सूचनाको शक्ति - The Power Of Information

        

प्रदेश ५ का उच्चपदस्थ कर्मचारी आवास गृह बीटीआई


रेनुका गिरी । बुटवल । बुटवल टेक्नीकल इस्टिच्युटलाई प्रदेश सरकारको उच्चपदस्थ कर्मचारीका लागि आवास गृह बनाइने भएको छ । बीटीआईमा रहेका १८ वटा टहराहरुलाई मर्मत सम्भार गरी प्रदेश सरकारका सचिव र योजना आयोगका सदस्यका लागि आवासको व्यवस्था गर्न लागिएको हो ।
बीटीआइले भाडामा लगाउँदै आएको भाडाबापत आम्दानी भएको रकम नघट्ने गरी टहरा उपयोग गर्ने सहमति भएकाले अनुदान दिने निर्णय गरेको प्रदेश सरकारले जनाएको छ । प्रदेश सरकारकोे बुधबार बसेको मन्त्रीपरिषद बैठकले बीटीआइलाई आफ्नो पूर्वाधार निर्माण गर्न १० लाख रुपैयाँ अनुदान दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले जानकारी दिए ।
यस्तै प्रदेशसभा सचिवालय र बैठक सञ्चालनका लागि पूर्वाधार उपलब्ध गराएको उद्योग वाणिज्य संघलाई आफ्नो कार्यालय सार्न ४० लाख रुपैया अनुदान दिने निर्णय पनि प्रदेश सरकारले गरेको छ । प्रदेशसभा सचिवालय विस्तार गर्नुपर्ने र उद्योग वाणिज्य संघको कार्यालयलाई बाल मन्दिरमा सार्न उक्त अनुदान दिने निर्णय प्रदेश सरकारले गरेको हो । बालमन्दिर परिषरमा प्रदेश सरकारले हल पनि उद्योग वाण्ीिज्य संघले बनाइदिने भएको छ ।
सरकारले टेण्डरमार्फत बनाउँदा बढी रकम खर्च हुने भएकाले अनुदान उपलब्ध गराएको भौतिक पूर्वाधार विकास मन्त्री चौधरीले बताए । उद्योग वाणिज्य संघले बुटवलको बालमन्दिर परिसर उपयोग गर्ने भएपछि बाल मन्दिरलाई २ लाख, महिला मगर संघलाई १ लाख र महिला जेसिजलाई १ लाख रुपैयाँ एकमुष्ट अनुदान उपलब्ध गराउने निर्णय गरेको हो ।
प्रदेश सभाको सचिवालय विस्तारका लागि बुटवलको महिला जेसिजलाई मगर महिला संघको हलमा सारिने भएकाले उक्त अनुदान सहयोग दिन लागिएको भौतिक पूर्वाधार विकास मन्त्री चौधरीले बताए ।

प्रकाशित मिति : २४ श्रावण २०७५, बिहीबार १४:३९