सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्ज उपनगरपालिकामा हरियाली अभियान

नेपालगन्ज । नेपालगन्ज नेपालको सबैभन्दा बढी गर्मी हुने शहरका रुपमा परिचित छ । पछिल्लो समय विकास निर्माणको संरचना विस्तार हुने क्रमसँगै नेपालगन्जमा दिन प्रतिदिन बढ्दो तापक्रम सन्तुलन गर्न र वातावरण स्वच्छ बनाउन हरियाली अभियान थालिएको छ ।
आउँदो चार वर्षभित्र नेपालगञ्जलाई हरियाली शहरका रुपमा विकास गरिने अभियानको उद्देश्य छ । ‘सामाजिक संस्थाको सहयोग र सहकार्यमा नगरका टोलटोलका सडक किनारमा रुख रोप्न थालेका छौं,’ नगर प्रमुख डा धवलशम्शेर राणा भन्छन् । नगरलाई हरियाली बनाउन थुप्रै चुनौती छन् ।
अधिकांश साँघुरा बस्तीमा रुख रोप्ने ठाउँ बाँकी नराखी बनाइएका सडक र नालाका कारण अभियानले सोचेजस्तो परिणाम दिन सक्ला जस्तो देखिँदैन । ‘त्यसको कुनै विकल्प खोज्छौँ, ठूलो रुखको सट्टा ससाना बोटबिरुवा त्यस्ता बस्तीमा लगाइने छ,’ नगर प्रमुख राणाको कथन छ ।
शुरुवाती चरणमा नेपालगन्ज सुर्खेत सडकखण्डको राझादेखि जमुनहासम्म रुख रोप्न थालिएको छ । नगरपालिकालाई नेपालगन्ज उद्योग वाणिज्य संघ, ग्रिन नेपाल क्लिन नेपाल, बीगु्रपलगायतका संस्थाले सघाएका छन् ।
बढ्दो शहरीकरण, जनसंख्या वृद्धि, वातावरण प्रदूषण, रुख बिरुवाको जथाभावी कटान र सवारीसाधनको धुवाँजस्ता कारणले यहाँको तापक्रम बढ्दै छ । जसका कारण नेपालगन्जमा अहिले अत्यधिक गर्मी बढेको अनुभूति गरिएको छ । ‘हरियाली अभियानमा नगरपालिकालाई हामी सबैखाले सहयोग गर्न तयार छौँ,’ उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्य बताउन्छन् ।
नेपालगन्ज नगरपालिकाले हरियाली अभियानअन्तर्गत एक घरले कम्तीमा एउटा रुख रोप्नुपर्ने अनिवार्य व्यवस्था गरे पनि घर निर्माण गर्ने क्रममा यो व्यवस्थालाई त्यति कडाइका साथ नगरपालिकाले पालना गराएको भने पाइँदैन । नगर प्रमुख राणा भन्छन्, ‘यसको हामीले सुक्ष्म अध्ययन गरिरहेका छौं । जसले यसको पालना गर्दै नगरपालिकाको सेवा सुविधाबाट वञ्चित गरिने छ ।’

प्रकाशित मिति : २३ श्रावण २०७५, बुधबार ०२:४५