बाँके । नेपालगन्जका प्रदेश सभा उम्मेदवार विजयकुमार गुप्ताले विधायक हुँदा पाउने पारिश्रमिक नलिने घोषणा गरेका छन् । बाम गठबन्धनका तर्फबाट प्रदेश ‘ख’ का उम्मेदवार गुप्ताले चुनाव जितेमा पाउने पारिश्रमिक नलिने घोषणा गर्नु भएको हो । गुप्ताले आफ्नो पारिश्रमिक नेपालगन्जको विकासमा खर्च गर्ने उद्घोष गरे । ‘नेपालगन्जको समुचित विकासका लागि मेरो योगदान हुनेछ, मैले पारिश्रमिक पनि नलिएर त्यसमै खर्च गर्नेछु, गुप्ताले भने, नेपालगन्जलाई पूर्वका अरु शहरको तुलनामा विकास गर्ने मेरो योजना रहेको छ ।’
बाम गठबन्धनका क्षेत्र नं. २ का प्रतिनिधि सभा उम्मेदवार पशुपतिदयाल मिश्रले नेपालगन्जलाई प्रदेशको राजधानी बनाउने, क्षेत्रीय स्तरको विमनस्थल, तटबन्ध र विश्वविद्यालय स्थापना गर्ने आफ्नो एजेन्डा रहेको बताए । ‘बाम गठबन्धनले देशलाई सम्बृद्धितर्फ अघि बढाएको छ, मिश्रले भने, ‘दुई तिहाई ल्याएर जनताको विकास र सम्बृद्धिको चाहना पूरा गर्ने गठबन्धनको लक्ष्य रहेको छ ।’ मिश्रले नेपालगन्जको विकासमा आफूले फोकस गर्ने प्रतिबद्धता गरे ।
क्षेत्र नं. २ प्रदेश सभा ‘क’ का उम्मेदवार कामताप्रसाद खटिकले समग्र विकासका लागि आफू अघि बढेको बताए । वाम गठबन्धनका जिल्ला निर्वाचन परिचालन समितिका संयोजक दिनेशचन्द्र यादवले महान् उद्देश्यका साथ दुई पार्टी एकीकरणको चरणमा पुगेकाले आगामी चुनावमा दुई तिहाई बहुमत ल्याउने गरी लाग्न नेता तथा कार्यकर्ताहरु निर्देशन दिए ।
बाम गठबन्धनमा मत दिंदा जनताहरु झुक्किन सक्ने भएकाले अगुवा कार्यकर्ताहरु त्यसमा सचेत हुनुपर्ने यादवको भनाई थियो । ‘टिकट वितरणमा सानातिना असन्तुष्टिहरु भए पनि त्यसलाई थाती राखेर नेता तथा कार्यकर्ताहरु अगाडि बढ्नुपर्छ,’ यादवले भने, ‘बहुमत मात्र होइन, दुई तिहाई ल्याएपछि मात्रै देशलाई हामीले सोचेजस्तो विकास र संवृद्धिमा अगाडि बढाउन सक्छौँ ।’
वाम गठबन्धनका जिल्ला निर्वाचन परिचालन समितिका सहसंयोजक प्रकाश सुवेदीले निर्वाचनको महाअभियानमा रहेकाले सबैजना तन–मन लगाएर अघि बढ्नुपर्ने बेला आएको बताए । समितिका सचिव मो. हारुनले गठबन्धनले देशलाई विकास र संवृद्धिको दिशामा अघि बढाएकोले यसको उद्देश्य पुरा गर्नका लागि वाम गठबन्धनका साझा उम्मेद्वारहरुलाई जिताउनुपर्ने धारणा राखे ।
।