काठमाडौं । भदौ १ गतेदेखि लागू हुने मुलुकी ऐन नयाँ ‘मुलुकी संहिता’मा व्यापक हेरफेर भएको छ । नेपालको पारिवारिक कानूनमा समयसापेक्ष सुधार गर्नका लागि नयाँ कानून ल्याउन लागिएको भनिए पनि कतिपय नयाँ सामाजिक मान्यतालाई भने नयाँ मुलुकी संहिताले पनि सम्वोधन गर्न सकेको छैन ।
पुरानो मुलुकी ऐनमा १६ वर्षभन्दा मुनिका किशोरीसँग राजीखुशीले यौनसम्बन्ध राखे पनि त्यो बलात्कार वा जबरजस्तीकरणी ठहरिने प्रावधान थियो । तर, १६ वर्षमाथिका महिलासँग राजीखुसीमा यौनसम्बन्ध राखेको अवस्थामा जबरजस्ती करणी नमानिने पुरानो मुलुकी ऐनले व्यवस्था गरेको थियो ।
तर, अब भदौ १ देखि लागू हुने नयाँ व्यवस्थाले १६ वर्षमाथिका युवतीसँग पनि राजीखुशीमा राखिने यौनसम्बन्धलाई बलात्कार मान्ने छ । अब नयाँ व्यवस्था अनुसार १८ वर्षभन्दा कम उमेरका महिलासँग राजीखुशीले पनि यौनसम्बन्ध राख्नु बलात्कार ठहरिनेछ ।
नेपाली समाजमा १६ वर्ष कटेका किशोर किशोरीहरुले राजीखुशीमा यौनसम्बन्ध राख्ने क्रम बढिरहेको विभिन्न अध्ययनहरुले देखाउने गरेका छन् । तर, नयाँ मुलुकी ऐनले समाजमा देखिएको यौनिक उदारतालाई केही कसिलो बनाउने प्रयास गरेको छ ।
भदौ १ देखि लागू नयाँ पारिवारिक कानूनले विवाह गर्न पाउने उमेर हद २० वर्ष तोकेको छ । तर, ऐनले राजीखुशीको यौनसम्बन्धलाई बलात्कार नमानिने उमेर हद १८ वर्षभन्दा माथिलाई मानेको छ । यो वीचको ग्यापमा रहेको उमेर समूह (१८–२० वर्ष)ले आपसी सहमतिमा राख्ने यौनसम्बन्ध न बलात्कार ठहरिन्छ, न त त्यसले विवाहका रुपमा बैधानिकता नै पाउँछ ।
पुरानो मुलुकी ऐनले १६ वर्ष कटेपछि सहमतिमा राखिने यौनसम्बन्धलाई कडाइ गरेको थिएन । तर, नयाँले भने १६ वर्ष माथिकालाई पनि कडाइ गरिदियो । ऐनमा गरिएको यो परिवर्तनलाई सकारात्मक मान्ने कि बन्धन ? यो त्यही किशोर–किशोरी पुस्ताले जान्ने कुरा हो, जसले यौन स्वच्छन्दता खोजिरहेका छन् ।
तर, यहाँ ख्याल गर्नुपर्ने कुरा के छ भने विदेशमा पनि सहमतिको यौनसम्बन्धका लागि मान्यता पाउने उमेर १८ वर्षभन्दा माथि नै हो । यस अर्थमा नयाँ संहिताले अन्तरराष्ट्रिय ‘स्टाण्डर्ड’ कायम गर्न खोजेको तर्क कतिपय कानूनविदहरुको छ ।
नयाँ कानून संहिताले कुनै पुरुष र महिलावीचको शारीरिक सम्बन्धबाट सन्तान जन्मिएमा उनीहरुवीच विवाह भएको मानिने छ भनेको छ । त्यसैगरी लोग्ने वा श्रीमतीले परस्त्री वा परपुरुषसँग यौन सम्पर्क राखेको प्रमाणित भएमा सम्बन्धविच्छेद गर्न पाउने प्रावाधान मुलुकी संहितामा छ ।
तर, नेपाली समाजमा मौलाउँदै गएको लिभिङ टुगेदरका विषयमा भने नयाँ मुलुकी ऐनले सम्वोधन गरेको छैन । तथापि यौनसम्बन्धबाट सन्तान जन्मिएमा विवाह भएको मानिनेसम्म भनिएको छ । बच्चा नजन्मिएको अवस्थाको लिभिङ टुगेदरबारे कानून पूर्णतः छ ।
।