सूचनाको शक्ति - The Power Of Information

        

शुरु हुँदै ‘मिनी पार्लियामेन्ट’, शीर्ष नेता कुन समितिमा ?


काठमाडौं । संसदीय समिति अर्थात् ‘मिनी पार्लियामेन्ट’का बैठक आजदेखि शुरु हुँदैछ । संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)को गठनको करीब पाँच महिनापछि संसद्का विषयतगत समितिले पूर्णता पाएका थिए । प्रतिनिधिसभाका अन्तर्गतका अधिकांश समितिका बैठक आजदेखि शुरु हुने संघीय संसद् सचिवालयका सहायक प्रवक्ता केशव अर्यालले जानकारी दिए ।
विसं २०७४ फागुन २१ गते ती दुवै सदनका पहिलो बैठक बसेका थिए । ती दुवै सदनको यही साउन १७ गते बसेको अलगअलग बैठकले विषयगत समितिमा रहने सांसदका नामावली सर्वसम्मतिले अनुमोदन गरेको थियो । अनुमोदनसँगै मिनि पार्लियामेन्टको बैठक बस्ने बाटो खुलेको हो । संसदीय प्रणालीमा संसदीय समितिलाई संसद्को मुटु मानिन्छ ।
समितिका बैठकमा सांसदहरुका बीच जनचासो र चिन्ता समाधान गर्न हुने जीवन्त छलफल, बहस र निर्णयले सिङ्गो संसद्को गरिमा उँचो बनाउँछ । प्रतिनिधिसभामा १० वटा र राष्ट्रियसभामा चार वटा विषयतगत समिति गठन भएका छन् । अब ती विषयगत समितिमा सरकारद्वारा प्रस्तुत विधेयकका धारा धारामाथि बहस प्रारम्भ हुनेछ ।
संविधानअनुसार मौलिक हक कार्यान्वयन गर्न अगामी असोज ३ गतेभित्र सरकारले विधेयकलगायत अन्य विधेयकसमेत सदनमा प्रस्तुत गरिसक्नुपर्ने बाध्यकारी स्थिति छ । सरकारले पेश गरेका विधेयमाथि जनताद्वारा निर्वा्चित सर्वोच्च निकाय व्यवस्थापिका अन्तर्गतका समितिले नै पहिले अनुमोदन गर्नुपर्नेछ ।
प्रतिनिधिसभा अन्तरगत अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध, उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित, कानून, न्याय तथा मानवअधिकार, कृषि, सहकारी तथा प्राकृतिक स्रोत, महिला तथा सामाजिक, राज्य व्यवस्था तथा सुशासन, विकास तथा प्रविधि, शिक्षा तथा स्वास्थ्य र सार्वजानिक लेखा समिति रहेका छन् ।
यसैगरी राष्ट्रियसभा अन्तरगत दिगो विकास तथा सुशासन, विधायन व्यवस्थापन, प्रत्यायोजन व्यवस्थापन तथा सरकारी आश्वासन समिति र राष्ट्रिय सरोकार तथा समन्वय समिति गठन छन् । अर्कोतर्फ संयुक्त समितिअन्तर्गतको संसदीय सुनुवाइ समितिले आफ्नो काम शुरु गरिसकेको छ ।

शीर्ष नेता कुन समितिमा ?
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राज्य व्यवस्था समिति, पूर्वप्रधानमन्त्री झलनाथ खनाल विकास तथा प्रविधि समिति, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा र पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई अर्थ समितिमा रहेका छन् ।
यसैगरी नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा विकास तथा प्राविधिक समिति, कोषाध्यक्ष सीतादेवी यादव कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, महामन्त्री डा शशांक कोइराला र नेता विजयकुमार गच्छदार दुवै अर्थ समितिमा रहेका छन् । नेकाका पूर्वमहामन्त्री प्रकाशमान सिंह अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा रहेका छन् ।
नेका संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँण र नेकपा संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङ, पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ कानून, न्याय तथा मानवअधिकार समितिमा बसेका छन् । नेकपाका महासचिव विष्णुप्रसाद पौडेल, पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डे अर्थ समिति, पूर्वसभामुख ओनसरी घर्ती कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र नेकपामा नेता भीमबहादुर रावल अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा रहेका छन् ।
यसैगरी राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर अर्थ समिति, सोही पार्टीका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो राज्य व्यवस्था तथा सुशासन समितिमा रहेका छन् । पूर्वस्वास्थ्य मन्त्रीद्वय उमाकान्त चौधरी, खगराज अधिकारी र गगनकुमार थापा शिक्षा तथा स्वास्थ्य समिति रहेका छन् ।
नेकपा संसदीय दलका प्रमुख सचेतक गुरुङले समितिमा रहने सदस्यको नाम अनुमोदन भइसकेको हुँदा अब समिति नेतृत्व ज्येष्ठ सदस्यले अगाडि बढाउने जानकारी दिए । उनले भने, ‘समितिमा रहनुभएका सांसद सदस्यमध्ये ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गर्ने अभ्यासअनुरुप नै सभापतिको चयन नहुञ्जेलसम्म बैठक सञ्चालन हुनेछ ।’ रासस

प्रकाशित मिति : २१ श्रावण २०७५, सोमबार ०६:५१