जन्मदिन मनाउनका लागि नेपालगन्ज पुगेका पारस परिवारसँग त्यहि बसेका थिए ।
नेपालगन्जस्थित सोल्टी होटलमा बसे पनि पत्नी हिमानीसँग उनको बास हुन सकेको थिएन । पारस नेपाल फर्किएको तीन महिना वितिसकेको छ । परिवारका सबै सदस्य थाइल्यान्ड गए पनि उनलाई लगिएको छैन । निर्मलनिवास स्रोतका अनुसार थाइल्यान्डका लागि पारसलाई प्रतिबन्ध गरेका कारणले पनि परिवारसँग नलगिएको हो ।
पूर्वराजा ज्ञानेन्द्रसहित पूर्वरानी कोमल, युवराज्ञी हिमानी, छोराछोरीहरू हृदयेन्द्र, पूर्णिका, कृतिका र ज्ञानेन्द्रका निजी सचिव सागर तिमिल्सिना बैंकक पुगेका थिए । एक त हिमानीसँग सम्बन्ध विग्रनुको खास कारण पारसको व्यक्तिगत चरित्र नै मानिन्छ । हिमानीले बैंकक जेलबाट छुटाउनका लागि निक्कै खटिएकी थिइन् । दुई बीचको सम्बन्धमा तेस्री युवती कन्निकाको प्रवेशपछि पारसले देश छाडेका थिए ।
सो सँगै चरेश, गाजा प्रकरणका दोषीमात्र भएनन्, बैंकक जेलमा समेत बस्नुपरेको थियो । पछिल्ला दिनमा छोराछोरी र परिवारका सदस्यसँग सम्बन्ध सुधार भए पनि पत्नीसँग उनको ‘सहवास’ हुन नसकेको बताइन्छ । यसको खासकारण माता सविता सरु हुन् । सविता सरुले ग्रहदशा बिग्रिएकाले पारस र हिमानीलाई सँगै नबस्न सुझाएकी थिइन् । त्यही सुझाबअनुसार उनीहरू एकसाथ नबसेको दरबार निकट स्रोत बताउँछ ।
निर्मल निवासलाई थरिथरि मान्छेले दिने अनेकथरि सुझावका कारण पनि परिवारसँग पारसको औपचारिक मिलन नभएको जानकारहरू बताउँछन् । पारसका मित्र प्रभञ्जन सिंहले थरीथरीका सुझावहरू दरबारमा गइरहेकाले पनि राजपरिवारका सदस्यहरूबीच बेमेल भएको बताए । माताहरूले पारस र हिमानी छुट्टाछुट्टै बस्न भनेको दुई वर्ष बितिसक्यो ।
पारस काठमाडौं फर्किएपछि हिमानीसँग उनको पटक–पटक भेट त भएको छ । तर, बोलचालचाहीँ हुन सकेको छैन । ६ असार ०७४ मा पारस र हिमानी सँगै नर्भिक अस्पताल पुगेका थिए । गएकै बर्ष छोरा हृदयेन्द्रको व्रतबन्ध, यसै बर्ष त्रिशरा रेस्टुरेन्टमा पारिवारिक रात्रीभोज, गएको असारमा नेपालगन्जमा भएको पूर्वराजाको जन्मोत्सवमा पनि दुवैको भेट भयो । त्यसपछि भने भेट हुन सकेको छैन ।
।